को थिए थारु समुदायमा देशबन्ध्या गुरुवा ?

  
  प्रकाशित मितिः सोमवार, माघ २९, २०६९       | 193 Views   ||

Santosh_dahit1-[सन्तोष दहित]

देशबन्ध्या गुरुवा भन्ने शब्द अहिले सुन्दा जो कोहीलाई पनि यो के शब्द होला भन्ने सोध्न मन लाग्छ । यो भनेको के होला भन्ने सबैको लागि खुल्दुलीको विषय पनि बन्न सक्छ । यो देशबन्ध्या गुरुवा भन्ने शब्द थारु भाषामा भनिन्छ । यो धेरै पुरानो शब्द पनि होइन । यो अहिले पनि थारु समुदाय रहेको गाउँमा जाने हो भने जताततै सुन्न पाइन्छ ।

थारु समुदायमा केही वर्षअगाडि आफ्नो गाउँ टोल हुँदै गाविसदेखि पल्लो गाविससम्मको प्रगन्नाको रेखदेख गरिनुका साथै पूजापाठ गर्ने, गराउनेको नेतृत्व गर्दै आएका व्यक्तिलाई देशबन्ध्या गुरुवा भनिन्छ । देशबन्ध्या गुरुवा शब्दलाई अर्काे शब्दमा गुर्वाबा पनि भनिन्छ । तर हिजोआज देशबन्ध्या गुरुवा बनाउने चलन छाडेपछि देशबन्ध्या गुरुवाहरु हराउँदै गएका छन् ।

देशबन्ध्या गुरुवा तान्त्रिक मन्त्रका ज्ञाता मानिन्छ । यी देशबन्ध्या गुरुवाहरु भएको सम्बन्धमा सानो किंवदन्ती रहेको छ । थारु अगुवाहरुको भनाई अनुसार प्राचीनकालमा धनपत नाम भन्ने एकजना थारु जातिका व्यक्ति देशवन्ध्या गुरुवा थिए । तिनका चार छोराहरु थिए । तिनकै चार सन्तानलाई दाङ जिल्लामा देशवन्ध्या गुरुवाको जिम्मेवारी दिएको थियो । त्यतिबेलादेखि थारु जातिका दहित, पछलडङ्ग्या, जिनगुनी र डेमनडौराका थर छुट्याइएको थियो । त्यही थरका थारु जातिहरुलाई यसको नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो । त्यसको नेतृत्व पाएपछि उनीहरुलाई आफ्नो कार्यक्षेत्रमा पठाएको थियो । ती चार देशवन्ध्या गुरुवालाई काम गर्न सजिलो बनाउनको लागि क्षेत्राधिकारको बाँडफाँड गरिएको थियो ।

त्यतिबेला दाङमा चार प्रगन्ना विभाजन गरिएको थियो । जसअनुसार अग्ला प्रगन्ना, पश्च्ला प्रगन्ना, पातु प्रगन्ना र पछ्ला प्रगन्ना गरि चार भागमा विभाजन गरिएको थियो । अग्ला प्रगन्ना घोराहीदेखि पूर्व देउखुरीसम्मको प्रगन्ना ‘मद्वा’ देवता मान्ने जिनगुनी थरका व्यक्तिले नेतृत्व गर्दै आएका थिए भने पश्च्ला प्रगन्ना तथा छिल्ली प्रगन्नाको नेतृत्व ‘भे¥वा’ देवता मान्ने दहित थरका जातिले नेतृत्व गर्दै आएका थिए । त्यसैगरी पातु प्रगन्ना तथा पछ्ला प्रगन्नाको जगनथ्या देवता मान्ने पछलडङ्ग्या जातका थारु जातिले नेतृत्व गर्दै आएका थिए । त्यसैगरि बाँकी ठाउँमा छुटेको गाउँठाउँका डेमनडौरा जातिका थारुले रेखदेख गर्दै आएका थिए ।

देशवन्ध्या गुरुवाहरुको काम गाउँ–गाउँमा मारकाट, हिंसा अन्त्य गर्नुको साथै दिगो शान्ति स्थापना गर्न ठूलो भूमिका रहन्छ  । त्यस्तै, गाउँमा जो कोही बिरामी परे उनीहरुलाई गुरुवामार्फत् तन्त्रमन्त्रले निको बनाउने कार्य पनि गर्दै आएको पाइन्छ । त्यसैगरि बिग्रेको अन्नबाली सपार्नको लागि गुरुवाहरुले तन्त्रमन्त्रको माध्यमबाट राम्रो बनाउने गरेको पनि थारु अगुवाहरु बताउँछन् । यति ठूलो महत्वपूर्ण काम गर्दै आएका देशवन्ध्या गुरुवाहरुको विषयमा चासो नराखेकोले अहिले देशबन्ध्या गुरुवाहरु हराउँदै गएको छ । हरेक पूजापाठ गर्दै आएका देशवन्ध्या गुरुवाहरु नहुँदा अहिले थारु समुदायमा गरिने विभिन्न पूजापाठहरु पनि हराउँदै गएका छन् । त्यतिबेला देशबन्ध्या गुरुवाहरु हुँदा नियमितरुपमा पूजाआजा हुने गरेकोमा अहिले भने समयमा पूजापाठ हुने त परै जाओस कुनै गाउँमा त पूजापाठ गर्नसमेत छाडेका छन । थारु जाति मात्र नभएर अरु समुदायले पनि देशवन्ध्या गुरुवाको विश्वास उत्तिकै गर्दै आएका थिए ।

थारु समुदायमा देशवन्ध्या गुरुवाहरुमा ठूलो शक्ति रहेको विश्वास गरिन्छ । यदि वर्षातको समयमा पानी नपरेको बखतमा देशवन्ध्या गुरुवाहरुले पूजापाठ गरेपछि पानीसमेत पर्ने गरेको थारु अगुवाहरु बताउँछन् । त्यसैगरि देशवन्ध्या गुरुवाहरुमा ठूलो तन्त्रमन्त्र भएकोले पनि देवताहरुलाई समेत नजरबन्द गरिदिने अर्थात् देवतालाई उठबस गराइदिने समेत गराउँछन् भनिन्छ । अहिले पनि देवता (भूत) लाई थुन्ने गर्छन् । पूजाआजा गर्ने बेला देवता (भूत)लाई फलामको किलाकाँटी ठोकेर तन्त्रमन्त्रको माध्यमबाट थुन्ने गरेको पाइन्छ । देवताहरु जब गाउँमा बिगबिगी मच्चाउँछन्, त्यतिबेला देशवन्ध्या गुरुवाहरुले थुन्ने गर्र्दछन् । यसैगरि विभिन्न पूजाको माध्यमबाट गाउँमा शान्ति ल्याउने र गाउँको अन्नबालीमा रोग व्यथा नलागोस् भनेर पूजाको माध्यमबाट रोगव्याधी हटाउने प्रयास देशवन्ध्या गुरुवाहरुले गर्दछन् ।

त्यतिबेला गाउँमा मान्छे बिरामी परेपछि उपचार गर्ने न स्वास्थ्यचौकी थियो न त अस्पताल । बिरामीको उपचारसमेत देशवन्ध्या गुरुवाहरुले गर्दथे । जति मान्छे बिरामी हुन्थे त्यतिबेला देशवन्ध्या गुरुवाको खोजी हुन्थ्यो । त्यसैगरि थारु जातिका मानिस सबै कृषिमा निर्भर रहेकाले त्यतिबेला पनि धान खेतीदेखि तोरी हिउँदे बालीमा रोग लागेपछि औषधी पाइन्थ्यो । त्यसमा लागेको रोगलाई हटाउन पनि थारु समुदायमा त्यही देशबन्ध्या गुरुवाको माध्यमबाट पूजापाठ गरिन्थ्यो । यसरी रोग व्याधी हटाउन र गाउँमा दिगो शान्ति स्थापना गर्नमा देशबन्ध्या गुरुवाहरुको ठूलो भूमिका रहेको पाइन्छ । यतिमात्र नभएर त्यतिबेला देशबन्ध्या गुरुवाहरुले गाउँ–गाउँमा धेरैभन्दा धेरै गुरुवा, वैदवा पनि उत्पादन गर्ने गरेका थिए । अहिले देशबन्ध्या गुरुवाहरु नभएपछि गाउँ–गाउँमा गुरुवाहरु समेत कमै मात्रामा पाइने गरेको पाइन्छ । त्यतिबेला थारु गाउँमा घरघरमा थारु गुरुवाहरु हुने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *