महोत्सवले लक्ष्य चुमोस्

  
  प्रकाशित मितिः सोमवार, माघ २९, २०६९       | 98 Views   ||

दाङमा सामुदायिक सभाहल निर्माण गर्ने मुख्य लक्ष्य लिएर आजदेखि दाङको घोराहीमा दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् मध्यपश्चिम औद्योगिक कृषि मेलाको शुरु हुँदैछ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको १० दिने महोत्सवको नारा नै ‘दाङ महोत्सव–२०६९ को अभियान, बहुउद्देश्यीय सभागृहको निर्माण’ बनाइएको छ । स्वभाविकरुपमा यस्ता मेला महोत्सवहरुको उद्देश्य भनेको स्थानीय उत्पादनको प्रवद्र्धन, पर्यटकीयस्थलहरुको चिनारी, प्रचार प्रसार र विशेष गरी व्यापार व्यवसायको वृद्धि गर्नु नै हो । त्यसका अतिरिक्त यसपटकको महोत्सवमा हुने आम्दानी बहुउद्देश्यीय सामुदायिक सभाहल निर्माणका लागि लगानी गर्ने र अभियानात्मकरुपमा सभाहल निर्माण कार्यलाई अगाडि बढाउने उद्योग वाणिज्य संघले लक्ष्य लिएको छ । निश्चय नै सभाहल निर्माण अभियानको थालनी गर्ने कार्य दाङबासी मात्रै होइन, राप्ती क्षेत्रकै प्रतिष्ठाको विषय हो ।

दक्षिण एसियाकै सबैभन्दा ठूलो उपत्यकाको रुपमा परिचित दाङ उपत्यका प्राकृतिक, साँस्कृतिक, पर्यटकीय गन्तव्यदेखि स्थानीय स्रोतसाधनका रुपमा निकै सम्पन्न छ । पछिल्लो समयमा जिल्लामा थुप्रै साना तथा केही ठूला उद्योगहरु पनि स्थापना हुन थालेका छन् । भलै उद्योग स्थापना हुँदा वातावरणीय प्रदूषण र जैविक विविधतामाथि खतरा आउन सक्नेतर्फ सचेत रहनुपर्छ नै । तर पनि जे जसरी यहाँको साधन स्रोतको समुचित प्रयोग र सदुपयोग गरी समग्र क्षेत्रको विकास गर्नुपर्ने हो त्यसमा हामी अझै पछाडि परेका छौं । यहाँको कृषि उत्पादन, जडिबुटी, फलफूल खेती, महजस्ता वस्तुहरुको व्यवसायीकरण गर्ने, अल्लो धागो, काष्ठकला, माटाका भाँडाजस्ता हस्तकलाका सामानहरु, थारु, मगर, नेवारलगायतका विविध जातजातिका संस्कृतिहरुको संरक्षण, सम्वद्र्धन र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुका साथै पर्यटकीय स्थलहरुमा पूर्वाधारहरुको निर्माण गर्ने सके बाह्य तथा आन्तरिक पर्यटकहरुलाई जिल्लामा भित्र्याउन सकिन्छ । अब पनि हामीले जिल्लामा पर्यटक आउँदैनन्, विकास भएन भनेर प्रचार प्रसार गर्ने कुराले मात्र यहाँको विकास हुँदैन । जुनसुकै चीजलाई पर्यटकीय स्थल बनाउन वा समग्र क्षेत्रको आर्थिक स्तर विकास गर्न केही न केही पूर्वाधारहरुको निर्माण गर्नैपर्दछ । त्यसतर्फ सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्रको लगानी र क्रियाशीलता आवश्यक छ । महोत्सवको आम्दानीबाट उद्योग वाणिज्य संघले जिल्लामा अहिलेसम्म नभएको दुई हजार बढी अटाउन सक्ने सामुदायिक सभाहल निर्माण गर्ने अभियान सञ्चालन गर्ने जनाएको छ । यसले अब जिल्लाको उद्योग, व्यापार, पर्यटन र कृषिको विकासका लागि प्रचार प्रसारमात्र होइन, भौतिक संरचना निर्माण गर्नुपर्नेतर्फ पनि सबैलाई सचेत बनाउने छ ।

१० दिनसम्म चल्ने महोत्सवमा आयोजक पक्षले सुरक्षादेखि हरेक सेवा सुविधा पु¥याउने प्रतिबद्धता जनाएको छ । महोत्सवमा यहाँको कृषि, पर्यटन, उद्योग र अन्य क्षेत्रका सम्भाव्यताका विषयमा अन्तरक्रिया, साहित्यिक तथा सांगितिक कार्यक्रम, विभिन्न प्रदर्शनी गरिने पनि जनाइएको छ । त्यसका अतिरिक्त महोत्सवको आम्दानीबाट सामुदायिक सभा हल निर्माणका लागि ५० लाख रकम जम्मा गर्ने र त्यसपछि अभियानात्मक रुपमा सभा हल निर्माणको काम अघि बढाउने उद्योग वाणिज्य संघले उद्घोष गरेको छ । मूलतः यी सबै उद्घोष भन्न जति सजिलो छ, व्यवहारिकरुपमा कार्यान्वयन गर्न निकै कठीन र चुनौतीपूर्ण छ । स्थानीय स्रोतसाधनको परिचालन, प्रवद्र्धन र सीप क्षमताको समुचित सदुपयोग, आर्थिक पारदर्शीता, मुख्य लक्ष्यप्रतिको कटिबद्धता र मितव्ययीताले महोत्सव सफल भएको ठहर्नेछ । नत्र विगतमा सञ्चालन गरिएका विभिन्न महोत्सवहरुका नकारात्मक प्रवृत्ति, घटना र नियति यसले बेहोर्नु नपरोस् । त्यसतर्फ आयोजक पक्ष, अन्य पक्ष र आम नागरिक सचेत हुन जरुरी छ । महोत्सवलाई सफल बनाउन सबै सकारात्मक सोंच र चिन्तनका साथ लागिपरौं, आयोजक पक्षले पनि सबैलाई समेट्दै स्थानीय स्रोतसाधन, सीप क्षमता र जनशक्तिको भरपूर प्रयोग गरोस् । महोत्सव हामी सबैको हो, सबै मिलेर यसलाई सफल बनाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *