दाङ महोत्सवमा गुञ्जिए कविता

  
  प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०६९       | 128 Views   ||

दाङ, फागुन ६ । महोत्सवहरुमा सधैंजसो व्यापार, व्यवसाय र गीतसंगीतको मात्रै चर्चा हुने गरेकोमा यसपटक भने कवितासमेत गुञ्जिएका छन् । सामुदायिक सभागृह बनाउने लक्ष्यका साथ घोराहीमा जारी महोत्सवमा तीन चरणका कविता प्रतियोगिता भएको हो ।

महोत्सव साहित्यिक उपसमितिको आयोजनामा खुल्ला, विद्यालयस्तरीय र बाल कविता सम्पन्न भइसकेका छन् भने आइतबार बृहत कवि गोष्ठीको आयोजना गरिएको छ । फागुन ३ गते खुल्ला, ४ गते विद्यालयस्तरीय र ५ गते बाल कविता प्रतियोगिता सम्पन्न भएको र सबै प्रतियोगिताको नजिता आइतबार फागुन ६ गते सार्वजनिक गरिने साहित्यिक उपसमितिका संयोजक सुन्दर गौतमले जानकारी दिनुभयो । खुल्ला कविता प्रतियोगितामा छनौट गरिएका १८ वटा कवितामध्ये १४ जना प्रतियोगीले भाग लिनुभएको थियो । कविता प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकारत्रय उत्तमकृष्ण मज्गैंया, टीकाराम उदासी र नारायण नेपाल रहनुभएको थियो ।

साहित्यिक उपसमितिका सह–संयोजक पुरुषोत्तम खनालको अध्यक्षता र साहित्य तथा प्रचारप्रसार उपसमितिका संयोजक सुन्दर गौतमको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो । सो अवसरमा निर्णायक नारायण नेपाल, अग्रज साहित्यकार गिरिराज शर्मा, लेखक संघ दाङका अध्यक्ष शंकर गौतम, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाका सचिव डिल्ली मल्लले शुभकामना दिनुभएको थियो । कार्यक्रमको सहजीकरण साहित्यिक उपसमितिका सदस्य एवम् राप्ती साहित्य परिषद् दाङका अध्यक्ष डा.लोकराज पराजुलीले गर्नुभएको थियो ।

यसैबीच, विद्यालय तथा प्लस टूस्तरीय कविता प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । महोत्सव साहित्यिक उपसमितिका सदस्य शंकर पौडेलको अध्यक्षता एवं गायिका कोमल वलीको प्रमुख आतिथ्यमा सम्पन्न कविता प्रतियोगितामा ७ जना प्रतियोगीले भाग लिएका थिए भने अप्रतियोगी ८ जनाले रचना सुनाएका थिए । प्रतियोगिताको निर्णायकहरुमा साहित्यकारत्रय गिरिराज शर्मा, भुवन देवकोटा र हरि पोख्रेल रहनुभएको थियो । कार्यक्रमको सहजीकरण कमलमणि देवकोटाले गर्नुभएको थियो ।

त्यस्तै, शनिबार सम्पन्न बाल कविता प्रतियोगितामा २१ प्रतियोगीले भाग लिनुभएको थियो भने २ जना अप्रतियोगीले रचना सुनाएका थिए । साहित्यिक उपसमिति सदस्य तथा प्रलेस दाङका अध्यक्ष केशव थापाको अध्यक्षता एवम् महोत्सव आर्थिक संकलन समितिका संयोजक धु्रवराज श्रेष्ठको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा नित्यानन्द शर्मा, पद्मप्रसाद शर्मा र कमलमणि देवकोटा निर्णायक रहनुभएको थियो । कार्यक्रमका सहजीकरण डा.लोकराज पराजुलीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *