फागुन १, जनयुद्ध र नयाँ कार्यदिशा

  
  प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०६९       | 128 Views   ||

Aastha_kc-[आस्था केसी]

फाल्गुन १ अर्थात् जनयुद्ध दिवस ! महान जनयुद्ध उद्घोष भएको दिन, शोषितपीडित नेपालीहरुले मुक्तियुद्ध थालेको दिन ! सदियौंदेखि दमित लाखौं नेपालीहरुले एउटा संकल्पको शुरुवात गरेको दिन ! नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको आदर्श बिम्ब ! मुक्तिकामी जनताले बिर्सनै नसक्ने श्रद्धाको प्रिय दिन अर्थात सामन्तवाद र साम्राज्यवादको मुटु काँपेको दिन फाल्गुन १ । सामन्तवादी दासताको दाम्लो चुँडाल्दै स्वतन्त्रताको शंखघोष गरेको र महान सपनाहरुको अभ्यूदय भएको दिन फाल्गुन १ ।

विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि फाल्गुन १ ले नेपाली धर्तीमा पाइला टेकेको छ र फागुन महिनाभरि यसले आफ्नो प्रभाव छाड्नेछ । विगतका बर्षहरुमा खुसी र उल्लास लिएर आउने यो महान पर्वले सधैंझैं यस बर्ष खुसी लिएर आउन सकेन । बरु फूट र विभाजनका असह्य पीडाहरुले फाल्गुन १ आफै छट्पटाइरह्यो । शहीदका सपनाहरु पूरा गर्नका लागि औपचारिक रुपमा कुनै प्रतिबद्धताहरु गरिएनन्, सडकहरुमा कुनै तुल, व्यानरहरु टाँगिएनन् र जनताका घर–घरमा दिपावली गरिएनन् । सधैंका बर्षहरु जस्तै यो बर्ष पनि फाल्गुन १ आयो र गयो । तर, सामान्य औपचारिकता निभाउनु शिवाय फाल्गुन १ का अभियन्ताहरुले खासै केही रौनकताको महशुस गर्न सकेनन् । शहीदका सपनाहरु लिलाम भएजस्तै, आम जनताहरु टुहुरा भएजस्तै, लक्ष्य, उद्देश्य कतै गुमनाम भएजस्तै, मञ्जिल कतै टाढा हुँदै गएजस्तै, यात्रा बिश्रृंखल भएजस्तै, यात्रीहरु कतै बाटोमै अलपत्र परेजस्तै, प्राप्तिबिना नै कुनै बहुमुल्य चीज गुमाएजस्तै यस्तै–यस्तै खाले अनुभूति बोकेर यो पटकको फाल्गुन १ बिदा भएर गएको छ  ।

कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ, यदि कार्यदिशा सही छ भने नभएका चीजहरु पनि क्रमशः प्राप्त हुँदै जान्छन् र यदि कार्यदिशा गलत छ भने भएका चीज पनि गुम्दै जान्छन् भन्ने कमरेड माओको यो उक्तिलाई मनन् गर्दै २०५२ फाल्गुन १ गते महान जनयुद्धको शंखघोष भएको थियो । सामान्य घरेलु हतियार र लठ्ठीकै भरमा जनयुद्धको शुरुवात भएको यथार्थ सबैका सामू जगजाहेरै छ । सबैखाले असाधारण चुनौतीहरुको सामना गर्दै अगाडि बढेको जनयुद्धले भीषण वर्गसंघर्षका कठीनतम दिनहरुमा जनताको अगाध स्नेह र साथ पाएकै कारण १० बर्षको समयमै देशीविदेशी प्रतिकृयावादीहरुलाई चक्मा दिदै आफ्नो एउटा जबर्जस्त पहिचान बनाउन सफल भएको थियो । सदियौंदेखि सामन्तवादको दमन, अत्याचार र विभेदका माखे साङ्लाहरुमा जकडिन विवश पारिएका र आफ्नो पहिचानबाट गुमनाम पारिएका करोडौं नेपाली जनताको निस्वार्थ साथ र सहयोगले गर्दा नै जनयुद्ध एकपछि अर्को वीरता र सौर्यका अद्वितीय किर्तिमानहरु कायम गर्दै अगाडि बढेको थियो ।

जनयुद्ध केवल एउटै उद्देश्यका साथ शुरुवात गरिएको थिएन । जनयुद्ध एउटा समग्र युद्ध थियो । सबैखाले जातजाति, क्षेत्र, लिङ्ग र भाषाको क्षेत्रमा मात्र होइन सबैखाले पेशाहरुमा समेत आमूल परिर्वतनको महान् उद्देश्य जनयुद्धमा अन्तरनिहित थियो । चाहेर वा नचाहेर नेपालको जनसंख्याको धेरै प्रतिशत जनताको हिस्सा जनयुद्धमा जोडिएको थियो । आज राजनैतिक र वैचारिकरुपमा मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक हिसाबले पनि आफ्नो पहिचान र अधिकारको खोजी गर्ने अल्पसंख्यक जाति, जनजाति, दलित समुदायका साथै घरको चार दिवारभित्र कैद पारिएका महिलाहरुका दमित सपना र आकांक्षाहरुको हुटहुटी जनयुद्धले नै जगाइदिएको हो । जनयुद्धले केवल सपना र आकांक्षाहरुको हुटहुटी मात्र जगाएन ती आकांक्षाहरु पूरा गर्नका लागि आफ्नै टाउकोमा आगो लगाउन पनि सिकायो । आफ्नै शीरमा कफन बाँधेर, आफ्नै जीवनलाई हत्केलामा राखेर बम र बारुदको युद्धमा हाँसी–हाँसी रम्न पनि सिकायो । अभाव र समस्याहरुको बीचमा खुशीका साथ बाँच्न पनि सिकायो । आफ्ना व्यक्तिगत र पारिवारिक इच्छा र चाहनाहरुलाई सामूहिकतामा बदल्न पनि सिकायो । आफ्नो सबैभन्दा प्रिय जिन्दगी युग बदल्नका खातिर बलिबेदीमा स्वेच्छाले चढाउन पनि सिकायो । सबैभन्दा बढी सम्पूर्ण गरिखानेहरुलाई एकताको झण्डामुनि गोलबन्द हुन सिकायो ।

दश बर्षे जनयुद्धका भीषण दिनहरुमा असंख्य अप्ठ्यारा भड्खालाहरु पार गर्दै आएको पार्टी शान्ति प्रक्रियाको आगमनसँगै विभिन्नखाले समस्याहरुमा फस्दै गइरहेको छ । पार्टीमा भएको टुट, फूट र विभाजनले हजारौं शहीद परिवार, बेपत्ता परिवार र इमान्दार कार्यकर्ताहरु निरास बन्न पुगेका छन् । पार्टी आज नातावाद, कृपावादका पूजारीहरु र अवसरवादीहरुको झुण्ड बन्दै गएको छ । ‘एनी हाउ पैसा कमाऊ’ भन्ने सूत्रलाई शिरोधार्य गर्दै अकुत सम्पत्ति थुपार्ने होडबाजी एउटा स्तरका क्याडरहरुमा देखा परेको छ । हरेक पटक मन्त्री बन्दा आफ्ना वरपरका इष्टमित्रहरुलाई मात्र जागिर लगाइदिने व्यक्तिवादी प्रवृत्ति पार्टीभित्र मौलाउदै गएको छ । सामूहिकताको कुरा हराइसकेको छ, त्यसको ठाउँमा स–साना गुटहरु मौलाइरहेका छन् । जनयुद्धको क्रममा घाइते तथा अङ्गभङ्ग हुन पुगेका वास्तविक घाइते, अपांगहरुले उचित राहत पाउन सकिरहेका छैनन् । शहीदका छोराछोरीहरु अलपत्र परेका छन् । तिनका लागि शिक्षादीक्षा र रोजगारीको आवश्यक प्रत्याभूति गर्न पार्टीले सकिरहेको छैन । बेपत्ता परिवारको पीडा उस्तै छ । सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोग गठन हुने छाँटकाँट अझै देखिएको छैन । १८ बर्ष अगाडि जनयुद्धको शुरुवात गर्दा तत्कालीन देउवा सरकारसँग राखिएका कतिपय मागहरु जो आज पनि पूरा हुन सकेका छैनन् । जनता आजै र अहिल्यै आमूल परिवर्तन नै भई हाल्नुपर्छ भनेका छैनन् तर कतिपय सामान्य कुरामा पनि नेताहरुको आँखा जान सकेको छैन । देशमा माओवादी पार्टीकै नेतृत्वमा सरकार छ तर क्रान्तिकारी जनसमुदायले त्यसको उपयोग गर्न पाइरहेका छैनन् ।

यस्तो अवस्थाको चित्रण हेटौंडामा हालै सम्पन्न एमाओवादीको एकताको सातौं राष्ट्रिय महाधिवेशनले गरेको छ । वस्तुस्थितिलाई सही विश्लेषण गर्दै फाल्गुन १ लाई अझ नयाँ उँचाइबाट उठाएर नेपाली क्रान्तिलाई पूर्णता दिने नयाँ कार्यदिशा र सोहीअनुसार संविधान निर्माणको कार्यनीति हेटौंडा महाधिवेशनले तय गरेको छ । सबै देशमा सधैं क्रान्ति एउटै तरिकाले हुँदैन र यो दोहोरिदैन पनि । हिजो ०५२ फाल्गुन १ दीर्घकालीन जनयुद्धको तरिकाले क्रान्तिको शुरुवात गरिएको थियो । दश बर्षे जनयुद्धको बलमा आज गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षता लगायतका उपलब्धिहरु हाँसिल भएका छन् । अब प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै थप उपलब्धि हाँसिल गर्न दीर्घकालीन जनयुद्धकै बाटोले मात्र सम्भव नहुने भएको छ । यस अवस्थामा क्रान्तिको नयाँ बाटो र तरिका अपनाउनुपर्ने दायित्व एमाओवादीकै काँधमा आएको छ । हेटौंडा महाधिवेशनले त्यो बाटो तय गरेको छ । अहिले नेपाली क्रान्तिको विकास गरेर फाल्गुन १ का लक्ष्यहरु पूरा गर्ने बाटोमा एमाओवादी हिड्नुले जनतामा पार्टीप्रति नयाँ खालको विश्वास जगाएको छ । बितेका १८ बर्षहरुमा नेपाली धर्तीमा धेरै रगत बगिसकेको छ । हिजो फिल्डमा रहेर वर्गसंघर्षको नेतृत्व गर्ने क्रान्तिकारी पार्टी आज देशको प्रमुख राजनैतिक दल बन्न पुगेको छ र यो देशको शासनसत्ताको बागडोर पनि उसैको हातमा छ । नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने संविधान नै देशमा छैन । संविधानसभाको लागि गर्ने भनिएको दोश्रो चुनावको लागि दलहरुको बीचमा आवश्यक पर्ने सहमतिको टुङ्गो लागिसकेको छैन । सबैभन्दा ठूलो पार्टी हुनुको नाताले मात्र होइन यो देशका आम जनताहरुको आशा र भरोसाको केन्द्रबिन्दु हुनुको नाताले पनि एकीकृत नेकपा माओवादीले गम्भीरता र जिम्मेवारीबोधका साथ पाइला चाल्न जरुरी छ । त्यसका लागि पार्टीले जनयुद्धको मर्मलाई पाखा लगाएर वा बिर्सेर होइन त्यसलाई गम्भीरतापूर्वक आत्मसाथ गरेर मात्र अगाडि बढ्न सम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *