कतै देखिदैन घर
चाहिएको वास्तवमा घर हो ।
भनिन्छ– महल पनि घर हो
घर हो भने यसको हरेक इँटामा
जुन संस्कृति लुकेको छ– त्यो
कसको रगत र आँसु हो– त्यो
भित्तामा जुन गौरव चम्किरहेको छ– त्यो
कसको पीडा र पसिना हो– त्यो
र, यसको हरेक कोठामा जुन हावा छ– त्यो
कसको श्वासप्रश्वास हो– त्यो
के हो त्यो ? भन
भनिन्छ– झोपडी पनि घर हो
घर हो भने यसको हरेक कोरामाटाबाट
जुन दुर्दशाको धूलो खसिरहेको छ– त्यो
धुन नाचेर हो
या कसैको अत्याचार नाचेर हो– त्यो
छानाको आँखाबाट
जुन पीडा खसिरहेको छ– त्यो
पानी परेर हो
या कसैको अनाचार परेर हो– त्यो
के हो त्यो ? भन
भनिन्छ– महल पनि घर हो
भनिन्छ– झोपडी पनि घर हो
वास्तवमा दुवै धर्तीमा फोहर हो
महल अब वर्षौं पुरानो महल हुनु भएन
घर बन्न सक्नुप¥यो
झोपडी अब वर्षौं पुरानो झोपडी हुनु भएन
घर बन्न पाउनुप¥यो
वास्तवमा दुवै धर्तीमा फोहर हो
हामी
सफा गर्न चाहन्छौं धर्ती
कतै देखिदैन घर
चाहिएको वास्तवमा घर हो ।