दाङ, फागुन ७ । दाङ महोत्सवमा भएको तीन तहको कविता प्रतियोगिताको नतिजा सोमबार सार्वजनिक गरिएको छ । जसअन्तर्गत खुला कविता प्रतियोगितामा विष्णु मगर ‘सन्यास’ प्रथम, लेखबहादुर विक द्वितीय र नवीन अभिलाषी तृतीय हुनुभएको छ ।
त्यस्तै विद्यालयस्तरीय कविता प्रतियोगितामा दिपलता उपाध्याय प्रथम, सिर्जना पोख्रेल द्वितीय र झरना न्यौपाने तृतीय हुनुभएको छ । त्यसैगरी वाल कविता प्रतियोगितामा आयुस खनाल प्रथम, बबिता अधिकारी द्वितीय, चन्द्रमा अधिकारी तृतीय र आकाश न्यौपानेले सान्त्वना स्थान हाँसिल गर्नुभएको छ ।
विजयी प्रतियोगी कविहरुलाई महोत्सव समापनको दिन पुरस्कृत एवं प्रमाणपत्र प्रदान गरिने साहित्यिक उपसमितिका संयोजक सुन्दर गौतमले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई तीन हजार, द्वितीय हुनेलाई दुई हजार, तृतीय हुनेलाई एक हजार पाँच सय र सान्त्वना हुनेलाई एक हजार रुपैयाँ नगदसहित प्रमाण–पत्र प्रदान गरिने संयोजक गौतमले बताउनुभयो ।
प्रथम कविता
मेरा विश्वासहरुको बाँकी समय
-[विष्णु मगर ‘सन्यास’]
सम्झनाको
कुनै दूर प्रदेशबाट
एक दिन जिन्दगीका तालचरीहरु
हिमालको मुस्कान लिएर आउनेछन्
र, छाडेर जानेछन् उपहारस्वरुप
आकाङ्क्षाको आँगनमा
केही थुङ्गा बुकी फूलहरु ।
समयको
चपेटाभित्र कतै हराएका
अधूरा रहरहरु
फेरि बाँकी जिन्दगी माग्नेछन् समयसँग
र बस्तीमाथिको आकाशमा
उडिरहेका हुनेछन्
रंगीन पखेटा बोकेर बसन्तका पुतलीहरु ।
दृष्यभरिको
रंगीविरङ्गी चित्रमाला उनेर
निदरीका सपनाहरु
एउटा सत्य विपना माग्नेछन् यथार्थसँग
र दौडिरहेका हुनेछन्
कतै टाढाको इन्द्रेणी भेट्न
एउटा निर्बन्ध गोरेटोमा
जिन्दगीका सेता बादलहरु ।
पार गरिसकेपछि कुनै लामो यात्रा
जब भेटिनेछ अचानक
लक्ष्यको अन्तिम पहाड
खुसीले झर्नेछन् बादलका आँसुहरु
र, बग्नेछन् यहाँ
किनारा फूलहरुको सुवास बोकेर
प्रेमका अनन्त नदीहरु ।
मलाई थाहा छ–
निकै सुन्दर हुनेछन्
मेरा विश्वासहरुको बाँकी समय ।
–जेलवाङ, रोल्पा