घोराहीमा सामुदायिक सभागृहको शिलान्यास

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०६९       | 117 Views   ||

hall_silanyas_दाङ, १० फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको विशेष पहलमा घोराहीमा सामुदायिक सभागृहको शिलान्यास गरिएको छ । जिल्लामा सामुदायिक सभागृह बनाउने लक्ष्यका साथ शुरु भएको दाङ महोत्सवको अन्तिम दिन बिहीबार बिहान सभागृहको शिलान्यास गरिएको हो ।

घोराही नगर बिकास समितिका अध्यक्ष विकास अग्रवाल र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष मधुसूदन वैद्यले भवन निर्माणस्थलमा पूजाआजासहित सभागृहको शिलान्यास गर्नुभएको हो । घोराही–१० पुरानो बसपार्कमा रहेको नगर विकास समितिको स्वामित्वको १९ कठ्ठा १७ धुर क्षेत्रफल जग्गामा सामुदायिक सभागृह बनाउन लागिएको हो ।

जिल्लामा ठूलो क्षमताको सभागृह नहुँदा समस्या भएकोले संस्थागतरुपमै दाङ उद्योग वाणिज्य संघले सभागृह निर्माणको अभियान थालेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष मधुसूदन वैद्यले बताउनुभयो । ‘दाङ दक्षिण एसियाकै सबैभन्दा ठूलो उपत्यका भएपनि हामीसँग एउटा ठूलो सभाहल नै छैन । कहिलेकाँही राष्ट्रियस्तरको कार्यक्रम दाङमा गर्छौं भन्ने संस्थाहरु पनि हल नभएकै कारण फर्किनुपरेको अवस्था छ, वैद्यले भन्नुभयो– ‘त्यसैले सभागृह निर्माणका लागि अहिलेदेखि नै हामीले संस्थागतरुपमा अभियान शुरु गरेका छौं ।’

सभागृहका लागि धेरै स्थान छनौट गरिएको भएपनि बुधबार बसेको उद्योग वाणिज्य संघ, राजनीतिक दल र नगरविकास समितिका प्रतिनिधिहरुको छलफलले नगर विकासकै जग्गामा बनाउने सभागृह बनाउने निर्णय गरेको थियो । नगर विकास समितिको स्वामित्वमा रहने सभागृहको व्यवस्थापन नगरविकास र उद्योग वाणिज्य संघले गर्ने सहमति भएको संघका अध्यक्ष वैद्यले बताउनुभयो । उहाँले महोत्सव सकिएकै दिन सभाहल निर्माणको अभियान शुरु भएको भन्दै सबैलाई सहयोगी हात फैलाउन आग्रह गर्नुभयो ।

सभागृह निर्माणका लागि शिलान्यास गरिएको नगरविकासको जग्गामा बसेका हुकुम्बासीलाई हटाइने र वास्तविक सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गरिने वैद्यको भनाई छ । उहाँका अनुसार सुकुम्बासीहरुको व्यवस्थापनका लागि घोराही नगरपालिकासहित अन्य विभिन्न निकायसँग छलफल गरी टुङ्ग्याइनेछ । अहिले त्यस क्षेत्रमा करिब २८ घरधुरी वास्तविक सुकुम्बासी रहेको नगर विकास समितिको दावी छ ।

सभागृह शिलान्यासका अवसरमा प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले जिल्लामा अलि ठूलो सभागृहको अत्यावश्यक भइसकेको र त्यसको अगुवाई उद्योग वाणिज्य संघले गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सामाजिक काममा सबैको उत्तिकै उत्तरदायित्व हुने भन्दै सबै जुटे जस्तोसुकै काम पनि सम्पन्न गर्न सकिने बताउनुभयो ।

सो अवसरमा जग्गा प्रदान गर्ने घोराही नगर विकास समितिका अध्यक्ष बिकास अग्रवालले नगर क्षेत्रमा सभागृह अतिआवश्यक रहेको भन्दै त्यसको लागि नगर विकासको जग्गा प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । शिलान्यास कार्यक्रमको सञ्चालन संघका महासचिव हेमराज बञ्जाडेले गर्नुभएको थियो ।

सो अवसरमा लोकदोहरी प्रतिष्ठानका कलाकारहरु प्रेमप्रकाश मल्ल, गजेन्द्र बहकरी, देवकला बस्नेत, लोकराज पराजुलीलगायतले सभागृह बनाउन सबै एकजुट होऔं भन्ने भावको गीत गाउनुभएको थियो भने हाँस्य कलाकार कमल गाउँले र लोकगायिका देवकला बस्नेतले कार्यक्रममा सहभागीहरुबाट आर्थिक सहयोग संकलन गर्नुभएको थियो ।

Hall_nirman_aviyan_1

Hall_nirman_aviyan_2

Leave a Reply

Your email address will not be published. Required fields are marked *