अइयारा

  
  प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०६९       | 97 Views   ||

Mahendra mahak 1-[महेन्द्र महक]

नेपालको विमान
यहाँसम्म आइपुग्दा अइयारा* भइसक्छ ।
र अइयारा मतारमा* ओर्लिन्छ ।

मकै बारी बाँझै छोडेर
पाकेको धान खेतमा छोडेर,
काटेको तरकारी पकाउन छोडेर
दूधे नानीलाई दूध चुसाउन छोडेर
नेपाली हजार सपना बोकी विमान उक्लन्छ
र अइयाराबाट मतारमा ओर्लिन्छ ।

नेपालका पौरखी युवाहरु
मतार पार गरेपछि
‘सस्तो माल’ भइसक्छन् ।
उनीहरु ‘हमाम’ को फोहर सफा गर्ने
‘सफाई’ भइसक्छन् ।
ठूला–ठूला सपिङ मल
भव्य भिल्ला–तारे होटेल
वा अफिसको गेटमा
ठिङ्ग उभिएर सलाम ठोक्ने
सुरक्षा गार्ड भइसक्छन् ।

ठूली–कान्छी यहाँ
खाना पकाउने/लुगा धुने
भाँडा मिस्ने/घरको सफाइ गर्ने
अनि शेखका पाहुनाको निम्ति
बिछ्यौना बनिदिने
‘खदामा’* भइसक्छिन् ।

सगरमाथा जस्तो अभिमान हराउँछ,
हिमाली हावा ‘लू’ बनिसक्छ ।
यहाँ बा–आमा बस्दैनन् ।
यहाँ श्रीमती–प्रेमिका हुँदैनन्,
यहाँ दाइभाई भेटिदैनन्,
यहाँ केवल मुदिर भेटिन्छन्,
यहाँ केवल शेख भेटिन्छन् ।
लालीगुराँस/काफलगेडी
हिमाली बतास/सयपत्रीको सुवास
सबै–सबै उतै छुट्छन् ।
आमाको आँसु
प्रेयसीको अँगालो,
बाबाका सपना,
साथी संगी,
सबैलाई उतै छोडेर ओर्लिन्छ नेपाली,
‘अइयारा’ बाट ‘मतार’ मा ।

यहाँ हुन्छ,
स्वाभिमानको लिलामी
पौरखको लिलामी
पसिनाको लिलामी
बैंशको लिलामी,
बदलामा केवल बाँकी रहन्छ,
केवल दिराम वा रियाल ।

जब कोही सोध्छ मलाई मेरो देश,
मलाई नेपाल चिनाउन गाह्रो लाग्छ,
विश्व नक्सामा थोप्लो मेरो देश,
सगरमाथाको उँचाइले अग्लिनुपर्ने !
तर अहँ,
मरुभूमिमा बालुवाको अनियमित थुम्कामात्र देख्नेहरु,
बुझ्दैनन् सगरमाथाको उँचाइ,
सागरको नूनिलो पानी मात्र थाहा पाएकाहरु,
बुझ्दैनन् त्रिशुलीको रोमाञ्चक ¥याफ्टिङ ।
म चिनाउन सक्दिन नेपाल
हिमालको देश भनेर,
जलस्रोतको धनी देश भनेर,
बुद्धको भूमि भनेर,
प्रकृतिको वरदान भनेर ।

यी सबै सत्य नेपालको विमानस्थलमा नै छुट्छन् ।
मतारसम्म आइपुग्दा सबै–सबै बदलिसक्छ ।

नेपाल ‘नेबाल’ भइसक्छ
नेपाल,
सस्तोमा दरबान–कुल्ली–चौकीदार
वा ‘खदामा’ निर्यात गर्ने
मुलुक भइसक्छ ।

यहाँबाट उडेर जाने अइयाराबाट
मेसिनले च्यापिएर,
झुण्डिएर,
वा पचास तलाबाट हाम फालेर,
मरेको नेपाली,
अशक्त नेपाली,
नेपाली विमानस्थलमा ओर्लिन्छ,
कुनै शेखको भु्रण बोकी फर्केकी ठूली कान्छी,
अस्मिता लिलामपछि,
लाश बनेर फर्केकी अस्मिता,
ओर्लिन्छे जब विमानस्थलमा,
‘अइयारा’ बाट
त्यतिबेला,
रेमिटान्सको अर्थनीति केलाउने अर्थविद्,
रेमिटान्स भित्र्याउने युवाको समाज पढ्ने समाजशास्त्री,
सपनाको महफिल सजाउँदै,
युवाहरुको आशामाथि तुषारापात गर्दै,
देशलाई सिंगापुर बनाउने सपना देख्ने
मेरो देशका स्वप्नदर्शीहरुका मनमा
देशको कस्तो बिम्ब जन्मन्छ होला ?

–दुबई

अइयारा : विमान
मतार : विमानस्थल
खदामा : घरेलु महिला कामदार

प्रकाशित मिति : २०६९ कार्तिक २६ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *