नामले दिएको सास्ती

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन १७, २०६९       | 125 Views   ||

Nabin bibhas-[नवीन विभास]

पर्समा दुइटा आइडी कार्ड थिए । एउटा थियो– त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको अंग्रेजी विभागको विद्यार्थीको । र, अर्को आदिवासी जनजाति पत्रकार संघको । ती दुवै कार्डमा नाम अलग–अलग थिए । दुइटा आइडी कार्ड भेटेपछि पहिलो दिन नै नराम्ररी कुटेथ्यो ।

लहडैलहडमा फेरिएका नाम थिए । नाम फेर्न तत्कालीन रोल्पा रुकुमको राजनीतिक वातवरणले ‘उकेरा’ लाएको थियो ।
के थाहा तिनै नामले यातनालयमा दिनु सास्ती दिनेछन् भन्ने । झुट्ठा मुद्दा हल्केको रोल्पा रुकुमको २०५० तिरको याममा मुद्दाझरी ओत्न नाम फेरिएको थियो । तर तिनै नाम हिरासतमा अप्ठेरो ठाउँमा उठेको पिलो भए ।

सम्झन्छु त्यस रात–
‘लुगा खोल् !’ सेनाले भन्यो ।
कस्तो थियो आदेश दिने सेनाको अनुहार ? थाहा भएन । रात । त्यसमाथि आँखामा पट्टि । देख्ने कुरै भएन । हेर्ने चासो पनि गरिएन ।
हत्कडी फुकालेर लुगा खोल्न लगायो ।
नाङ्गै पा¥यो ।
‘अब ठण्डा दिमागले सोच् !’
उसले भन्यो ।
त्यसपछि..
कहाँ गयो कुन्नि ? थाहै भएन ।

जाडोले लगलगी काँपिरहेछु । नाङ्गो जिउ । पुस महिना डाँडामाथिको पीपलको बोटमा हल्लिरहेका पातजसरी घरी यता घरी उतातिर हल्लिन थाल्छु ।
नयाँ बन्दी हुनाले कहाँ छु ? के छन् वरपर ? केही भेउ पाएको छैन । यसको मतलब पछि थाहा भयो भन्ने त होइन ।
लानेबित्तिकै पानीमा हाल्ने र उभिन्नो पारेर कुटेपछि (सायद दोस्रो रात) यहाँ ल्याएको छ ।
खोलाकिनारमा जस्तो न ओडारमा छुजस्तो लागिरहेछ ।
मेरो वरपर नै कुट्ने, पिट्ने, सोध्ने काम युद्धस्तरमा चलिरहेछ । आँखाले नदेखे नि सुनेको आधारमा दृश्य यस्तै होला भन्ने आँखामा नजानिदो आकृति बनिरहेछ ।
जे होस् राति हो ।
चीसो ह्वात्तै बढेको छ । पानी परेर वा किन हो कुन्नि ?
गाडीबाट झार्नेबित्तिकै पर्स, बेल्ट, … लगिसकेथ्यो ।
अँ, नाम मेरा ।

सम्झना छ–
‘जून देखे जूनै राम्रो घाम देखे घामै लाग्ने, जाती नजाती सिको गर्ने एउटा याम आउँछ, जिन्दगीमा,’ भन्छन् बुज्रुकहरु । सायद त्यस्तै याम होला– नामको पछिल्तिर विरही, विद्रोही, पागलप्रेमी, मिलनजस्ता उट्पट्याङ पुच्छर झुण्ड्याउने याम आयो । रोल्पा लिवाङमा ८÷९ पढ्ने बेला चलेको त्यस्तो लहर नुवागाउँ पुग्दा पनि उस्तै थियो । १० पढ्न रुकुम चुनवाङ पुग्दा पनि उस्तै ।
‘कल्ले के नाम फे¥यो ?’ अटो डायरी पल्टाउँदै सरोकारवाला साथीहरूका झुण्डमा चर्चा हुन्थ्यो ।
नाम फेर्ने संस्कृतिलाई त्यसबेला मौलाएको झुट्टा मुद्दाको खेतीले हौसायो ।

सम्झना छ–
‘दाजुहरू र नेताहरूका भाषणले’ मजस्ता फुच्चेहरू थाहै नपाइकन राजनीतिको भुमरीमा फन्किएका थियौं– स्कुल माया मारेर गाउँदै हिड्नु, जानी–नजानी भाषण ठोक्नु, .. । सम्झिनसक्नुका दिनचर्या थिए मेरा ।
समयले फेरो मार्दै जाँदा यस्तो याम पनि आयो– अखिल (क्रान्तिकारी) भन्नेबित्तिकै मुद्दाको बिलो लाग्ने । झुट्ठामुद्दाको बिलोबाट बच्न नाम फेर्ने हावा चल्यो । त्यसपछि त पुच्छर मात्र होइन ‘पूरै नाम’ पनि फेर्न थाले । नाम फेर्दा यसरी फेर्न थाले कि ‘झण्डै ठीक्कको एउटा वाक्य बराबर लामा र नसुने नजानेका । अप्ठेरा ।’ यसकारणले कि– मुद्दा मामिलामा ‘कतै न कतै नामको कुनै अक्षर तलमाथि’ भइजाओस् । हुँदाहुँदा त नामको अर्थ पनि खोज्न थालियो । र, फेर्न थालियो– नेपाली शब्दकोष खोजीखोजी । ‘यूनिक नाम’ राख्ने होड चल्यो ।
यो थियो लिवाङ, नुवागाउँ र चुनवाङमा पढ्ने बेलाको कुरा ।

असली नाम फेर्ने कुरामा केही सीमा थिए । जसले नागरिकता बनाइसकेका थिए तिनले ‘फेरेर’ मुद्दाझरी ओत्न मुश्किल थियो । नागरिकता नबनाएकाले भने असली नाम फेरे–कर्णालीका भीरजस्तै विकट–विकट ।
नुवागाउँमा पढ्दा मेरो रुमपार्टनर भीमले भीमप्रकाश बाँठा बनाए । अर्का रुमपार्टनर रणबहादुरले लामिछाने राखे । हेडसर कुलानन्द गिरीले थर नै फेर्न कहाँ पाइन्छ भनेर गाली गरेपछि उनको नाम भने यथावत रह्यो ।
अँ, चुनवाङमा एसएलसीको फर्म भर्दा साथीहरुले कसले के नाम राख्यो भन्ने गजबको सनसनी मच्चियो । साइँला दाइले राखेको अनल नामलाई ‘नामको अर्थ पो चाहिन्छ’ भनेर अपाररञ्जित पुन अविरल राख्ने निर्णय गरियो । जयले जयन्द्रबिक्रम केसी राख्यो ।
थुप्रै साथीहरूले नाम फेरे ।
नाम फेर्ने विविध कारणमध्ये अर्को थियो –तत्कालीन एकताकेन्द्र र पछि माओवादी बनेका नेता÷कार्यकर्ताका भूमिगत नाम । सुन्दै काउकुती लाग्ने तिनका भूमिगत नाउँ ।
सम्झना छ– सुन्दै अचम्मलाग्दा–क.बेहोसी, क.लखन्ते, क.सद्दाम, क.संगम, क.जूनकिरी, क.बादल, क.विद्युत, क.लि फङ, क.सेउला !
अल्लारे यामको सिको गर्ने उमेर न हो ! कहिलीकसो ‘झुट्टामुद्दाझरी ओती हाल्छ कि’ भन्ने तिर्सना बोकेर धेरैले नाम फेरे । कसैले पहिलो नाम पछि बहादुर या प्रसादको बदला अरु कुनै राखे भने कतिले जराबोटैबाट फेरे ।

सम्झना छ–
पर्समा तिनै दुइटा आइडी कार्ड थिए– एउटा चल्तीको नाम, अर्को नागरिकताको । टीयूको अंग्रेजीको विद्यार्थीको कार्डमा असली नाम थियो भने अर्को आदिवासी जनजाति पत्रकार संघको उपाध्यक्षको कार्डमा चल्तीको । दुवै कार्ड गोजीमा यसकारणले हुन्थ्यो कि– गाडीमा तेत्तीस प्रतिशत टीयूको असली नामले दिन्थ्यो भने अर्को नाउँले कहिलीकसो पत्रिकामा लेखिटोपलेका ‘खलो’ (गाउँमा कामी दमाइले विष्टका काम गरेबापत बाली भित्राएपछि पाउने अन्न) उठाउन ।
सेना पुलिसको बुझाइमा यसरी फरक–फरक नाम हुनु असली माओवादी हुनु रहेछ । हुन पनि यस्ता असली नाम र पार्टीका टेकनाम भूमिगत माओवादीकै हुन्थे । भूमिगत पार्टी भनेको माओवादी मात्र थियो । अलग–अलग ‘नाम’ले सेनालाई थप शङ्का र थप यातना दिन बल दियो ।
कुट्दासम्म कुटेर पनि केही नपाएपछि मेरा ती अलग–अलग नामलाई छुट्टाछुट्टै खोजेछ । यसरी खोज्दै जाँदा एउटा न एउटा नामसँग माओवादीका नेताको टेकनाम मिलेछ । कुनैको माओवादी नेता र कार्यकर्ताको नामसँग नमिलेको ‘विभास’ मात्रै रहेछ ।
मलाई याद छ–
वरपर बर्सेको चिच्याहटले कान भरिदैछ । कोलाहल र चिच्याहटले मन नजानिँदो गरी हुँडलिएको छ ।
(पछि सम्झें, त्यसबेला यातना पाउनेमा निर्मला भण्डारी रहिछन् । पानीमा हालेको, चिच्याइरहेको र ‘भन्छु’ भन्दाखेरि निकालेको । फेरि नभनेपछि पानीमा हाल्दै कुटेको । चिच्याहट सबैभन्दा भयानक थियो ।)
‘त्यस्तै बनाउनेछ’ भन्ने अवश्यम्भावी चेतले सम्झाउँदैछु ।
सायद आधा घण्टापछि आयो होला । तर जुगै बितेजस्तो लाग्यो ।
‘उठ् !’
उभिएकै छु । तर भनिरहेछ ‘उठ् ।’ जाडोमा नाङ्गै पारेको छ ।
‘कुट्ने दुःख नदे । भन् खुरूखुरू ।’
उसले धम्कायो ।
नवीन नामका कमरेडले चाहिँ देउखुरी एरिया हेर्दारहेछन् । उनकै नामबाट सोध्न थाल्यो ।
‘रिपोर्टिङ गर्, देउखुरीको ।’ एक लात हानेर कासन दियो ।
‘अनुसन्धान गर्नुस् । म होइन ।’ बोली झरिनसक्दै लात्ताले पानीमा खसाल्यो । त्यसपछि पानीमा डुबाउँदै कुट्यो ।
‘बुझ्छु यो नामबाट ।’
केही समय छुट्टी लियो । एकछिन गनगन गरेजस्तो लाग्यो । अरूसँग कुरा ग¥यो कि ? याद छैन । वरपरबाट भने चित्कार लगातार आइरहेछ ।
‘त्यसो भए तेरो पार्टीको नाम किरण हो ?’ अब अर्को नामले सोध्न थाल्यो ।
‘दाङको नारायणपुर क्षेत्र हेर्थिस् होइन ?’ फेरि एक दनक दिएर सोध्यो ।
दाङकै बारेमा सोध्न थाल्यो । कारण– काठमाडौं आएको तीन महिना मात्र भएको बताएको थिएँ ।
‘होइन’ भनें । कुटिरह्यो ।
त्यसपछि
कहाँ लग्यो ? कति कुट्यो ? थाहा भएन ।
कलाकार र विद्यार्थी हुँदाको भाँतीभाँतीका नाम पनि थाहा पाएछ ।
झन् थप्यो ।
कहिले दाङ, कहिले रोल्पा, कहिले काठमाडौंका ती नाम लिएर हैसियत र घटनाबारे सोधिरह्यो ।
सबैभन्दा बढीचाहिँ देउखुरीको सतबरिया क्षेत्र र घटना बारेमा सोध्दै कुट्यो ।
मेरोजस्तै नामका ती माओवादी नेता दाङ, काठमाडौं र रोल्पाका ठूला नेता र मझौला नेताका नाम रहेछन् भन्ने पनि थाहा पाएँ । तिनकै नाउँसँग जोड्यो । गोद्यो ।

अल्लारे यामको सिको गर्ने उमेर न हो !
बोलाउने र असली नाम फरक पर्नाले केही माओवादी नेता कार्यकर्ताका मुद्दा फासफुस पनि भएथे । थोरबहुत भरथेग मलाई नि भएथ्यो । तर यसपालि ? यमराज नै डेरामा हाजिर भएपछि ‘नाउको बाउ’ आए पनि कसको उपाय लाग्थ्यो र ?
उपायनास्ति ।
दिए, तिनै नामले दिनु सास्ती ।

–प्रकाशोन्मुख कृति १२ बजे बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *