गिद्ध रेष्टुरेन्ट र पर्या–पर्यटनको महत्व

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन १७, २०६९       | 192 Views   ||

Krishna_bhusal-[कृष्णप्रसाद भुसाल]

सामान्यतया रेष्टुरेन्ट भन्नाले हामी खानाका विविध परिकारहरु पाइने र साथीभाइहरु जमघट हुने स्थान भन्ने बुझ्छौं तर यहाँ केही यस्ता रेष्टुरेन्टहरु छन् जुन मानिसहरुका लागि खाना खान भनेर बनाइएको होइन । यी त्यस्तो प्रकारका रेष्टुरेन्ट हुन् जहाँ विश्वबाटै लोप हुने अवस्थामा पुगेका दुर्लभ पंछी गिद्धहरु ग्राहक बनेर सिनो खान आउँछन् । त्यसैले त यिनको नाम जटायु (गिद्ध) रेष्टुरेन्ट दिइएको छ र हाल यिनलाई गिद्ध सुरक्षित क्षेत्रको रुपमा विकास गरिदैछ । जसको प्रमुख उद्देश्य लोपोन्मुख अवस्थामा पुगेका गिद्धहरुलाई त्यहाँका स्थानीय जनसमुदायसँग मिली शुद्ध विषादीरहित खाना प्रदान गर्नु हो भने अर्कातिर पर्यटकलाई आकर्षण गरी पर्या–पर्यटनको विकास गर्दै स्थानीय समुदायको जिविकोपार्जनमा टेवा पु¥याउनु हो ।

यही उद्देश्यका साथ नेपालमा सर्वप्रथम सन् २००६ मा सामुदायिक वन उपभोक्ताहरुको सक्रिय सहभागितामा नवलपरासीको कावासोती बजारदेखि चार किमि दक्षिण पिठौली/कावासोती गा.वि.स.मा एसियाकै पहिलो समुदायस्तरको जटायु रेष्टुरेन्ट खोलियो । पछि यस प्रकारका रेष्टुरेन्टहरु रुपन्देहीको गैंडाहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटीया र कास्कीको घाँचोकमा पनि विस्तार गरियो । यसरी खोलिएका जटायु रेष्टुरेन्टमा गौरक्षा केन्द्रहरु छन् । जहाँ वृद्ध, अशक्त र बेकामी गाइवस्तुहरु संकलन गरी पालनपोषण गरिन्छ । खासमा गौरक्षा केन्द्र पशुहरुको वृद्धाश्रम हो । वृद्धाश्रममा गाइगोरु ल्याउनेलाई रेष्टुरेन्टले प्रोत्साहनस्वरुप नगद पुरस्कार पनि दिन्छ । तिनीहरुको प्राकृतिक मृत्युपश्चात् निश्चित स्थानमा गिद्धहरुको आहाराका लागि राखिन्छ र गिद्धहरु आई खान्छन् । त्यहाँ गिद्धको आनीबानी हेर्ने पर्यटक अवलोकन घर पनि छन् जहाँबाट आगन्तुकहरुले अतिसंकटापन्न गिद्धहरुको विभिन्न अवस्था र क्रियाकलापको नजिकबाट अध्ययन गर्नुका साथै मनोरञ्जन पनि लिन सक्दछन् । जसले पर्या–पर्यटनमा टेवा पुग्नुका साथै स्थानीयबासीको जिविकोपार्जनमा समेत मद्दत गरेको छ ।

‘प्रकृतिको कुचिकार’ भनेर चिनिने लोपोन्मुख पंक्षी गिद्धको पर्यावरणीय चक्र र खाद्यश्रृंखला सन्तुलित र गतिशील राख्न महत्वपूर्ण भूमिका हुन्छ । आफै सिकार नगरी मरेका जनावरको सिनो मात्र खाने गिद्धहरु प्रदुषित र दुर्गन्धित वातावरणलाई स्वच्छ र सफा राखी विभिन्न महामारी सरुवा रोगहरु हैजा, रेबिज, प्लेग, एन्थ्राक्स फैलनबाट रोक्छन् । यसर्थ गिद्धको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता हो ।

Vulture_dangहालैको प्रतिवेदनअनुसार दक्षिण एशियामा पाइने नौ मध्ये नौ प्रजातिकै गिद्धहरु नेपालमा पाइन्छन् । तीमध्ये छ प्रजातिका गिद्धहरु नेपालमै गुँड बनाई बच्चा कोरल्छन् भने दुई प्रजाति हिउँदे आगन्तुकको रुपमा आउने गर्छन् । दशक अघिसम्म हाम्रो देशको हिमालदेखि तराईसम्मका विभिन्न स्थानमा सयौं गिद्धका समूहहरु देख्न सकिन्थ्यो तर आज त्यो दृश्य दुर्लभ भएको छ र यत्रतत्र सर्वत्र पाइने गिद्धहरु पृथ्वीबाटै लोप हुने खतरामा छन् । विगत दश बर्षयता नेपाललगायत दक्षिण एसियामा गिद्धको संख्या ९५ प्रतिशतभन्दा बढीले घटेको विभिन्न अध्ययनहरुले देखाएका छन् । सन् १९९० को दशकमा नेपालमा पाँच लाखको हाराहारीमा गिद्ध भएको र हाल त्यो संख्या पाँच हजारमा झरेको बताइन्छ । अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइ.यू.सी.एन) को संकटापन्न प्रजातिको सूची रेड डाटा लिष्टले नेपालमा पाइने सानो खैरो, डङ्गर र सुन गिद्धलाई अतिसंकटापन्न र सेतो गिद्धलाई सङ्कटापन्न सूचीमा सूचीकृत गरेको छ । अतिसंकटापन्न सूचीमा परेका प्रजाति १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत हुन्छ । यसर्थ यी लोपोन्मुख पंक्षीको जीवन संरक्षणका लागि जटायु रेष्टुरेन्टको अवधारणा ल्याइएको हो ।

विभिन्न वैज्ञानिक प्रयोगहरुबाट गिद्धको संख्या यसरी अप्राकृतिक र नाटकीयरुपमा घट्नुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधी ‘डाइक्लोफेनेक’ भएको पत्ता लागेको छ । सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका जनावर मरेपछि तिनको सिनो खाने गिद्धको मृगौलामा ‘युरिक एसीड’ जमी काम गर्न छाड्छ । फलस्वरुप गिद्ध केही दिनमै मर्छ । गिद्धहरु समूहमा खाने हुँदा डाइक्लोफेनेक प्रभावित एउटै सिनोबाट पनि ठूलो संख्यामा मर्छन् । अतः गिद्ध सुरक्षित आहार केन्द डाइक्लोफेनेक र अन्य विषादीमुक्त उचित आहाराको व्यवस्था गरिएका स्थानहरु हुन् ।

नेपाल विश्वको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गर्दा यी गिद्ध सुरक्षित आहार केन्द्र (रेष्टुरेन्ट)हरु नेपालका आकर्षक पर्यटकीय क्षेत्र बन्न सक्दछन् । संसारकै नमूना नवलपरासीको रेष्टुरेन्ट चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ, जहाँ चितवन घुम्ने पर्यटकको एक दिने बसाइ थप लम्ब्याउन सकिन्छ । लुम्बिनीको रेष्टुरेन्ट गौतम बुद्धको जन्म स्थानबाट १५ किमि नजिक पर्नुका साथै चराहरुको लागि महत्वपूर्ण बासस्थानभित्र अवस्थित छ, गैडहवा ताल क्षेत्र पिकनिक र जंगल सफारीका लागि उपयुक्त छ । खुटिया नदीको तटमा अवस्थित कैलालीको रेष्टुरेन्टमा सिनोमा झुमिरहेका गिद्धहरुको चर्तिकला देख्दा संसारकै उत्कृष्ट प्राकृतिक चिडियाखानामा बसेजस्तो लाग्छ । जसलाई टिकापुर, घोडाघोडी ताल र शुक्लाफाँटा वन्यजन्तु आरक्षको नेटवर्कभित्र समेट्न सके सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम थपिन्छ । त्यसैगरी कास्कीको घाँचोकमा रहेको रेष्टुरेन्ट पर्यटकीय नगरी पोखरा र माछापुच्छ«े्रको आँगनमै अवस्थित छ जहाँबाट माछापुच्छ«े हिमश्रृंखला र सेती नदीको सुन्दर प्राकृतिक खोचको नजिकैबाट स्पर्श गर्न सकिन्छ । जैविक र साँस्कृतिक विविधताको खानी अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यस रेष्टुरेन्टमा हिमालदेखि तराईसम्मका गिद्धहरुको जमघट देख्न पाइन्छ । नवलपरासीमा पर्यटकलाई लक्षित गरी संग्रहालय, थारु संस्कृति अवलोकनका साथै होमस्टेको पनि व्यवस्था गरिएको छ । यसैगरी दाङको लालमटियास्थित जटायु रेष्टुरेन्टका संयोजक मोती अधिकारीका अनुसार अहिले विदेशी पर्यटकलाई त्यति आर्कषित गर्न नसकिएको भए पनि आन्तरिक पर्यटकहरु भने बढेका छन्, जहाँ सालको नमूना वनको अवलोकन गर्न पाइन्छ । त्यस्तै बिजौरीको रेष्टुरेन्टमा पनि विगत सात महिनामा भ्रमणकर्ताको संख्या पहिलेभन्दा बढेको पर्यावरणीय दिगो विकास केन्द्रका संयोजक डिल्लीबहादुर रावत बताउँछन् । जहाँ नेपालकै पहिलो गिद्ध सुरक्षित वन घोषणा गरिएको छ । रेष्टुरेन्ट सञ्चालन गरेको एक वर्षमै स्थानीयलगायत सबैको ध्यान केन्द्रित गर्न सफल भएको खुटिया कैलालीको रेष्टुरेन्टका अध्यक्ष मानबहादुर बमको भनाई छ । जसको कारण कैलालीमा मात्र होइन भारतको सीमावर्ति क्षेत्रमा समेत गिद्धको संख्यामा वृद्धि भएको उहाँको बुझाई छ ।

नेपाल पंक्षी संरक्षण संघले अन्य साझेदार संस्थाहरुसँग हातेमालो गर्दै जटायु रेष्टुरेन्टलाई दिगो व्यवस्थापन गरी गिद्धलगायत अरु जैविक विविधताको संरक्षण गर्न र पर्यटन विकासको लागि स्थानीय समुदायमा विभिन्न सीप विकासका तालिमहरु, होमस्टे व्यवस्थापन र नेचर गाइड तालिम पनि सञ्चालन गरिरहेको छ ।
समग्रमा यी जटायु रेष्टुरेन्टहरु स्थानीय समुदायसँगको सहकार्यमा पर्यावरण सन्तुलन, गिद्धको दिगो संरक्षण र पर्यावरणीय पर्यटन विकासमा उदाहरणीय, सह्रानीय र कोशेढुङ्गा सावित भएका छन् । पर्यावरणीय पर्यटन अब सेताम्य हिमाल अवलोकन, जंगल सफारी, ट्रेकिङमामात्र सीमित छैन, लोपोन्मुख अतिसंकटापन्न प्रजातिको अवलोकन, अध्ययन र संरक्षणमा पनि छ । नेपालमा पर्यटन व्यवसाय फस्टाउँदै गइरहेको अवस्थामा यी बहुआयामिक क्षेत्रलाई पनि समेट्न सके सुनमा सुगन्ध हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *