एमाओवादीले शहीद परिवारलाई अभिनन्दन ग¥यो

  
  प्रकाशित मितिः शुक्रबार, फाल्गुन १८, २०६९       | 108 Views   ||

दाङ, १८ फागुन । शहीद सप्ताहको अवसरमा एकीकृत नेकपा (माओवादी) दाङले जनयुद्धका शहीद र बेपत्ताका परिवार एवम् घाइते अपाङ्ग योद्धाहरुलाई अभिनन्दन गरेको छ । शुक्रबार तुलसीपुरको सेन्टर स्कूलमा एक कार्यक्रमको आयोजना गरी एमाओवादीले ४ नं. निर्वाचन क्षेत्रका शहीद तथा बेपत्ताका परिवार र घाइते अपाङ्गहरुलाई अभिनन्दन गरेको हो ।

अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि एमाओवादी थारुवान राज्यसम्मेलन आयोजक समितिका सचिवालय सदस्य तथा पूर्वसभासद् कुबेर ओलीले शहीद र बेपत्ताका परिवार एवम् अपाङ्ग योद्धाहरुलाई सम्मान पत्रका साथै दोसल्ला ओढाएर अभिनन्दन गर्नुभएको थियो । कार्यक्रममा ५ नं. निर्वाचन क्षेत्रका १ सय २ जना शहीदका परिवार, १४ जना बेपत्ताका परिवार र ४१ जना जनयुद्धका घाइते अपाङ्ग योद्धाहरुलाई अभिनन्दन गरिएको थियो ।

एकीकृत नेकपा (माओवादी) दाङका संयोजक निर्मल आचार्य ‘विमल’ को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वसभासद् कुबेर ओलीले शहीदहरुको बलिदानीले नै देशमा गणतन्त्र, संघीयताजस्ता एजेण्डाहरु स्थापित भएको बताउनुभयो । न्याय र समानताका लागि शुरु भएको जनसंघर्षले नै पछि पारिएका समुदायलाई राज्यको पहुँचसम्म ल्याएको भन्दै ओलीले जनसंघर्षका क्रममा ढलेका योद्धाहरुको अधुरो काम आफूहरुले पूरा गरि छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा शहीद परिवार शिव घिमिरेले शहीदहरुको बलिदानले अहिलेको उपलब्धि प्राप्त भएको भन्दै उनीहरुका सपना र लक्ष्य नभुल्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । सो अवसरमा बोल्दै जनयुद्धका घाइते योद्धाहरु सीपी शर्मा, राहुल चौधरीले जनयुद्धले सतहमा ल्याएका उत्पीडित वर्ग, लिंग, जाति, क्षेत्र र समुदायका मुद्दाहरुलाई पूरा गर्नेतर्फ लाग्न पार्टीलाई आग्रह गर्नुभयो ।

एकीकृत नेकपा (माओवादी) ४ नं. निर्वाचन क्षेत्रका संयोजक रामजी थारु मिलनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन एमाओवादी थारुवान राज्यसम्मेलन आयोजक समिति सचिवालय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ले गर्नुभएको थियो ।

संयोजक आचार्यका अनुसार शहीद सप्ताहको अवसरमा एकीकृत नेकपा (माओवादी) दाङले ३ नं. निर्वाचन क्षेत्रको घोराहीमा भोलि फागुन १९ गते शनिबार, २ नं. निर्वाचन क्षेत्रको कमिरेचौरमा फागुन २० गते आइतबार र ५ नं. निर्वाचन क्षेत्रको लमहीमा २१ गते सोमबार अभिनन्दन कार्यक्रम गरिने भएको छ । त्यस्तै, हाँसिपुरमा २२ गते अभिनन्दन कार्यक्रम राखिएको आचार्यले जानकारी दिनुभयो ।

यसअघि एमाओवादी दाङले बिहीबार धनौरीमा आयोजित कार्यक्रममा ५ नं. निर्वाचन क्षेत्रका ८४ जना शहीदका परिवार, ४ जना बेपत्ताका परिवार र १६ जना जनयुद्धका घाइते अपाङ्ग योद्धाहरुलाई अभिनन्दन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *