आमा झुण्डिइन, बाबा प्यारालाइसिस

  
  प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०६९       | 109 Views   ||

badi_chaild-[जनक नेपाली]
दाङ । गाउँमा दशैंको चहलपहल थियो । सबैका घरमा मीठा–मीठा खानेकुरा पाक्दै थिए । दशैंको पाँचौं दिन– घरमा चामल नभएपछि हामी भोकै सुत्यौं, आमाले राती घाँटीमा पासो लगाइछिन् ।’ घोराही– ८ सेवारखोलाकी सम्झनाका भाइबहिनीले यी कुरा भनिरहँदा प्यारालाइसिस थलिएका उनका बाबा आँगनमा पल्टिरहेका थिए ।

एघार वर्षीया सम्झना वादी र उनका भाई मनोजको पीडा कम्ती कारुणिक छैन । दशैंको मुखमा छोराछोरीलाई भोकै राख्नुपर्दाको पीडा खप्न नसकी आमाले पासो लगाएर मरेको सम्झना बताउँछिन् । छोराछोरी भोकै सुतेको उनकी आमाले अहिले देख्नुपरेको त छैन तर आमाले छाडेपछि दुई भाईबहिनी र अर्धमृतजस्तै बाबाको झनै बिचल्ली भएको छ ।

‘पहिला आमाले काम गरेर हामीलाई पाल्नुहुन्थ्यो, आमाले छोडेर गएपछि अहिले हामीले बुबालाई समेत पाल्नुपरेको छ’ सम्झना भन्छिन्– ‘गरीबी र भोकले आमालाई गुमाउनुप¥यो ।’ उनीहरुले अहिले गाउँमा मागेर जीवन गुजार्दै आइरहेका छन् । हरेक दिन बिहान उज्यालो भएदेखि सबैको घरदैलोमा माग्न जाने गरेको बताउँदै सम्झना भन्छिन्– ‘यसरी पनि कति दिन चल्छ र जीवन धान्नु ?’ उनले दुःख, दर्दका कुरा गरिरहँदा भाई मनोजले दिदीको अनुहारतिर हेर्दै टोलाइरहेका थिए ।

बाबाले कमाई गर्न सक्ने अवस्था नभएपछि अहिले उनीहरु कसैको विवाह, पूजाआजामा गएर खाने गरेको सम्झना बताउँछिन् । अहिले अरुको घरमा बसिरहेको भन्दै सम्झनाले  आफ्नो सम्पतिको नाममा बाले अर्कासँग मागेर ल्याएको माछा मार्ने जाल मात्र रहेको बताइन् । अर्काको घरबाट मागेर ल्याएको नून, तेल र चामल पनि घरको ढोका नहुँदा कहिलेकाँही बंगुर पसेर खाइदिने गरेको सम्झनाले दुखेसो गरिन् । ‘आमा यी दुःखहरु छाडेर गइन, अहिले पनि हामी कयौं रात भोकभोकै काटेका छौं शरीर नचल्ने र आँखा पनि नदेख्ने बालाई डो¥याउँदै दिशापिसाब गराउँछौं ।’ दुई कक्षामा पढ्दापढ्दै मिसहरुले किताबकापी छैन, परीक्षा फिस पनि छैन अब स्कूल नआउनू भनेपछि स्कुल जान छाडेको भन्दै सम्झनाले आफूलाई पढ्न मन लागेको बताइन् । मागेर ल्याएको चामलले खान नपुग्ने भएकोले छिमेकीको जुठा भाँडा माझ्ने गरेको उनले बताइन् ।

आमालाई गुमाएपछि नयाँ कपडा पनि लगाउन नपाएको मनोजले बताए । ‘आमा हुँदा बर्षमा एकपटक कपडा किनिदिनुहुन्थ्यो, अहिले मान्छे मरेपछि फालेका कपडा लगाउँछौं ।’ मनोजले भने– ‘भोकले हैरान बनाउँछ, खाने केही नभएपछि अरुले फालेको भातका सीता खाएको छु ।’

उसो त गाउँका मान्छेले अनाहकमा पिट्दा र गाली गर्दा कयौं रात आमाकै चिहानमा रुँदै बिताएको भन्दै मनोजले आमाको मृत्युपछि आफूहरु ठूलो बिचल्लीमा परेको बताउँछन् । उनीहरु कहिलेकाँही घरमा बस्दा इँट्टाभट्टामा काम गर्न जाँदा त्यहाँ पनि साहुले दिनको १८ रुपैयाँ  दिएर ठग्ने गरेको उनीहरुको दुखेसो छ । पढ्ने रहर भएको भन्दै उनीहरुले पढ्ने वातावरण मिलाइदिन सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित : २०६९ माघ ६ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *