आवश्यकता सान्दर्भिक सिकाइको

  
  प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०६९       | 176 Views   ||

JB shah-[जीतबहादुर शाह]

मेरो छोरा विज्ञान र छोरी प्रविधिको बीचमा १४ वर्षको फरक छ । छोरा जागीरे भइसकेका छन् । छोरी कक्षा ५ मा पढ्छिन् । छोरा पढाइमा मध्यम हुन् भने छोरी भने क्लासमा पढाइमा पहिलो दोश्रोमै पर्छिन् । एक दिन छोरा र छोरीको बीचमा वार्तालाप भइरहेको थियो ।

छोरीले आफूले पाएका मेडलहरु देखाएर आफ्नो दादालाई व्यङ्ग्यको पारामा भन्दै थिइन्– ‘दादा, यहाँ त मेरो मात्र मेडलहरु झुण्ड्याएर राखिएको छ त । हजुरको मेडलहरु कहाँ छन् ल्याउनु न, सँगै झुण्ड्याएर राखौं ।’

जवाफमा छोराको भनाइ थियो– ‘प्यारी बहिनी, तिमीले आफ्ना बालापन सम्पूर्ण खुशीहरु बन्धकी राखी रातदिन घोकेर मेडलहरु पायौ । मैले त्यसरी कहिल्यै घोकिनँ । मैले जे पढें, बुझेर अर्थपूर्ण तरिकाले पढें । यस्ता मेडलहरु मेरा क्लासका साथीहरुले पनि पाउने गर्थे, तीमध्ये कतिपय अहिले पनि बाउआमाको बोझ भएर बाउआमाकै सम्पति खाएर बसिरहेका छन् । मसँग विद्यालयले दिएका कुनै पनि मेडल नभए पनि म आत्मनिर्भर छु । मलाई बाउआमाको सम्पतिमा बाँच्नुपर्ने बाध्यता छैन । त्यसैले जीवनमा भित्तामा झुण्ड्याएर राख्ने मेडल होइन, सम्मानका साथ बाँच्न सिकाउने शिक्षा चाहिन्छ, बहिनी ।’ उनीहरुले तर्कका आधारमा आ–आफ्नो बचाउ गर्दै थिए । मैले भने उनीहरुलाई कुनै हस्तक्षेप गरिनँ । को गलत र को सही पनि भनिनँ । मलाई लाग्दै थियो– मेरो देशको शिक्षाको बारेमा उनीहरुको बीचमा गरमागरम बहस भइरहेको छ ।

छोराछोरीको वार्ता सुनेपछि म सोच्न बाध्य भएँ । साँच्ची भन्ने हो भने हाम्रा विद्यालयहरुले दिने शिक्षाप्रति सरोकारवाला त्यति सन्तुष्ट देखिदैनन् । विद्यार्थी स्वयम् पनि खुशी छैनन् । शिक्षा लिने र दिने कार्य जति सरल, सजिलो र महोत्सवको रुपमा हुनुपर्ने हो त्यो भन्दा निकै जटिल र पीडादायी भइरहेको छ । विद्यालयले प्रदान गर्ने शिक्षाको आलोचना गर्नेहरुले विद्यालयले सधैंभरि बालबालिकाहरुलाई बासी शिक्षा प्रदान गर्दछ भन्ने आरोप लगाउने गरेका छन् । शिक्षकहरु कक्षाकोठामा आजको होइन हिजोको कुरा गर्दछन् । यसले गर्दा शिक्षा समस्या समाधानमा आधारित र व्यावहारिक हुन सकेको छैन भन्ने गुनासो शिक्षाका सरोकारवालाहरुको छ । विद्यालयले प्रदान गर्ने शिक्षाप्रति तीखो व्यङ्ग्य गर्दै इवान इलिचले ‘विद्यालयले डिब्बामा बन्द गरिएको सूचना र ज्ञानको व्यापार गर्दछ’ भनेका छन् । विद्यालयले प्रदान गर्ने शिक्षाप्रति खनिएका यस प्रकारका आलोचनाहरुलाई कम गर्ने र शिक्षालाई जीवनोपयोगी बनाउने हो भने हाम्रा कक्षाकोठाहरुलाई आजको आवश्यकतासँग गाँसेर अघि बढाउनु पर्दछ । यसका लागि सम्बन्धित विद्यालय र सम्बन्धित शिक्षकहरु विशेष सक्रिय र सजग हुनु आवश्यक छ ।

सिकाइ समय सापेक्ष हुन्छ र सत्य पनि समय सापेक्ष नै हुने गर्दछ । चितवन कुन दिशातिर पर्दछ भन्ने प्रश्नको जवाफ नेपालगञ्जको विद्यार्थीले पूर्वतिर भनेर लेख्यो भने वीरगञ्जमा बस्ने शिक्षकले उक्त उत्तर चेक गर्दा गलत हुन सक्छ । किनभने चितवन नेपालगञ्जबाट पूर्व पर्दछ तर वीरगञ्जबाट त चितवन पूर्व नपरेर पश्चिमतिर पर्दछ । त्यसैले चितवन कता भन्ने सम्बन्धमा दिइने जवाफ सधैंका लागि एउटै खोजियो भने सधैं सत्य हुँदैन । मैले जीवनमा मेरो समाजबाट भेडाको मासु र सिमीको दाल सर्दी (चीसो) हुने गर्दछ भनेर सिकेको कुरा जुम्लामा गएपछि पूर्ण रुपले ध्वस्त भयो । त्यहाँ त भेडाको मासु र सिमीको दाल चीसोबाट जोगिनका लागि त्यसमा पनि विशेष गरी सुत्केरी महिलालाई खुवाउँदा रहेछन् ।

दाङको मुलाबारीमा गएपछि मलाई झनै अर्को अनौठो अनुभूति भयो । मा.वि. मुलाबारीको प्र.अ.ले अन्यत्र कतै मोबाइल नलाग्ने र एक ठाउँमा मात्र मोबाइल फोन लाग्ने भएको हुँदा मोबाइललाई एकै स्थानमा लठ्ठीको एण्टीनामा झुण्डाएर राख्दा रहेछन् । जब मोवाइलको घण्टी बज्दछ, अनि दौडिएर रिसिभ गर्न जाने रहेछन हेडसर त्यही ठाउँमा । साँच्ची कतै चीसो हुने चीज कतै गर्मी हुने यो पनि सान्दर्भिक (Contextual) सिकाइ हो जस्तो लाग्छ । कतै मोबाइल नाम गरेको फोन कतै ल्याण्डलाइन फोनजस्तै एकै ठाउँमा रहेर सेवा दिँदो रहेछ । मलाई यो सिकाइ पनि जीवन र जगतको विभिन्नतामा आधारित भएर सिर्जिएको व्यावहारिक सिकाइजस्तो लाग्यो । नाप्नका लागि बनाइएको प्लाष्टिकको एउटा स्केलले नापको अलावा परिवेशअनुसार वस्तुको सङ्केत गर्न, आवाज निकाल्न, घचेट्न, अचेट्न, छुन, हिर्काउन आदि काम गरेजस्तै हाम्रो शिक्षाले पनि परिवेशअनुसार काम दिन सक्यो भने त्यो सिकाइ बढी सान्दर्भिक र समयानुकूल हुँदोरहेछ । अण्डा आन्तरिक शक्तिको कारणले फुट्यो भने त्यसले जीवन पाउँदो रहेछ तर त्यही अण्डा बाह्यशक्तिको कारणले फुट्यो भने त्यसको जीवन समाप्त हुँदो रहेछ । त्यसरी नै शिक्षा पनि बाह्य संसार भन्दा पनि जीवनका भोगाइहरुसँग सामिप्यता गाँस्दै अघि बढ्यो भने त्यो शिक्षा ज्यूँदो सावित हुँदोरहेछ ।

केही वर्ष पहिले बाँकेको राम मा.वि.मा कक्षा ९ को गणित शिक्षकको कक्षा अवलोकन गर्न अनुमति लिएर कक्षाकोठामा प्रवेश गरें । उहाँले सेट पढाइरहनुभएको थियो । अभ्यासमा दिएका  कुरा गरेर x र y को मान राख्दै पढाउँदै गर्दा धेरै विद्यार्थीहरुले सेटको धारणा बुझ्न गाह्रो महसुस गरें । मैले कक्षा सकिएपछि सम्बन्धित शिक्षकलाई व्यावहारिक कुराबाट कक्षा सुरु गर्न सल्लाह दिएँ । विद्यार्थीहरुले पहिले थाहा पाइसकेका कुराहरुलाई जोड्नुप¥यो भनें । घरव्यवहारको कुरा गर्दै गाईहरुको सेट, बाख्राहरुको सेट, मानिसहरुको सेट, मानिसअन्तर्गत पनि महिलाहरुको सेट, पुरुषहरुको सेट, बच्चाहरुको सेट, युवाहरुको सेट, वृद्धाहरुको सेट आदिको उदाहरण दिएर विषयवस्तु पस्कनुभयो भने राम्रो हुन्छ भनें । भोलिपल्ट त्यसै गर्नुभएछ उहाँले । विद्यार्थीहरुले खुशी हुँदै आफूभित्र सेटका धारणा बसाल्न सकेछन् । पछि यो कुरा उहाँले मसँगको भेटमा खोल्नुभएको थियो ।

शिक्षाविद्वहरुले सिकाइका केही सूत्र तथा नियमहरु बनाएका छन् । त्यस्ता सूत्र तथा नियमहरुमा सरलबाट जटिलतिर, ज्ञातबाट अज्ञाततिर, पूर्णबाट अंशतिर, ठोसबाट भावात्मकतिर आदि बढी चर्चा र प्रयोगमा आउने गर्दछन् । एकपटक सेतै फुलेका र दाँत झरिसकेका गुरुले साना नानीहरुलाई नरम र कठोर व्यवहारको बारेमा पढाउँदै गर्दा आफ्नो मुख खोलेर बालबालिकाहरुलाई हेर्न भनेछन् । उनको मुखमा दाँत थिएनन्, झरिसकेको थिए । नानीहरुले दाँत नभएको तर जीब्रो भएको कुरा गरेछन् । त्यसैगरी गुरुले दाँत पछि आउने र जीब्रो जन्मसँगै आउने भएर पनि दाँत छिट्टै जाने र जीब्रो सधैं रहिरहने कुरा पनि विद्यार्थीहरुसँग छलफलमा ल्याएछन् । त्यसपछि दाँत कडा हुने र जीब्रो नरम हुने कुरा पनि गरेछन् । त्यसपछि उनले दाँत जस्तै कडा र कठोर व्यवहार हुने मानिसहरु दाँत जस्तै कसैको मनमा ढिलो प्रवेश गर्छन र छिट्टै जान्छन् भनेछन् । भन्नुको मतलब त्यस्ता मानिसहरुलाई धेरै लामो समयसम्म कसैले पनि मन पराउँदैनन् । तर नरम मानिसहरु लामो समयसम्म मानिसहरुको दिलमा जीब्रो जस्तै गरी बसिरहन्छन् भनेछन् । ती गुरुले बालबालिकाहरुले जानिसकेका र त्यसमा पनि ठोस कुराको उदाहरण दिएर भावनात्मक कुरा गरेको कारणले बालबालिकाहरुले कहिले पनि नबिर्सने गरी नरम र कठोर व्यवहारको बारेमा धारणा बनाएछन् । यसले गर्दा सिकाइलाई व्यावहारिक र सान्दर्भिक बनाउन सहयोग पुगेको सिकारुहरुले महसुस गरेछन् ।

यतिमात्र नभइ सिकाइलाई सान्दर्भिक बनाउन समाज र समुदायमा भएका समस्याहरुलाई पनि विशेष प्राथमिकता दिएर कक्षाहरु अघि बढ्नुपर्ने हुन्छ । दाङको नि.मा.वि. हाँसीपुरमा जाँदा थाहा भयो त्यहाँ बालविवाहको चलन चर्को रहेछ । गत वर्ष मात्रै कक्षा ६ मा पढ्ने १२ जना छात्राहरुले विवाह गरेर पढाइ छोडेछन् । यस्तो अवस्थामा सके आफूले नसके कोही विज्ञ बोलाएर भए पनि त्यस्ता विद्यालयहरुले बालविवाहविरुद्धको अभियानमा सहयोग पुग्ने गरी कक्षाकोठाहरुमा र समुदायमा समेत चेतनामूलक शिक्षा दिने कि नदिने ? वर्षाको समयमा कतिपय मानिसहरु विषालु च्याउ खाएर मर्ने गर्दछन् । विषालु सर्पले टोकेर मर्ने गर्दछन् । यस्तो अवस्थामा विद्यालयहरुले कक्षाकोठामा विद्यार्थीहरुलाई विषालु च्याउ र सर्प कस्तो हुन्छ ? चिनाउने र यसबाट जोगिन के गर्नुपर्दछ भन्ने विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई बाँड्न कञ्जुस्याइ गरियो भने त्यस्ता विद्यालय र त्यस्ता विद्यालयहरुबाट प्रदान गर्ने शिक्षाप्रति मानिसहरुको मोहभङ्ग हुने कुरामा कुनै सन्देह देखिदैन ।

कहिलेकाही समुदायमा भूकम्प, बाढी, पहिरो आदिले दुःख दिइरहेको हुन्छ । कहिलेकाँही हैजा, दादुराजस्ता महामारी फैलिएर दुःख दिइरहेको हुन्छ । कहिलेकाँही जङ्गली जनावरहरुले दुःख दिइरहेका हुन्छन् । कतिपय समाजमा बोक्सी, छाउपडी, भूतप्रेत आदि जस्ता कुरीतिबाट पनि मानिसहरु पीडित हुन्छन् । यस्ता समस्याहरुको बारेमा समुदायको नजिकै रहेका विद्यालयका कक्षाकोठाहरुमा छलफल हुनुपर्ने कि नपर्ने ? मलाई त लाग्छ, यस्ता समसामयिक विषयवस्तुहरुको बारेमा पाठ्यक्रम र पाठ्यांशसँग जोडेर कक्षाकोठाहरुमा नियमितरुपमा छलफल हुनुपर्दछ । यसरी समयसामयिक विषयवस्तुलाई कक्षाकोठामा शिक्षण गर्नका लागि तयार गरिने पाठ्यक्रमलाई आकस्मिक पाठ्यक्रम (Emergent curriculum) भनिदो रहेछ । गतिलो शिक्षा दिन सफल धेरै देशहरुले यसप्रकारको पाठ्यक्रमलाई आधार मानेर अध्ययन अध्यापन कार्यको व्यवस्थापन गर्दा रहेछन् । यसले शिक्षालाई अव्यवहारिक र अवैज्ञानिक हुनबाट समेत धेरै हदसम्म जोगाउँदो रहेछ । कक्षाकोठाहरुमा यसप्रकारको जीवन्तता देखियो भने बाँदरको पुच्छर लौरो न हतियारजस्तो भएको हाम्रो शिक्षाले केही निकास अवश्य पाउँछ ।

शिक्षाले विश्वव्यापी रुपमा सोच्ने र स्थानीयस्तरमा काम गर्ने (Think globally and act locally) कुरालाई प्राथमिकता दिन सक्नुपर्दछ । घोराही नगरपालिकाको जोगीडाँडामा पहिले मकै खेती गर्दा बाँदरले खाइदिदो रहेछ र बाँदरबाट मकै खेती जोगाउनका लागि केटाकेटीलाई स्कूलमा नपठाएर बारीतिर पठाउनुपर्ने स्थिति रहेछ । अहिले मकै खेतीको सट्टा बेसार खेती गर्न थालेपछि भने केटाकेटीहरुको अध्ययनमा नियमितता भएको रहेछ । किनभने बाँदरले बेसार खाँदो रहेनछ । हाम्रो शिक्षाले यस्ता बुद्धिलाई पनि संरक्षण र सिर्जनासमेत गर्न सक्नुपर्दछ भने विश्वलाई पनि हेरेर शिक्षा दिनुपर्दछ । आज कर्णालीको एउटा कुनामा पढ्ने विद्यार्थीले के विषय पढ्यो भने अमेरिकामा जागीर पाइन्छ भन्ने कुरा पनि गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ । हामी शिक्षा दिने क्रममा कहिले आफ्नो गाउँ, समुदाय र संस्कृतिलाई भुलेर बढी आधुनिक हुन खोज्दा रहेछौं भने कहिले विश्वपरिवेशलाई भुलेर आफ्नै गाउँ, समुदाय र संस्कृतिमा हराउन खोज्दा रहेछौं । यो दुवै कुरा ठीक होइन रहेछ ।  स्थानीय परिवेश र विश्व परिवेशलाई फ्यूजन गरेर शिक्षा अगाडि बढ्न सक्यो भने हामी हाम्रो सिर्जनशील संस्कृतिलाई पनि जोगाउन सक्छौं र विश्वपरिवेशमा पनि अन्तरघुुलन हुन सक्छौं । मलाई त यस्तै लाग्छ । यदि यहाँहरुलाई पनि मलाई जस्तै लाग्यो भने यस्तै प्रकारले हाम्रो शिक्षालाई अघि बढाउन आ–आफ्नो ठाउँबाट पहल गर्ने कि !

लेखक दाङका जिल्ला शिक्षा अधिकारी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *