सक्रिय जीवनका बाँकी वर्ष बर्गदीमा

  
  प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०६९       | 115 Views   ||

Narayan_guru-[गोविन्द खड्का]

कलेटी परेका ओठमा जिब्रो डुलाउँदै, चुच्चो परेको टोपी लाएर, दौरा सुरुवालमाथिको पुरानो कोटमा कोही घोराहीका चोकमा भेटिन्छन् । झुक्किनुपर्दैन– नारायण गुरु हुन् । उनलाई एक्लै हिडेको लुकालो हेर्नुपर्छ– छटपटी भएको, सोच्दै गरेको, तनावमा परेको आदि भनेर प्रष्टै थाह पाइन्छ ।

कहिलेकाँही औंला चलाइरहेको पनि भेटेको छु । ८० नाघेको उमेर अवस्थाले होला सबै कुरा याद गर्न नसकेको । सम्हालिनसक्नु सत्कार छ पाइला–पाइलामा– नेपाल कम्युनिष्ट पार्टी दाङको संस्थापक सचिव, युगबोध, राप्ती साहित्य परिषद, नेपाल पत्रकार महासंघ, गाउँघर, नागरिक समाज, वृद्धाश्रमलगायत थुप्रै संस्थाहरु भेटिन्छन् । यी संस्थाको सदस्य बन्ने हैसियत नभएका धेरै जन दाङ अनि राप्तीमा प्रशस्त छन् । तर, गुरु मैले सम्झेका मात्रै यत्ति हो । खोतल्दा थुप्रै सामाजिक संघसंस्थाका संस्थापक हुन् । कामकाज र योगदानको चर्चा गरी नसक्नु छ । विडम्बना भनौं उनको शेषपछि मात्रै योगदानको कदर गरिनेछ । अहिले आफूले केही गरेको छैन भनी तड्पिने उनै छन् । जीवनसंगिनी बिरामीले ओछ्यान परेको भन्दा समाजको चिन्ता छ । मैले केही गर्न सकिनँ कि भन्ने कुराले सबैभन्दा बढी जलाएको जस्तो लाग्छ । त्यसैले हुनुपर्छ– पञ्चवर्षीय योजना घोषणा गरेर बर्गदीतिरै फर्किएका ।

पत्रकारिता र साहित्यको यात्राबाट अन्तरिम विधायिका, प्रेस काउन्सिल नेपालको अध्यक्षलगायत लेखनीको शिखरमा पुगेका शर्मा आत्तिरहनुपर्ने अवस्था के छ त ? गुरु भन्छन्– ‘मैले जति काम गरें, आफ्ना लागि गरें । समाजका लागि खासै केही गरिनँ । अब पाँच वर्षजति त बाँचुला । त्यो बेलासम्मको सक्रिय जीवन समाजका लागि हो ।’ धेरै वृद्धहरुले मर्नुअघि आफन्तलाई सिकाइसजाई गरेको तथ्य समाजमा छ । सबैका गुरु नारायणप्रसाद शर्माको पनि त्यही नहोला भन्न सकिन्न । समाजको आवश्यकतालाई हेर्दा सधैं बाँचिदिए हुन्थ्यो भन्ने लाग्छ । विज्ञानको नियम जुन कुनै अवस्थामा पनि स्वीकार्नुपर्छ । अलिकति सोच्नुपर्ने कुरा उनलाई सहयोग गर्ने समय भने यही हो । केही कुरा लिनु छ भने पनि धेरै लामो अवसर बाँकी नरहन सक्छ ।

कतिपय बुढा एवं मानवश्रोतहरु नमरुन्जेल जीवनमा कमाएको मानसम्मानको व्याजबाट सन्तुष्टि लिएका हुन्छन् । उनीहरु समाजका अपेक्षित प्रेरणाका श्रोत बन्न सक्दैनन् । नातागोता र छिमेकमा सीमित हुन्छन् । खाली सामन्त बन्छन् । परिवार, आफन्तजन र हेराला धरालाहरुलाई सताउने बोझको रुपमा पनि । आफु सक्त हुँदै नाटक गरेर सताउनेहरुको ठाउँमा शर्मालाई हाल्न सकिन्न । जीवनपछि धेरैका कलमले यो शब्द वाक्लान् । मात्रै मैले जीवन छँदै लेख्ने हतारो गरें । दंगाली साहित्य र पत्रकारिताको इतिहासमा शर्माको योगदान अतुलनीय छ । त्यो पनि वर्गदीको घरमा भेटिनेछ । शर्माको नाम लिनेहरु एकपटक वर्गदी पुग्नेछन् । त्यहाँका समाजसँग सोध्नेछन् । हुर्के बढेको घर आँगन हेर्नेछन् । तबमात्र उनीहरु आफ्नो उद्देश्य पूरा भएको ठान्नेछन् । त्यो सत्यतालाई आत्मसात गरेर होला शर्मा वर्गदी फर्किएका छन् ।

उनीबाट सिक्ने कुरा धेरै छन् । प्रतिस्पर्धा गर्ने हिम्मत कसैमा छैन । उनका कामलाई धेरै पर–परसम्म खोतलेर नयाँ मान्छे फेरि अर्का गुरु बन्ने होइन । खाली उत्साह र ऊर्जा कसरी आउँछ ? स्वास्थ्यले कति साथ दिन्छ ? यस्तै कुरा लिने हो । उनको सबैलाई थाहा भएको बानी आफन्तहरु कसैको घरमा पनि धित मर्न नदिनु हो । ख्वैं के को छटपटी र कौतुहलता हो ? सबैलाई अच्चम्म लाग्छ । हरेक काम गर्न बल दिने ऊर्जा हो । उनको छटपटी र कौतुहलता । सुख दुःखमा पुगिहाल्ने, कसैलाई सुस्तेको देख्न नरुचाउने, हराएको सुन्न नचाहने शर्मा दैलो–दैलो पुगेर ढोका ढक्ढक्याउँछन् । स्थिर कुनै पनि विषयमा देख्न पाइदैन । यो नै महत्वपूर्ण गुण हो । अहिले वर्गदीमा त्यही प्रयोग भइरहेको छ । नयाँ कुरो थपिएको छ– गाउँप्रतिको मोह ।

akshardham_bargadi_dang‘हामीलाई माया लाग्थ्यो अहिले उहाँले पनि माया गरेर फर्किनुभयो । असाध्यै खुशी लागेको छ ।’ करिब डेढदशक पुख्र्यौली गाउँ फर्किएपछि नारायण गुरुका छिमेकीहरु यसो बताउँछन् । गुरु फर्किएपछि गाउँमा संरक्षक पाएको र अब बिकास निर्माण हुने सम्भावना बढेको उनीहरुको भनाइ छ । गाउँले भन्छन्– ‘गाउँमा पानी ल्याइदिने, डाक्टर बोलाउने, विकास दिने हाकिमहरु घुमाउने आशा गरेका छौं ।’ शर्मा नियमित घरमा बसेमा जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको उनीहरुको भनाइ छ । ‘दुःख बिराम जो परे पनि सेवा गर्न तयार छौं ।’ गाउँबाट शहर पसेपछि केन्द्रसम्म पुगेर फेरि गाउँ–टोलमै फर्किने थोरैमध्ये गुरु पर्छन् । ‘असी काटेपछि जुनी फेरिन्छ’ भनेजस्तै फेरि बालक बनेको रुपमा गाउँलेहरुले लिएका छन् । गाउँ फर्कने योजना बनेपछि खुशीयाली छाएको छ ।

शर्माको पुरानो घरमा माटाका भकारी अझै सुरक्षित छन् । शर्मा घरमा जाँदा आराम गर्न एउटा कोठामा सुत्ने खाट र कम्मल बिछ्याइएको छ । आजभोलि दैनिकजसो शर्मा त्यही जाने र लेखपढ गर्न थालेका छन् । तीन दशकअघिका गरिमादेखि विभिन्न पत्रपत्रिका र किताब खोपा र ¥याकहरुमा छरिएका छन् । प्रकाशित/अप्रकाशित कृतिहरु पनि भेटिन्छ शर्माकै पनि । सबै हेर्दा लाग्छ– दाङको एउटा इतिहास बोलिरहेको छ । सायद शर्माको शेषपछि धेरैको अध्ययन अवलोकन क्षेत्र बन्नेछ । थेसिस लेखिएलान्, डकुमेन्ट्री तयार होलान् । खोज अनुसन्धान र संरक्षणमा चासो देलान् । समाजको यही छ गलत नियम । जीवन छँदै गुरुलाई सन्तोष बनाउन सकेको छैन । अहिले सबैभन्दा असन्तुष्ट उनै छन् । खान नसक्ने अवस्थामा फलफूल बोकेजस्तो नाटक त ठीक नहोला । हर बखत ‘म त्यो ठाउँलाई के बनाउँ ? कस्तो बनाउँ ? समाजका लागि के गरुँ ?’ भनेर हात जोड्दै हिडेको अवस्था छ । दुनियाँलाई खासै चासो छैन । एकपटक त्यही पुगेर सल्लाह नदिनेले भोलि लामो लामो बखान गरेर गोहीका आँसु चुहाउन नमिल्ला कि ?

अहिले समाजका समस्याका बारेमा छलफल गर्न सभाहल बनेको छ । ग्रामीण सर्वाङ्गीण विकासका लागि गाउँले नवउत्थान केन्द्र र शान्ति कृषक समूह गठन गरिएको छ । कृषि, घरेलु उद्योग व्यवसाय, सिंचाई गर्ने, स्थानीयबासीलाई साक्षर गराउने, पत्रकार साहित्यकार तयार गर्नेलगायतका शर्माका सपना छरिएको छ । ‘गाउँका मान्छे खेरिन्छन्, विकास गर्ने भन्नुहुन्छ, नजान्या सिकाइदिनुहुन्छ । उहाँले छोडेदेखि केही भएको थिएन । अहिले राम्रै होला भन्या हो ।’ एक स्थानीयले गुरुको प्रशंसा गरे ।

अहिले करिब १ हजार ५ सय लिटर क्षमताको पानी ट्यांकी निर्माण भएको छ । मोटरबाट पानी तानेर सिंचाई गर्न थालिएको छ । घरबाहिर टहरा निकालेर बस्न योग्य बनाइएको छ । त्यसका लािग करिब १० लाख रुपैयाँ लगानी गरिसकेको शर्माले जानकारी दिनुभयो । बाँकी काम पूरा गर्नका लागि घरपरिवार, आफन्तजन हुँदै सरोकारवाला निकायमा अनुरोध गर्ने उहाँको भनाई छ । गाउँले नवउत्थान केन्द्र अक्षरधाम वर्गदी स्थापना गरिएको छ भने कृषि समूह, अक्षर समूह लगायतका विभिन्न उपसमिति गठन गरिएका छन् । गत भदौ २३ गते स्थापना गरिएको समितिको उद्देश्य ‘स्वावलम्बी सहकारीमूलक समुन्नत समाज निर्माण’ राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *