गिट्टी कुट्न बाध्य हातहरुमा किताब

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 108 Views   ||

badi_balchchha (1)-[जनक नेपाली]
दाङ । खोलामा ढुंगा र हतौडासँग खेल्ने घोराही–८ सेवारखोलाका वादी समुदायका बालबालिकाको दैनिकी फेरिएको छ । बिहान उठेपछि बाआमासँग खोलामा गएर गिट्टी कुट्ने र ढुंगा बोक्ने गरेका उनीहरुका हातमा आजभोलि अंक लेखेका कार्ड र नेपालको झण्डा अंकित चित्रहरु देखिन्छन् ।

आर्थिक अवस्था कमजोर भएर स्कूलसम्म जान नपाएका ती बालबालिकाहरुका लागि बादी सामुदायिक बालबिकास केन्द्रको स्थापना भएपछि उनीहरुको दैनिकी फेरिएको हो । बादी बालबालिकाहरुका लागि जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा अहिले टोलमै सामुदायिक बालविकास केन्द्र खोलिएको छ ।

अभिभावकले गिट्टी कुटेर होटलमा भाँडा माझेर, मजदूरी गरेर मुस्किलले खाना जुटाउने अवस्था भएकाले बालबालिका स्कूल जान नपाएको र बाल विकास केन्द्र स्थापना भएपछि बालबालिकामा पढ्ने बानीको विकास हुँदै गएको सहयोगी कार्यकर्ता रञ्जिता नेपालीले बताउनुभयो । ४७ घरधुरी वादी समुदायका बालबालिका उक्त केन्द्रमा पढ्ने गरेको सहयोगी कार्यकर्ता नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार बालविकास केन्द्रमा अहिले नियमित २५ जना बालबालिकाले अध्ययन गरिरहेका छन् । कक्षा सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयले एक बर्षका लागि शैक्षिक सामग्री खरिदमा एक व्यक्ति बराबर एक हजार रुपैयाँ दिएको र सहयोगी कार्यकर्तालाई मासिक २४ सय रुपैयाँ प्रदान गरेको नेपालीले बताउनुभयो । वादी सामुदायिक बालविकास केन्द्रको स्थापना भएपछि अहिले यस कक्षामा बादी समुदायबाहेक विक, दमाई र अन्य जनजातिका छोराछोरी पनि पढ्न आउने गरेको उहाँको भनाइ छ । नेपालीका अनुसार यस कक्षामा विपन्न तथा जोखिममा परेका त्यस्ता परिवारका छोराछोरी पनि अध्ययन गरिरहेका छन् ।

घरको अवस्था कमजोर भएर बालविकास केन्द्रमै अध्ययन गरिरहेका तथा बाआमा नभएका र संरक्षण नपाएका छ जना बालबालिका दाङका बिभिन्न बोडिङ स्कूलमा अध्ययन गरिरहेको उहाँको भनाई छ । ती बालबालिकाहरुले अहिले अल्फा, राप्ती आमावि, जनज्योति विद्यामन्दिर र हिन्दु विद्यापीठमा निःशुल्क अध्ययन गरिरहेको नेपालीले बताउनुभयो । यसका साथै दुइजना बालबालिका हिन्दु विद्यापीठको छात्रवासमा बसेर अध्ययन गरिरहेको नेपालीको भनाई छ । अहिले यस केन्द्रमा नियमित पढाइ हँदै आएको छ ।

बालबिकास केन्द्रको स्थापनापछि आफ्ना छोराछोरीले पढ्न पाएकोमा खुसी लागेको अभिभावक हरि वादीले बताउनुभयो । आफूले पढ्न नपाउँदा रिक्सा चलाएर जिविका चलाए पनि छोराछोरीले पढ्न पाएकोमा सन्तुष्ट भएको उहाँको भनाई छ । आफ्ना बालबालिकालाई वालविकास केन्द्रको स्थापना भएपछि पढाउन सजिलो भएको भन्दै वादी समुदायका लागि यसैलाई विद्यालयमा परिणत गर्नुपर्ने भनाई उहाँको छ । अन्य विद्यालयमा पढ्न जाँदा अहिले पनि वादी समुदायका छोराछोरीलाई हेला गर्ने भएका कारण आफ्नै समुदायमा विद्यालय स्थापना गरिदिन माग गरेका छन् । यसो त छोराछोरीमात्र होइन आफूहरुजस्ता प्रौढहरुका लागि प्रौढ शिक्षाको व्यवस्थापन गरिदिन जिल्ला शिक्षा कार्यालयसँग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *