महतवा प्रथा पुनःस्र्थापना गरौं

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 157 Views   ||

Santosh_dahit1-[सन्तोष दहित]

नेपालको कूल जनसंख्याको आधारमा चौथो स्थानमा रहेको थारु जाति नेपालको आदिवासी जनजातिमध्ये प्रमुख जाति हो । थारु समुदाय पूर्व मेचीदेखि पश्चिम तराईसम्म फैलिएर बस्दै आएका छन् । खासगरि झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर र सुर्खेत जिल्लामा विशेष गरि  थारु जाति बसोबास गर्दै आएका छन् । थारु जातिको मुख्य बसोबास दाङ जिल्ला रहेतापनि त्यतिखेरको सामन्त शोषकहरुको अत्याचार र दमन सहन नसकी ‘ब्रुहान’ बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत हुँदै पूर्व झापासम्मको तराईमा रहेका जिल्लामा थारु समुदाय छरिएर बस्दै आएको पाइन्छ । अहिले ती सबै जिल्लामा थारु जातिको बाक्लो उपस्थिति रहेको छ ।

थारु समुदायको आफ्नै छुट्टै किसिमको मौलिक भाषा, संस्कृति भेषभुषा, चालचलन तथा रीतिरिवाज रहेको छ । साँस्कृतिक रुपले पनि नेपालको सबैभन्दा धनी जातिको रुपमा चिनिन्छ थारु समुदाय । थारु जातिको मुख्य पेसा  कृषि भएता पनि अहिले भने सुस्त–सुस्त यो पेसा छोडेर नयाँ पेसा अंगाल्दै आएको पाइन्छ ।

थारु जातिको ग्रामीण क्षेत्रमा आफ्नै सांगठनिक संरचना रहेको छ । सामूहिक भावना बोकेको थारु जाति नेतृत्वको आधारमा पनि उत्तिकै अनुशासित रहेको पाइन्छ । त्यसैले होला सिंगो गाउँको एक जना मात्र व्यक्तिले अगुवाई गर्दै आएको पाइन्छ । ती हुन् महतवा, वरघर, भलमन्सा । महतवा, वरघर, भलमन्सा भन्ने शब्द फरक–फरक भए पनि काम भने एउटै हो । दाङमा महतवा भन्छन् भने बाँके, बर्दियामा वरघर । त्यसैगरि कैलाली र कञ्चनपुरमा भलमन्सा भनिन्छ । महतवाहरुले मलामीदेखि लिएर गाउँको विकाससम्मको अगुवाई गर्दै आएको पाइन्छ । यति मात्र नभएर उनीहरुले गाउँको न्यायाधीशको भूमिकासमेत खेल्दै आएको पाइन्छ । तर थारु समुदायको परम्परागत महतवा प्रथा अहिले हराउदै गएको छ, विघटन भएको छ ।

केही वर्षअघि मात्र थारु गाउँमा सम्पूर्ण  विकासको लागि महतवाले योजना बनाउँदै आएका थिए । यसैगरि गाउँमा कसैको घरमा मान्छे मरेको छ भने त्यो लासलाई जलाउने कि गाड्ने अर्थात् कुन ठाउँमा लाने सबै महतवाले भनेबमोजिम हुने गरेको थियो । गाउँमा घर छुटिने बेला, कसैको बिहे गर्ने बेला होस् या झैं–झगडा भएको बेला सबै काम महतवाले मिलाउँदै आएको थिए । त्यतिबेला महतवाले बोलेपछि गाउँको मान्छे केही नबोलेर महतवाले भनेको काम गर्नुपथ्र्यो । निकै कडा अनुशासनको नियम लागू गरिएको हुन्थ्यो थारु गाउँमा त्यतिबेला । त्यो पनि गाउँका सबै  अगुवा ‘गरधु¥या’हरुले मिलेर बनाएको कानून हुन्थ्यो । वर्षमा एकपटक छानिने महतवालाई एक वर्षको कार्यकाल हुने गरेको थियो । थारु समुदायले आफ्नो नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्षको माघ १ गतेका दिन महतवा छान्ने काम गर्थे । महतवा छान्ने बेला जहिले पनि प्रजातान्त्रिक पद्धतिबाट चयन गरिन्थ्यो । त्यही महतवा छान्ने बेला महतवालाई त्यो अधिकार दिइन्थ्यो ।

थारु समुदायमा प्रत्येक वर्ष माघ १ गतेको दिन वर्षभरिको कार्ययोजना तथा बितेका वर्षको समीक्षा गर्ने गर्दछन् । हरेक पूजाआजादेखि गाउँका बाटोघाटो मर्मत, सिंचाईसम्मको पनि महतवाले हेर्दै आएका थिए । यतिमात्र नभएर गाउँको कुनै मान्छे बिरामी भएपछि महतवाले ऋण खोजी दिनुपर्ने, अप्ठ्यारो परेको बेला बेगारी ‘मद्दत’ पठाइदिने जस्ता काम महतवाले गर्दै आएका थिए । महतवालाई सघाउनको लागि दुइ जना अरु व्यक्तिलाई पनि महतवा छानेको दिन छानिने गरिन्छ । जस्तै अगुवा ‘अघवा’ र चौकीदार ‘चौकीड¥वा’ यी दुइजनाको सहयोगमा सिंगो गाउँ महटवाले हाँक्नुपथ्र्यो । त्यतिबेला महतवाको दाहिने हातको रुपमा ‘अघवा’लाई चिनिन्थ्यो भने वायाँ हातको रुपमा चौकीदारलाई चिनिन्थ्यो । तथापि ति दुवैजनालाई भने सम्मान व्यवहार गरिन्थ्यो । अघवाको काम महतवाले बैठक, छलफल कार्यक्रम राखेपछि गाउँको अगुवा अर्थात् ‘गरधु¥या’हरुलाई खबर गर्ने, त्यसैगरि कुनै नयाँ योजना आयो भने गाउँमा जानकारी दिनेजस्तै सरकारको सञ्चारमन्त्री जस्तै काम गर्नुपथ्र्यो । त्यस्तै बाटो मर्मत गर्नुपर्ने खण्डमा, कुलो सिंचाई गर्नुपरेमा, बाँध बाँध्नुपरेमा गरधु¥याहरुलाई काममा लगाउनेजस्ता ‘अघवा’ को काम हुने गरेको थियो । त्यसैगरि चौकीदारको काम गाउँको रेखदेख गर्ने, अन्नबाली हेर्ने, सम्पूर्ण गाउँको सुरक्षाको काम चौकीदारले गर्थे ।

महतवालाई अर्का शब्दमा भन्दा हाल गाविसको सचिव अर्थात् त्यतिखेरको प्रधानभन्दा केही फरक नपर्ला । तर आजभोलि त्यो प्रथा भने थारु समुदायमा हराउँदै गाएको छ । खासगरि तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वकालबाट थारु समुदायमा महतवा प्रथा हराउँदै गएको थारु अगुवाहरुको मुखबाट सुन्न पाइन्छ । यति महत्व बोकेको महतवा प्रथा हराउँदा थारु बस्ती रहेको गाउँमा सारा विकासदेखि अन्य कामसमेत अहिले अस्तव्यस्त रहेको पाइन्छ । पहिले महतवा हुँदा सबै महिनौं दिन लाग्ने काम एकै हप्तामा सकिन्थ्यो । त्यसैगरि महतवा हुँदा गाउँको सुरक्षा, गाउँको रेखदेखदेखि लिएर पूजाआजामा पनि निकै राम्रो हुने गरेको थियो तर अहिले त्यो अवस्था छैन । जुन कारणले थारु समुदायमा गरिने मौसमअनुसारको पूजाआजा समेत हराउँदै गएको छ । त्यसैगरि मौसम अनुसार गाइने गीत, नाचहरु पनि लोप हुने अवस्थामा छन् । गाउँको साझा वस्तुको रुपमा रहेको देउठन्वाहरु भताभुंग हुने अवस्थामा छन् । गाउँको कुला नाला धास्सिएका छन् ।

त्यसैले यी अवस्थालाई व्यवस्थित गर्नको लागि पनि हाल विघटन भएको महतवा प्रथा पुनस्थापना गर्न जरुरी रहेको देखिन्छ । यदि महतवा प्रथालाई पुनःस्थापना गर्न सक्ने हो भने थारु जातिको ठूलो पहिचान हुन सक्छ । यति मात्र नभएर आउने भावी पुस्ताहरुको  लागि अध्ययनको विषय वन्न सक्छ । त्यसैले पनि राज्यले महतवालाई सक्रिय बनाउनको लागि राज्यको हरेक तहतप्कामा सहभागी गराउन जरुरी रहेको छ । केन्द्रीय स्तरदेखि स्थानीय स्तरसम्म किन नहोस् अनिवार्यरुपमा महतवाहरुको प्रतिनिधित्व गराउन आवश्यक छ । स्थानीयस्तरमा त झन् महतवाहरु बिना कुनै पनि काम अगाडि बढ्न सक्दैन । अहिले थारु समुदायको आर्थिक, सामाजिक र राजनीतिक विकासको लागि महतवा प्रथालाई निरन्तरता दिन जरुरी छ । यस विषयमा राज्यले महतवा प्रथालाई पुनस्थापनामा ल्याउनको लागि ठोस योजना बनाएर महतवा कार्यक्रम ल्याउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *