बादी बस्तीको सामुदायिक भवन अलपत्र

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 116 Views   ||

दाङ, फागुन १९ । घोराही–८ सेवारखोलामा रहेको बादी समुदायको सामुदायिक भवन बजेट अभावमा अलपत्र परेको छ । बादी समुदायका बालबालिका लाई पढाउनका कक्षाकोठाको अभाव भएपछि बनाउन शुरु गरिएको भवन पैसा नहुँदा अहिलेसम्म बन्न सकेको छैन ।

टोलका बादी समुदायका बालबालिकालाई पढाउने, बैठक, छलफल गर्ने सभाहल नभएकाले सामुदायिक भवन बनाउन थालिएकोमा कतैबाट सहयोग नहुँदा अलपत्र परेको निर्माण समितिकी सचिव रञ्जिता नेपालीले बताउनुभयो ।

टोलबासीले गिट्टी कुटेर, रिक्सा चलाएर जम्मा गरेको १७ हजार ४३ रुपैयाँ र घोराही नगरपालिकाको ३४ हजारले भवनको बिम ढलान मात्र गरिएको भन्दै रञ्जिताले अरु सहयोग कतैबाट नाएपछि भवन निर्माणको काम त्यत्तिकै रोकिएको जानकारी दिनुभयो । भवन निर्माणका लागि नगरपालिकाको सहयोगका अतिरिक्त स्थानीय दुर्गाभवानी टोल विकास संस्थाका उपभोक्ताहरुको श्रमदान गरेको उहाँको भनाई छ ।

भवन निमार्णका लागि पटक–पटक सहयोग मागे पनि बादी समुदायको समस्या समाधानका लागि कसैले चासो नदेखाएपछि टोलबासी आफैले केही काम गरेको रञ्जिताले बताउनुभयो । ‘खानेपानीका लागि जिविस र आरआरएनमा एक वर्ष अघि नै निवेदन दिएका थियौं, रंजिताले भन्नुभयो– ‘अहिलेसम्म कसैले केही वास्ता गरेका छैनन्, अब त टोलबासी आफैले श्रमदान गरेर स–साना काम गर्न थालेका छौं ।’

खानेपानीका लागि निकै समस्या रहेको र कसैले चासो नदिएपछि टोल विकास संस्थाका उपभोक्ता र ५० घर बादी समुदायले श्रमदान गरी इनार खनेको उहाँले बताउनुभयो । ‘धेरै अनुरोध ग¥यौं तर कसैले सहयोग नगरेपछि आफै सार्वजनिक इनार खनेका छौं, उहाँले भन्नुभयो– ‘माथि मान्छे जलाउँछन्, त्यहीबाट बगेर आएको पानी पिउन बाध्य छौं हामी ।’ इनार खने पनि ५० घरपरिवारलाई एउटा इनारको पानीले सबैलाई नपुग्ने भन्दै उहाँले अझैं पनि खानेपानीको समस्या भएको बताउनुभयो ।  सेवार खोला किनारमा रहेका बादी समुदायका बासिन्दाले सेवार खोला बीचमा बालुवा पन्छाई जरुवा बनाए पनि मान्छे पोलेको रसपस सबै जरुवामा मिसिने गरेकोले समस्या भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *