मदानीमा चन्द्रसूर्य लिएर आए सरोजराज

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 116 Views   ||

Saroj-janaubhar1दाङ, फागुन १९ । सधैंजसो साहित्यको चर्चा परिचर्चा गरिने मदानीमा शनिबार भने पत्रकार सरोजराज अधिकारी देखिनुभयो– ‘चक्रव्यूहमा चन्द्रसूर्य’ लिएर । विदेशीहरुको षड्यन्त्रमा कसरी फस्दैछ नेपाली चन्द्रसूर्य भन्ने पर्दाभित्रका खेलखण्डहरु उजागर गर्दै अधिकारीले पुस्तक लेखनीका अनुभूति सुनाउनुभयो । मदानी साहित्य समूह नेपालले शनिबार घोराहीमा लेखक पत्रकार अधिकारीलाई उपस्थित गराएको थियो– देशको तरल राजनीतिले उब्जाएको वैदेशिक हस्तक्षेप र नेपाली राजनीतिको नियति उजागर गराउन ।

कार्यक्रममा लेखक सरोजराज अधिकारीले देशभित्र हुने गरेका विदेशी चलखेल र देशकै नेता, वरिष्ठ अधिकारीले विदेशीहरुसँग गर्ने कुराहरु सर्वसाधारणलाई जानकारी गराउन आफूले ‘चक्रव्यूहमा चन्द्रसूर्य’ लेखेको बताउनुभयो । देशको आन्तरिक सुरक्षा र संवेदनशीलता ख्याल गर्दै देशका नागरिकलाई सही सूचना दिनु पत्रकारको धर्म भएको भन्दै अधिकारीले पुस्तक लेखिसकेपछि आएका चुनौती सामना गर्न आफू पाठकसमक्ष आएको बताउनुभयो । ‘पत्रकार हुँ भन्नेले थ्रेट हुन्छ भनेर केही पनि बाहिर नल्याउने हो भने के को पत्रकारिता गर्ने, उहाँले भन्नुभयो– ‘चुनौती र अप्ठ्याराहरुसँग जुध्ने शक्ति पाउनका लागि तपाईंहरुमाझ आएको हुँ ।’

शीर्ष नेताहरुको बैठकका खबर सार्वजनिक गर्न पत्रकार दिनभर बैठकस्थल कुरेर बस्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो– तर, बैठकस्थल पस्नुअघि नै नेताहरुले गुप्तचर निकाय र दुताबासमा बैठकका निर्णय बुझाइसकेका हुन्छन् । यस्तो पो छ हाम्रो नियति ।’ सुरक्षा संवेदनशीलताका गोप्य प्रतिवेदनहरु सार्वजनिक गरिदिँदा देशलाई घाटा हुँदैन र भन्ने पाठकको प्रश्नमा लेखक अधिकारीले भन्नुभयो– ‘विभिन्न आयोगका प्रतिवेदनहरु जसबाट बचाउनुपर्ने हो, त्यहाँ पहिले नै तयार पार्नेहरुले नै बुझाइसकेका हुन्छन् अनि तिनलाई लुकाउनुको के अर्थ, मैले त पुस्तकमा लेखेर सर्वसाधारणलाई सुसूचित गराएको मात्र हुँ ।’ प्रतिवेदन तयार हुनुबित्तिकै विदेशी निकायलाई बुझाइने भन्दै लेखक अधिकारीले कर तिर्ने नेपाली जनताले कहिल्यै हेर्न नपाउने दस्तावेजहरु आफूले पुस्तकमा लेखेर उजागर मात्र गरेको बताउनुभयो ।

अग्रज पत्रकार सुशील गौतमले स्पष्ट विदेश नीतिको अभावले नेपालमा विदेशीहरुको बढ्दो रजाँई अनि यहाँको सरकार, नेता र वरिष्ठ अधिकारीहरुको हविगतलाई पुस्तकले पर्दाफास गरेको बताउनुभयो । पुस्तकमा विदेशीहरुले आफ्नो स्वार्थ पूरा गर्न नेपाली भूमि र नेपालका नेता, सुरक्षा निकायहरुलाई कसरी प्रयोग गर्छन् भन्ने विषय उजागर गरेको उहाँले बताउनुभयो । कार्यक्रममा मदानी संयोजक बसन्तविवश आचार्यले पुस्तक पढेपछि आफूलाई नेपाली भएकोमा गर्व होइन हीनताबोध भएको बताउनुभयो । कार्यक्रमको संयोजन तथा सञ्चालन मदानी अभियन्ता टीका बस्नेतले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *