तिमीलाई सम्झेर
हाँसु कि रोउँ यो पल
दोबाटोमै अलपत्र वटुवाजस्तै
अक्मक्किएको छ मन
देखिदैन घाउ
तर दुख्दोरहेछ भित्रभित्रै
तिमी ढलेको समय
बल्झिएको त्यो घाउ
अझैं बल्झिरहेछ ।
मधुर मुस्कानमा होस् या
लर्खराइरहेको ओठहरुले होस्
समवेदित भावमा होस् या
आक्रोशित मुद्रामा
तिमीसँगको भौतिक आलिङ्गन
टाढा–टाढा भइरहेछ
लाग्छ, क्षितिजमा मात्रै उदाइरहेछौ तिमी
त्यो लालीमा मात्रै झुल्किरहेछौ
यसबेला म
तिम्रै वियोगले छटपटाइरहेछु ।
तिमीले छोडेर गएपछि
तिम्रा अधुरा सपना÷क्रान्तिको अपूरो यात्रा
पूरा गर्ने कसम खाएर
हिडिरहेछु अझैं म
तिम्रो महान बलिदानको जगमा
अडिएको छ– नयाँ धर्ती
तिम्रो सहादतको जगमा
क्रान्तियात्रा झन् पेचिलो बन्दैछ ।
विडम्वना !
तिम्रा सहयात्रीहरु आज
नदीका दुई किनारा बनेका छन्
तिम्रो यात्रामा काँडेतार बिछ्याउनेहरु पनि
सल्बलाउन खोज्दैछन् कतै–कतै
तिम्रो अनुपस्थितिमा अझैं अधुरो छ
हाम्रो महान् संकल्पको यात्रा ।
यतिखेर म
तिम्रो सपनाको झोला बोकेर
अनकन्टार भीरको बाटो कुदिरहेछु ।
–२०६९ साउन ९ काठमाण्डौं