कुर्सी र सपना

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 133 Views   ||

Suryanath Sapkota-[सूर्यनाथ सापकोटा]

‘आजभोलि नेताहरुले के गर्दैछन् ?’
‘वेवारिसे देश बनाउन व्यस्त छन् ।’
‘उसो भने तिनीहरु ज्यूँदा शहीद हुन् ?’
‘नत्र के ?’
‘मैले त तिनीहरु सदन भत्काएर सडक बनाउने महान नेता पो सम्झेको हँु ।’
‘किन ?’
‘संविधान बनाउने खेती सदनबाट होला र ?’
संविधान बनाउने नाटक मञ्चन गर्ने खेल पो यहाँ हुन सक्छ, सदन भनेको त संविधान बनाउने भजन मात्र हो ।

कुरा गर्दागदै दुवै एउटै सहमतिमा आएर गद्गद् भए, खुसीले हाँसे अनि यहाँका पण्डितहरुले झैं पानी नआउने विकासे धारामा नुहाएझैं भने– हरर काँशी । सडकमा तरकारी बेच्ने कृषकले झैं भने पनि आजभोलि नेपाल बन्द राजनीति नभएर फलाना ठाउँमा सडक दुर्घटना भो । बरु संविधानसभालाई पुनर्जीवन दिन नेपालै बन्द गर्ने कार्यक्रम ल्याऔं अनि त फराकिलो सडकमा गाडी चल्ने कुरा आउँदैन, कमिलासरह मान्छे हिड्न पाउँछन् । सडक दुर्घटनाबाट मान्छे जोगिन्छ यो नै हाम्रो महान कार्य हुन्छ ।

उनीहरु दुवैले सहमतिमा कुरा फेरे । साँच्चै उनी फेरि प्रचण्ड बाबुझैं महान बनेर गमक्क परे । बाबुरामझैं उनी कुर्सी राजा भए । देशमा फेरि नयाँ हलचल आयो ।

यो वृतान्त हो एउटा नयाँ होटेलभित्र ग्राहकहरु भरिभराउ छन् । जसरी सदनभित्र नेताहरु खचाखच बसेर अस्ति भर्खरसम्म कुरा मात्रै गर्थे, कुरा कसैका सुन्दैनथे । बरु सदनको भत्ताको मातले हातपातै गर्छन्झैं गर्थे । जब सदन मच्चिदा–मच्चिदा भत्किन बाध्य भो अनि त्यही सडक उपस्थिति भो । एकले अर्कालाई काबु गर्ने हिसाबले आ–आफ्ना पार्टीका वाणी क्षेप्यास्त्र हान्न शुरु गरे । कुर्सी युद्धका लागि फेरि अर्को जनयुद्ध शुरु हुन थाल्यो । सडकमा आन्दोलनको भँुइचालो पस्यो । अनि नयाँ नेपाल बनाउन एनजीओहरुले पनि राजनीतिको जालो फिजारे । एकाएक पार्टी नेताहरुको घरमा राजनीतिक भोज शुरु भो । अनि त्यहाँबाट निस्केर सडक आन्दोलनले शक्तिकेन्द्रहरुको आडमा ठूलै उत्सवको मौसम ल्यायो । त्यो मौसम यसरी तन्कियो कि त्यसका जराहरु भारतदेखि अमेरिका र अमेरिकादेखि चीनसम्म फैलिन थाले । अनि त देशमा नयाँ नेपाल बनाउने सपना ओइरिन थाल्यो । सहमतिको राजनीति फेरि शुरुवात भो । त्यही सहमतिभित्र प्रधानमन्त्रीको कुर्सीमा प्रधानन्यायाधीश बनाउने नयाँ प्रस्ताव पो आयो । पार्टी नेताका पेटमा कुर्सीको ठूलै आन्दोलन थ्यो, त्यसले कुनै पार्टीका नेतालाई प्रधानमन्त्री बाबुराम भट्टराईको कुर्सीमा बसाउने योजना बन्यो । कठै यो प्रचण्ड प्रस्तावले त्यो आन्दोलन यसरी तुहियो, जसरी टेकु खोलाको फोहर भेल पवित्र बाग्मतीमा पसी पण्डित बाजेको आङ धोयो । अनि उसले हरर काँशी भन्दै बाहिर निस्क्यो र यो नेपाल सफा सुन्दर भो भनेर बिहानी सगरमाथाझैं फेरि हाँस्यो । फेरि आन्दोलन प्रधानन्यायाधीशको इजलासमा पुगेर बिन्ती गर्न थाल्यो– हजुरका लागि बाबुरामज्यूको कुर्सी छट्पटाएको छ, विराजमान हुनुप¥यो त्यहाँ ।

न्यायको हाँसो अँध्यारोमा बिजुली चम्केझैं भो । क्या गजब भो । उहाँले न्यायपूर्ण तरिकाले चड्केनीलेझैं सोध्नु भो– ‘सधैं पार्टीको सहमति त छ ?’

बाबुरामको कुर्सीमा पार्टीहरुको सहमति ! आन्दोलन चकमन्न प¥यो । डरले हो कि करले हो केही बुझ्न सकिएन । आन्दोलन त्यहाँबाट फरक्क फर्केर फेरि प्रचण्डको सामू झुल्क्यो । प्रचण्ड गमे– यो लामखुट्टे जस्तो आन्दोलन किन फेरि जिस्काउन आयो । यसलाई कसरी तह लगाउने बाबुरामको कुर्सीले मेरो टाउको खानसम्म खायो । यो बेला गिरिजाबाबु भएको भए एउटा उपाय त सुल्झन्थ्यो । किनकि उहाँसँग ग्रायण्ड डिजाइन पनि थियो । अहिले त्यो कहाँ होला ? उनले मनमा शंका गरे– सुशील कोइरालासित छ कि ? उनी पनि पानीले भिजेका बिरालाजस्ता छन् । कतै ग्राइन डिजाइनलाई शक्तिकेन्द्रले आलु बनाएर त खाएन ? अथवा ग्राइन डिजाइन सुजातासित पो छ कि ? उनको दिमाग गोलचक्करमा पर्दै थियो । माधव नेपालका जर्रा जुंगा मुसार्दै उनले मोहन वैद्य सम्झन पुगे । आखिर राजनीतिका डाक्टर उनै त हुन अहिले । सायद सुजाताको जिम्मा भएको ग्राइन डिजाइन वैद्यले चोरेका छन् कि ? आखिर माक्र्सको चिन्तन चोरेर नेपालमा खाँटी कम्युनिष्ट बन्ने प्यास सबै कम्युनिष्ट पार्टीहरुमा छ । उनको दिमाग अब रिलझैं पो घुम्न थाल्यो अनि आफूलाई थाम्न नसकेर उनी उनै बाबुरामको कुर्सीनजिक पुगी सोधे– अब मेरो अगाडि उपस्थित भएको जनआन्दोलनलाई कसरी पन्छाउँ ? सहमतिको राजनीति चलाउन बहुतै गा¥हो पो भयो काम्रेड ।
उनले खुसुक्क कानमा भने– प्रधानन्यायाधीशज्यूले शर्त राख्नुभएको छ, त्यो शर्त पार्टीका लागि महाभारत हो । म कुर्सीराम हुन्छु हजुर झल्लाराम हुनुस् । अरे राजनीति चलाउन नयाँ नेपाल बनाउनेझैं गा¥हो छैन । प्रचण्डज्यू खुसीले खडेरीको घामझैं हुनु भो । आन्दोलन नेपालको लू झैं फेरि पनि फक्र्यो त्यहाँबाट । अनि खुसुक्क बस्यो यही होटलको गफमा । सबैका हात–हातमा चियाको गिलास थियो । चिया खाएपछि त्यो पनि रित्तो भयो । अनि मैले भने– नेपालको राजनीति चिया गिलासझैं रितो भयो । जनता पनि चिया खाएका रित्ता गिलासझैं भए । मेरा कुरा सुनेर सबै हाँसे हाहाहा । मैले फेरि भनें– आन्दोलन सफल भो । सबै होटलका ग्राहक एकैसाथ बोले– यो नयाँ नेपाल बनाउने नेताहरुको कुर्सी सपना हो ।
२०६९ फागुन १५

Leave a Reply

Your email address will not be published. Required fields are marked *