नाकामा भारतीय सुरक्षा बलको ज्यादती

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 140 Views   ||

SSB_nakama-[जनक नेपाली]
दाङ, फागुन २१ । जनताको बलले युगौं पुरानो सामन्ती व्यवस्था ढल्यो । देशमा शासन व्यवस्था परिवर्तन भयो । तर, सीमा क्षेत्रमा बस्ने नेपालीहरुले भने बषौंदेखि भारतीय सीमा सुरक्षा बलको ज्यादती जस्ताको तस्तै छ । दाङको नाका क्षेत्रमा बस्ने नेपालीहरुले अहिले पनि आफ्नै भूमिमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती र अपमान सहेर बस्नुपर्ने बाध्यता रहेको छ ।

गत सातामात्रै खाङ्ग्रा नाका पुग्दा दशगजा क्षेत्रभित्रमा नाकाबासी नेपाली जम्मा भएका थिए । नजिकै नेपाली भूमिबाट सीमा सुरक्षा बलका जवानहरु ढुङ्गा टिप्परमा ओसारिरहेका थिए । भारतीय नागरिकले नेपाली छोरी, चेलीहरुलाई जिस्काउँदै हातपात गरिरहेका थिए । त्यो दृष्य देख्दासमेत ती दिदीबहिनीका बाआमाहरु बोल्न सकिरहेका थिएनन् । ‘यो हाम्रो बाध्यता हो, यही निरीह जीवन बाँच्नुपर्दा आफूलाई मान्छे हौं जस्तो पनि लाग्दैन ।’ खाङ्ग्रावासी डम्मरबहादुर थापाले बताउनुभयो । बसोबास नेपालमै भए पनि दैनिक गुजारा भारतबाट चल्ने भएपछि भारतीय सीमा सुरक्षा बलले नेपाली बस्तीमाथि गर्ने हरेक क्रियाकलाप र ज्यादती स्वभाविक ठानेर पचाउन बाध्य भएका छन् नाकावासी । ‘उनीहरुलाई कही कतैबाट रोकतोक र कार्वाही नहुने भएपछि हामीले के गरि रोक्न सक्छौं र उनीहरुको ज्यादती ?’ थापाले प्रश्न गर्नुभयो ।

२०२७ सालदेखि खाङ्ग्रानाकामा बस्दै आएका ७० घरपरिवारहरुले अहिलेसम्म पनि एसएसबीको हप्कीदप्कीबाट मुक्ति पाउन सकेका छैनन् । अहिलेको भन्दा जनयुद्धको बेला एसएसबीको रवैया कम भएको भन्दै नाकाबासीले त्यतिबेला शान्तिको अनुभूति गरेको बताए । युद्धका बेला मुस्किलले बर्षमा एकपटक आउने एसएसबीको टोली आजभोलि दैनिक गाउँमा पसेर तरकारीदेखि घरमा पालेका हाँस, कुखुरा, खसीबाख्रासमेत जबर्जस्ती लगिदिने गरेको स्थानीय श्याम रोका बताउनुहुन्छ । ‘एसएसबीले गर्ने बदमासी र घटाएका घटनाविरुद्ध सीमा प्रहरी चौकीलाई उजुरी दिन्छौं तर अहिलेसम्म कुनै कार्वाही भएको रेकर्ड छैन ।’ रोकाले भन्नुभयोे । दैनिक कुटानी, पिसानीदेखि नून, तेल, चामल, कपडालत्ता किन्नसमेत भारतीय बजारमा जानुपर्ने बाध्यताका कारण त्यहाँका बासिन्दा एसएसबीले गर्ने हरेक ज्यादती सहदै आइरहेका छन् । उनीहरुले गरिरहेको ज्यादती नतमस्तक भएर नेपाली पुलिसले हेर्नुबाहेक केही गर्न सक्ने अवस्था छैन ।

दाङको सीमा क्षेत्रमा बस्ने नाकावासीको नेपालको ठूलो बजार भनेको लमही र घोराही नै हो । यहाँ आइपुग्न दुई दिनको समय लाग्छ भने भारतीय बजार पुग्न दुई घण्टामात्र । ‘एसएसबीले आफ्नो भूमिमा दिनमा एकपटक मात्र हिड्न दिन्छ, गाउँमा राति कोही बिरामी परे वा सुत्केरी हुने भए भने भोलिपल्टमात्र अस्पताल जान पाइन्छ ।’ खाङ्ग्रामा बस्दै आउनुभएका स्थानीय श्याम रोकाले भन्नुभयो । नेपालको सीमा अतिक्रमण गर्दै आएको भारतीय एसएसबीले अहिले नेपालको सीमास्तम्भ खांग्रा नाकाको  आधा गाउँसम्म सारिसकेको छ ।

खांग्रानाकाभन्दा ७ किलो मिटर दक्षिणमा रहेको दशगजा क्षेत्र मिच्दै गाउँसम्म आइपुगेको भए पनि त्यस्तो अतिक्रमणका बारेमा कसैले चासो नदेखाएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । ‘नेपालको खेतीयोग्य सारा जमीन भारतले अतिक्रमण गरिसकेको छ, रोकाले भन्नुभयो– ‘अब खाङ्ग्रा बचाऔं अभियानमा लाग्ने सोंचमा रहेका छौं ।’
नाका क्षेत्रमा बस्ती नबसेको भए आजसम्म नेपालको आधा भूमि भारतले कब्जा गर्ने  थियो भन्दै आफूहरु सुकुम्वासी भए पनि सीमारक्षक जनता भएकोे रोकाले बताउनुभयो । ज्यादतीको चरम रुप प्रदर्शन गर्दै आएको भारतीय एसएसबीले केही समययता खाङ्ग्रा नाकावरपर आगोसमेत लगाउने गरेको छ । दुई वर्षपहिले नाकामा उसैले लगाइदिएको आगोबाट १५ घरगोठ, गाई र बाख्रा जलेर नष्ट भएका थिए । मान्छे घरमा नभएको मौका छोपी आगो लगाइदिने भारतीय एसएसबीले नेपाल प्रहरीसँग केही छलफल नै नगरिकन जथाभावी जंगल फडानी पनि गरिरहेको नाकाबासी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *