निःशुल्क स्वास्थ्य शिविरमा बिरामीले आँसु खसाले

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 143 Views   ||

Orek1-[गोविन्द खड्का]
दाङ, फागुन २१ । निःशुल्क स्वास्थ्य शिविर भनेपछि औषधी लिनलाई तँछाडमछाड गरेर जान्छन् । घण्टौं लाइनमा बसेर औषधीको पोको बोकी फर्किन्छन् । तर, ओरेक नेपालले गत साता टरिगाउँको पड्ढामा चलाएको स्वास्थ्य शिविरमा भने बिरामीले आँसु खसाले । शिविरमा आएका ग्रामीण क्षेत्रका महिलाहरुलाई ओरेकका कर्मचारीहरुले अभिमुखीकरण कक्षामा लिए । करिब आधा दर्जनको समूह बनाई फोटोहरु भएको हलभित्र छिराइयो । चारैतिर टाँगिएका पोष्टरले मानव शरीरका विभिन्न अंगका देखाइरहेका थिए भने महिला र पुरुषले आजभोलि गरिरहेका पेसा व्यवसायबारे पनि तस्वीर बोलिरहेका थिए ।

ढोकाको छेउमै महिला र पुरुष नचिनिने मानवको पूरा तस्वीर टाँगिएको थियो । सहभागी महिलाहरुले मान्छे हो भन्ने त थाहा पाए तर महिला कि पुरुष चिन्न सकेनन् । त्यसपछि लिङ्गका बारेमा तस्वीर देखाएर महिला र पुरुष छुट्याउन सके । ‘अरु त सबै उस्तै हुने रहेछ’ भनेर सहभागीले खासखुस गरे । सायद लजाएको हुनुपर्छ । अझ अघि बच्चा जन्माउने तरिकामा गए । अनि त गाली गर्न थाले पुरुष बेइमान रहेछ भनेर । तस्वीरमा भु्रण उत्पादन गर्न पुरुषमा एक्स र वाइ हुन्छ । महिलामा एक्स हुन्छ । पुरुषबाट एक्स आए छोरी र वाइ आए छोरा जन्मिन्छ भनेर ओरेकका कर्मचारीहरुले स्पष्ट पारेपछि सहभागीले भने– ‘छोरी पाएपछि जम्मै महिलाको दोष भन्ने ? पुरुषहरु बेइमान हुने रहेछन् । नबुझ्या कुरा गर्छन् ।’

छोरो जन्माइन भनेर हेला खेपेकाहरुले आक्रोश पोखे, पीडा सहेकाहरुले हलमै आँसु खसाले । ‘सम्पत्ति लुट्न आ’छेस् हात समातेर निकालि दिन्छु भन्छ ।’ टरिगाउँ–४ ठूलोगाउँकी तेजु चौधरी चौधरीले भन्नुभयो– ‘उमेर दिन सबै गयो भन्दै मारे मारोस् फाले फालोस् भनेर बस्नुपरेको छ ।’

त्यस्तै, बच्चा उल्टो पनि हुन सक्छ भनिरहँदा कतिले ‘अस्पताल जानुपर्ने यस्तो पो रहेछ ।’ भन्दै थिए । गर्भ रहेपछि चारपटक जाँच गराउने प्रतिवद्धता जनाए । उनीहरुले जडिबुटी पनि लिएर गए । दुई जनालाई रिफर गरियो । डेढ सय सहभागीहरुमध्ये कसैले पनि ठूलै औषधीको पोको लिएर फर्केनन् । बरु आफ्नै अवस्था तस्वीरसँग दाँजेर आँसु खसाले ।

पुरुष र महिलाले गर्ने कामको भिन्नताका बारेमा देखाएको तस्वीर हेर्दै सानैमा विभेद हुने अवस्था जान्न आँखा खुलेको प्रतिकृया दिए । ‘दुई भाइले बोर्डिङ पढ्छन् । म सरकारी स्कूलमा ।’ पशुपति माविमा अध्ययनरत सुकी चौधरीले गुनासो पोख्नुभयो । यसो त अर्की छात्रा सुस्मा चौधरीले ‘छोरी भई पनि काम गर्न जान्दैनेस्’ भनेर घरमा सधैं हप्काउने गरेको बताउनुभयो । दाइले खेत जोत्ने मात्रै काम गर्ने फुर्सदमा बस्ने आफूहरु भने सबै काम गरेर पढ्न नपाउने अवस्था रहेको सीता चौधरीले बताउनुभयो । शिविरमा आएका धेरैले चित्र हेरेर गुनासा पोखे । शिविरमा सहभागी महिला तथा किशोरीहरुलाई ओरेक नेपालका रचना सुवेदी, इन्दिरा ज्ञवाली, रमा चौधरी, कल्पना चौधरी र सविता चौधरीलगायतले अभिमुखीकरण गराउनुभएको थियो ।

आफूहरुले बिरामीको अवस्था सँगै कारणलाई जोड दिने गरेको ओरेक नेपाल दाङका प्रमुख सरिता भुसालले बताउनुभयो । आफूहरुकहाँ आएका बिरामीको पूरा विवरण लिने, मानसिक र शारिरीक कारण पत्ता लगाई मनोविमर्शकर्ताहरुबाट मानसिक उपचार गरिने उहाँले बताउनुभयो । रोगको अवस्था अनुसार उपचारका लागि दर्जनौं जडिबुटी खेती गरिएको पनि उहाँले जानकारी दिनुभयो । ‘समस्या अभिलेखीकरण गरेर जाँच कोठामा लिन्छौं ।’ अन्तिम अवस्थामा मात्रै एलोपेथिक औषधी दिने र रिफर गर्ने भुसालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *