धामी झाँक्रीलाई स्वास्थ्य तालिम

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 128 Views   ||

-[मेगराज खड्का]
रुकुम, फागुन २१ । धार्मिक अन्धविश्वास हटाउन जिल्लाका सम्पूर्ण धामीझाँक्रीहरुलाई स्वास्थ्य तालिम दिन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र म्याक्स–प्रो रुकुमको साझेदारीमा जिल्लाका ४३ वटै गाविसमा धामी झाँक्रीहरुको लागि अभिमुखीकरण सञ्चालन गरिएको छ । सर्वसाधारणले बालबालिकामा देखिने स्वास्थ्य समस्या धामीझाँक्रीहरुलाई देखाउने गरेका कारण यस्तो तालिम सञ्चालन गरिएको हो ।

तालिमका क्रममा देवीदेवता र भुतप्रेतले बालबालिका बिरामी नपर्ने भएकाले आफूकहाँ आउने बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा लैजान सल्लाह दिन धामीझाँक्रीहरुलाई सुझाव दिने गरिएको छ । जुनसुकै बिरामीको ज्यान बचाउन उनीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने आशासहित जिल्लाभर तालिम सञ्चालन गरिएको म्याक्स–प्रो रुकुमका संयोजक मनोज लामिछानेले बताउनुभयो ।

त्यस्तै, भिटामिन कमी भई कुपोषण भएका बालबालिकामा देखिने लक्षणहरुका बारेमा धामीझाँक्रीहरुलाई सिकाउने गरिएको पनि लामिछानेले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयमा बाल भिटामिनको कमीका कारण ८० प्रतिशतभन्दा बढी बालबालिका कुपोषणको शिकार बन्ने गरेको तथ्याङ्क छ । बालबालिकालाई भिटामिनको कमी हुन नदिन अभिभावकहरुलाई सचेत पार्न आवश्यक रहेकोले विभिन्न आमा समूह र स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यहरुलाई पनि तालिम दिने गरिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *