मनजस्तै
भत्किएको आँगन पोतेर
उषालाई चारो हाल्छिन्– आमा ।
ट्वाल्ल हेरिरहेको पुरानो स्कुलको
चौकोसबिनाका ढोकाहरुबाट
मुस्कुराउँछन् टुुहुराहरु अचेल ।
एकाबिहानै जाँतोको हार्मोनियममा
सरगम मिलाउँछन् मैनाहरु
भोकलका प्रशिक्षार्थीजस्तै ।
रगतको छिर्का लागेका बेसारका पातहरु
पहेँलिएर झरिसक्दा पनि
सङ्लो नदी किनारमा
डुङ्गा अड्याएर मान्छे पर्खिरहेको माझीजस्तै
अझैं दिशाहीन छ देश ।
पहिलोपटक
प्याराग्लाइडिङमा उडेको पर्यटकजस्तै
कहालिएको छ संक्रमण समय
बारम्बार धक्का महसुस छ
सम्झौताहरुमा गएको भुँइचालोको ।
साकिराका गीत मोबाइलमा सुन्दै
हिडिरहेछ एक युवक
आफ्नै कालो छाँया हेर्दै–हैर्दै
बन्द सडकको किनारै किनार
अचानोको मन लिएर उडिरहेछन्
पहाडै पहाडको ऐतिहासिक सहर नाघेर
तातो रगत बोकेका जहाजहरु
सपनाको सुन्दर खाडीहरुतिर ।
सम्झदै बिर्सदै
खोजिरहेछ विम्बहरु
मस्तिष्कका पानाहरु पल्टाउँदै
लोडसेडिङमा– एउटा कवि ।
सपनाहरुको भग्नावशेष लिएर
जिल्ला प्रशासनतिर धाउँछन् गाउँहरु अचेल
अभिलाषाको निवेदनमा
तोक लगाउन– शिक्षा, स्वास्थ्य, सुरक्षा, अरु के–के
प्लेकार्ड बोकेर सडकपेटीमा खस्छ आधा आकाश
तर हत्यारो हिउँदको चौकमा सल्काएर
हासमी र बिन्दुहरुलाई
तापिरहेछ न्यानो कठोर काठमाण्डौं
साँच्चै दिशाहीन छ देश ।
छातीमा तरबार रोपिदा
निस्किएका चित्कारका अमूर्त गुञ्जनहरु
कता–कता बज्छन् हावाका गिटारहरुमा अझैं
बारुदी धूँवाका फौजहरु
गस्ती गर्छन् बादल बनेर पूर्व–पश्चिम
चुरे पहाडका कलिला टाउकाहरु टेक्दै–टेक्दै ।
लुटिदै गरेको लुम्बिनीमा
बर्बाद बन्दै गरेका बुद्धहरुलाई
ढुकिरहेछन् सोमालियाका गिद्धहरु
देख्दा लाग्छ,
साँच्चै आफ्नै धोतीको फेर
सल्काउन मन लाग्छ
लाग्छ यो सडक हाम्रै त हो ।
फेरि सोच्छु
र फर्किन्छु यही घाइते कुइनेटोबाट
त्यो दूरविगतको जीर्ण क्षितिज
भयावह युद्धग्रस्त मैदानजस्तो
लाग्छ
‘म’ भित्रको सोंच दिशाहीन भएरै होला
अचेल दिशाहीन छ देश ।