-[उदय जीएम]
दाङ । संसारकै होचा मान्छे चन्द्रबहादुर डाँगी शनिबार दाङको तुलसीपुरमा एक फरक भूमिकामा देखिनुभयो । संसारकै होचो मान्छेको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाइसक्नुभएका दाङ निवासी चन्द्रबहादुर डाँगीले प्रमुख अतिथिको आसनबाट ‘इ–पेजेज’ नामक त्रैमासिक म्यागेजिनको विमोचन गर्दै भन्नुभयो, ‘अग्लिरहोस् इ–पेजेज र यसले हरेक मान्छेलाई आँखा देओस् ।’
धेरैजसो मेला/महोत्सवहरुका स्टलमा कैदीको जस्तै भूमिकामा सीमित पारिएका संंसारकै होंचा तर अग्लो व्यक्तित्व चन्द्रबहादुर डाँगीले शनिबार भने प्रमुख अतिथिको रुपमा जिल्लाबाट प्रकाशित द्वैभाषिक शैक्षिक पत्रिका ‘इ–पेजेज’ त्रैमासिकको विमोचन गर्नुभएको थियो । मन्तव्यको क्रममा उहाँ धेरै बोल्नुभएन । यत्ति भन्नुभयो, ‘इ–पेजेज सबैले पढून् । देशविदेशमा पुगोस् । यो अग्लिरहोस् । यसले सबैलाई आँखाको ज्योति देओस् ।’
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले सामग्री, साजसज्जा र कागजको दृष्टिले जिल्लाको शैक्षिक पत्रिका प्रकाशनको इतिहासमा ‘इ–पेजेज’ त्रैमासिक म्योगिजन आउनु एउटा छलाङ भएको बताउनुभयो । ‘शैक्षिक पत्रिका प्रकाशनको दृष्टिले इ–पेजेजको प्रकाशन एउटा छलाङ हो’, जिल्ला शिक्षा अधिकारी शाहले थप्नुभयो, ‘यस्तैगरी दाङको शैक्षिकस्तर वृद्धि गर्नेतर्फ पनि छलाङ हान्न सबै पक्षको ध्यान जानुपर्छ ।’ शिक्षासँग सम्बन्धित धेरैभन्दा धेरै विषयवस्तुलाई समेट्न पत्रिका सफल रहेको धारणा उहाँले बताउनुभयो । जिल्ला र समग्र नेपालको शैक्षिकस्तर उठाउन पत्रिकाले सबै पक्षमा ध्यान दिनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
पत्रिकाको समीक्षा गर्दै कान्तिपुर दैनिकका समाचारदाता दुर्गालाल केसीले विषवस्तुहरुको उठान, तिनलाई दिइएको स्थान र साजसज्जा उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।
पत्रिकाका प्रकाशक/प्रबन्ध सम्पादक सुरेन्द्र जीसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष नरेन्द्र केसी, पूर्व शिक्षा सहसचिव विष्णुकुमार देवकोटा, राप्ती बबई क्याम्पस तुलसीपुरका प्राचार्य राजेन्द्रकुमार पाण्डे, हाम्रो पहुँच एफएमका सुरेशसुमन डाँगी, गणतन्त्र दैनिकका उपसम्पादक टीका बस्नेत, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) दाङका अध्यक्ष लम्बोदर लामिछाने, डा. लोकराज पराजुली, प्रकृति एफएमका स्टेशन म्यानेजर संगीत बस्याल, ध्रुव आचार्य, प्रमोद न्यौपानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रिकाका सम्पादक वसन्तविवश आचार्यले गर्नुभएको थियो । विमोचन कार्यक्रमको अवसरमा विद्यार्थीहरुले रोचक गीत र नृत्य प्रस्तुत गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता नं. ६७/२०६९/७० रहेको यो म्यागेजिन ६४ पृष्ठको रहेको छ । सम्पूर्ण पृष्ठ रङ्गीन भएको यो म्यागेजिनमा कागज पनि गुणस्तरीय प्रयोग गरिएको छ ।