थारु जातिको बिहे परम्परा

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 177 Views   ||

Santosh_dahit1-[सन्तोष दहित]

थारु जातिमा गरिने बिहेको पनि विशेष महत्व हुने गर्छ । यो जातिमा बिहे कसरी गरिन्छ भन्ने कुरा चासोको विषय बन्ने गर्छ । यसपटक थारु जातिमा गरिने परम्परागत विवाहका बारेमा यहाँ चर्चा गर्न खोजिएको छ ।

फागुन महिना शुरु भयो कि थारु समुदायमा बिहेको लगन शुरु हुन्छ । अघिपछि भन्दा फागुन महिनामा थारु समुदायले बिहेको शुभ मान्ने गर्दछन् । त्यसैले होला थारु समुदायले अरु महिनाभन्दा फागुन महिनामा बढी मात्रामा बिहे गर्ने चलन रहेकोे छ । तर केही थारु अगुवाहरुले भने अरु महिनामा व्यस्तताका कारणले पनि बिहेका लागि फागुन रोजिएको बताउँछन् । फागुन महिनामा अलि फुर्सदको समय भएर पनि थारु समुदायले यो महिनामा बिहे गर्ने गरेको थारु अगुवाहरु बताउँछन् । तथापि थारु समुदायमा प्रेम विवाह भने अघिपछि पनि गर्ने गर्दछन् । निकै उल्लासमय र धुमधामसँग थारु समुदायले आफ्ना छोराछोरीको बिहे गर्ने घोराही–२ गुलरियाका थारु महटवा रामप्रसाद चौधरी बताउँछन् । अरु समुदायको भन्दा फरक र भव्य तरिकाले थारु समुदायले बिहे गर्ने चलन रहेको चौधरीले बताए ।

बिहे हुने केटा पक्षको घरकाले पहिला केटीलाई हेर्न जाने चलन छ । त्यसपछि केटी पक्षका घरकाले केटाको घरजम हेर्ने चलन रहेको चौधरीले बताए । चौधरीका अनुसार यसरी दुवै पक्षले हेरिसकेपछि कुरा मिल्यो भने थारु समुदायमा बिहेको लगन शुरु हुन थाल्छ । बिहेको लगन शुरु केटीको घरबाट गरिने चौधरीले बताए । केटीको घरमा टिकाटालो लगाइसकेपछि केटाको घर ठकुनी खान जाने चलन रहेको उनले बताए । ‘ठकुनी खाइसकेपछि थारु जातिमा बिहेको पक्कापक्की हुन्छ’ उनी भन्छन्– ‘बिहेको निधो भइसकेपछि भव्य र व्यवस्थित पार्न गाउँभरिका घरधु¥याहरु तयारीमा लाग्ने गर्दछन् । उनका अनुसार कोही दाउरा, पातको लागि जंगल जान्छन् भने कोही धान कुटाउन त कोही घरको सरसफाई र बिहेको निम्तो गर्न गाउँका घरधु¥याहरु खट्ने गर्छन्  ।

यसरी बिहेको तयारी सकेपछि बिहे हुनु अघिल्लो दिन केटा पक्षको घरमा ‘डिउली दर्ना’ चलन हुन्छ । त्यही दिन रातभरि माङ्गर गीत गाइन्छ । एकातिर वृद्धवृद्धाहरुले रातभरि माङ्गर गाउँछन् भने अर्काेतिर युवायुवतीहरुले भोजाहा नाच नाच्ने गर्छन् । रातभर नाचिसकेपछि भोलिपल्टको दिन सबैले दुलाहालाई पग्या लगाएर गाउँभरका घरधु¥याहरुसहित दुलहीको घरमा जन्ती ‘भोजाहा’ जाने गर्दछन् । अरु घरधु¥याहरुले दुलाहाको घरमा आएका पाहुनाहरुलाई खुवाउने काममा खट्ने गर्छन् ।

जन्तबाट अर्थात् दुलहीको घरबाट फर्किसकेपछि त्यही दिन घरको अगाडि ढोकाको छेउमा आएर दुलहीलाई पर्खने चलन रहेको छ । जबसम्म दुलही आउँदैनन्, त्यतिबेलासम्म दुलाहाले पर्खिनुपर्ने हुन्छ । दुलही आएपछि त्यहीं पानी र चामलले दुलाहाको आमाले पर्छिने गर्छिन् । यसरी पर्र्छिसकेपछि दुलाहा र दुलहीको टाउको तीन पटकसम्म ठोक्काउने चलन हुन्छ । त्यहीबेला पर्छिन लागेको हेर्न आएका गाउँका छिमेकीहरुले गडगडाहट ताली बजाउने गर्छन् । यसरी पर्छिसकेपछि घरका देवता रहेको कोठा ‘डिउहार कुन्टी’ मा गएर त्यसैगरी पर्छिने चलन रहेको छ । यसरी पर्छिसकेपछि दुलाहा र दुलहीले विवाहमा आएका सबै पाहुनाहरुलाई सेवा लाग्ने चलन रहेको छ । यसरी सेवा लागि सकेपछि लगभग विहेको पूजा सकिन्छ ।

यसरी सबै प्रक्रिया सकेपछि भोलिपल्टका दिन गाउँका सबै छर छिमेकी र इष्टमित्रहरुसँग भोज खाने गरिन्छ । बिहे गर्ने बेला थारु समुदायमा कुनै पनि लेनदेन हुँदैन । पुर्खाहरुले बिहे गर्ने बेला लेनदेन गर्ने गरेको भएपनि आजभोलि त्यो अवस्था छैन । त्यतिबेला लेनदेन भनेको छोरी दिने र छोरी दिएकै घरबाट बुहारी ल्याउने चलन थियो जसलाई थारु भाषामा ‘सटापटा’ भन्ने गरिन्छ ।

पुर्खाहरुको पालाको कुरा कोट्याउँदै गुलरियाका थारु महटवा रामप्रसाद चौधरी भन्छन्– ‘त्यतिबेला थारु समुदायमा गजको बिहे हुने गरेको थियो । दुलाहाको लागि ‘ड्वाला’ बनाएर त्यही ‘ड्वाला’मा दुलाहालाई बसाएर चारजनाले बोक्ने गर्थे । त्यतिबेला जन्ती (भोजाही) जाने बेला धेरै रमाइलो पनि हुने गथ्र्यो, सारा बाटो माँगर गाउँदै भोजाही गइन्थ्यो । तर अबका पुस्ताहरुले माँगर गाउन पनि जान्दैनन्, त्यति रमाइलो पनि हँुदैन । बिहेमा गयो, खायो पियो आयो यति मात्र हुन्छ ।’ उतिबेला दुलहीलाई बोक्नका लागि ‘डोली’ हुन्थ्यो, दुलहीलाई दुई जनाले बोक्ने गरिन्थ्यो । दुलहीलाई बोकेर जाने या पठाउनेलाई ‘पठलरी’ भन्ने चलन रहेको चौधरीले बताए । तर, हिजोआज ‘ड्वाला, डोली’मा दुलाहा र दुलही बोक्ने चलन हराउँदै गएको चौधरीको भनाई छ ।

समयको परिवर्तनसँगै अबका थारु युवाहरुले आफ्नो क्षमताअनुसार कार, जीप, बस लिएर जन्ती जाने र चौथ्यार जाने चलन चल्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *