‘अधिकारका लागि आफै जागरुक बनौं’

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 99 Views   ||

-[चन्द्रा बस्नेत]

दाङ, २६ फागुन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङले अन्तरक्रियात्मक कार्यक्रम गरेर १ सय ३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । शुक्रबार घोराहीको कल्पु धर्मशालामा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको हो । श्रमिक महिला दिवस मनाउनुको उद्देश्य सार्थक बनाउन शान्ति, संविधान र पूर्ण समानुपातिक सहभागिताका लागि सम्पूर्ण महिलाहरु एकजुट भएर अघि बढ्न आह्वान गरेको छ ।

अनेम संघ (क्रान्तिकारी) दाङकी अध्यक्ष पुनम सेर्पालीको अध्यक्षता एवम् एकीकृत नेकपा (माओवादी) थारुवान राज्यसमिति सचिवालय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अधिकार प्राप्तीका लागि निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए । २१ शताब्दीमा पनि महिलाहरु घरभित्रै कुण्ठीत भइरहेको भन्दै वक्ताहरुले अधिकार प्राप्तीका लागि आफै संघर्षशील हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एकीकृत नेकपा (माओवादी) थारुवान राज्यसमिति सचिवालय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ले युगौंदेखि उत्पीडनमा परेका महिलाहरुको हकअधिकार संविधानमा लेख्न आफै जागरुक हुनुपर्ने बताउनुभयो । जनयुद्ध र जनआन्दोलनले नेपाली महिलाहरुको चेतनास्तर धेरै माथि उठाएको भन्दै उहाँले संघर्षबाट प्राप्त उपलब्धिहरु संविधानमा लेखिन बाँकी रहेको छ भन्नुभयो । प्राप्त उपलब्धिहरु नयाँ बन्ने संविधानमा लेखिए मात्रै महिलाका हकअधिकारको सम्बोधन हुने भन्दै उहाँले शान्ति, संविधान र हरेक क्षेत्रमा महिलाको समानुपातिक सहभागिता सुनिश्चितताका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाओवादी थारुवान राज्यसमिति सचिवालय सदस्य भीमकुमारी बाँठा ‘निशाना’ले १० वर्षे जनयुद्धले महिलाहरुको चेतनास्तर उठेको भए पनि परिवर्तनको अनुभूति भइसकेको बताउनुभयो । हरेक क्षेत्रमा महिलाको समानुपातिक सहभागिताको सवाल उठे पनि व्यवहारिकरुपमा कार्यान्वयन नभएकोप्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।
कार्यक्रममा मगर राष्ट्रिय मुक्तिमोर्चा दाङका अध्यक्ष कृतिमान पुन, केन्द्रीय सदस्य दयाजी रोका, क्रान्तिकारी पत्रकार संघ दाङकी सचिव आस्था केसी, संघकी सल्लाहकार पूर्णकुमारी पुन, एमाओवादी राज्यसमिति सदस्य जमुना, सिर्जना मगर, उर्मिला बस्नेत ‘सानु’, पूर्वपिएलए बिएन कमाण्डर क्रान्ति, कम्पनी कमाण्डर वृक्षालगायतले श्रमिक महिला दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । संघकी जिल्ला सचिवालय सदस्य गोमा पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन घोराही नगर समितिकी अध्यक्ष दिलकुमारी बुढाले गर्नुभएको थियो ।

यसैबीच १ सय ३ औं अन्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा उरहरी गाउँ विकास क्षेत्रका सरकारी गैरसरकारी संस्थाहरुले बिहिवार उरहरीमा विविध कार्यक्रम गरेका छन् । महिला हिंसा अन्त्य गरौं कुरा होइन काम गरौं भन्ने मुल नारासहित उनीहरुले ¥याली, विभिन्न प्रतियोगिता, महिलाअधिकारकर्मीलाई सम्मानलगायतका कार्यक्रम आयोजना गरी मनाएका हुन् ।

उरहरी गाउँ विकास समितिको कार्यालय, ओरेक नेपाल, सीड संस्था, बेस, सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था, प्रगतिशिल महिला सामुदायिक संस्था, साना किसान कृषि सहकारी कार्यालय रहेका थिए । कार्यक्रमको प्रमुख अतिथि महिला मानवअधिकार रक्षकहरुको सञ्जालका केन्द्रीय सदस्य लक्ष्मी आचार्यले श्रमिक महिला दिवस मनाउन थालेको सिंगो शताब्दी बिते पनि महिलाको श्रमको सम्मान गर्ने वातावरण अझै नबनेको वताउनुभयो । महिलाको श्रमको सम्मान, समान सहभागिता र सहअस्तित्वको विषय महिलामात्रको मुद्दा नभएर सबैको साझा मुद्दा भएकोले सबै मिलेर अघि बढ्नुको बिकल्प नभएको उहाँको भनाई थियो । ओरेक नेपाल जिल्ला संयोजक सरिता भुसालको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सुश्मा गिरीले गर्नुभएको थियो ।

यसैबीच उरहरी गाविसलाई कार्यक्षेत्र बनाएर काम गर्ने चार जना महिला अधिकारकर्मीहरुलाई सम्मान गरिएको थियो । महिला अधिकारको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सम्मानित हुनेहरुमा सुषमा गिरी, नर्मला महतारा, धना भण्डारी, ओमा चौधरी हुनुहुन्थ्यो । उहाँहरुलाई दोसल्ला, कदरपत्र र नगद प्रदान गरी सम्मान गरिएको थियो । लोकगीत प्रतियोगिता, घैंटाफोर खेलका उत्कृष्टहरुलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको थियो ।

श्रमिक महिला दिवसमा ¥याली तथा सभा

यसैबीच १ सय ३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मूल आयोजक समिति दाङले घोराहीमा ¥याली तथा सभा गरी मनाएको छ । ‘महिला हिंसा अन्त्य गरौं, कुरा होइन काम गरौं’ भन्ने नाराका साथ घोराहीको ट्राफिकचोकबाट शुरु भएको महिलाहरुको ¥यालीले बजार परिक्रमा गरी कर्मचारी मिलनकेन्द्रको मैदानमा पुगेर सभामा परिणत भएको थियो ।

दिवस मूल आयोजक समितिकी संयोजक सुधा रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्वसभासद् दामा शर्माले मुलुक परिवर्तनको आन्दोलनमा महिलाले ठूलो संघर्ष र बलिदान गरे पनि राज्यले समानुपातिक दृष्टिले नरहेको बताउनुभयो । अन्तरिम संविधानमा उल्लेख गरिएका महिलाका हकअधिकारहरु समेत कार्यान्वयन नभएको भन्दै प्रमुख अतिथि शर्माले सत्ताको बागडोर सम्हालेका पार्टी र नेताहरुले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, राजनीतिक दल, विभिन्न महिला संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले श्रमिक महिला दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा २० बूँदे दाङ घोषणा पत्र जारी गरिएको छ । त्यस्तै महिला तथा बालबालिका कार्यालय दाङले उत्कृष्ट काम गरेको भन्दै प्रगति बहुउद्देश्यीय महिला बचत तथा ऋण सहकारी संस्था घोराही, नवस्वर्गद्वारी महिला बचत तथा ऋण सहकारी संस्था गढवा र प्रगतिशील महिला बचत तथा ऋण सहकारी संस्था शान्तिनगरलाई पुरस्कृत गरेको छ । त्यस्तै सामाजिक क्षेत्रमा काम गर्ने कर्मचारी कल्पना योगीलाई पनि सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन तुलसा केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *