दाङ, फागुन २७ । दाङलाई सञ्चारमैत्री जिल्ला बनाउन १३ बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ । जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुले हस्ताक्षर गरेको प्रतिबद्धतापत्रमा तीनवटै क्षेत्रले सञ्चारमैत्री जिल्ला बनाउने प्रतिबद्धता जनाएका हुन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले गत आइतबार घोराहीमा गरेको ‘सूचनाको हक, समानुपातिक विज्ञापन नीति र मिडिया नीति’ सम्बन्धी बृहत अन्तक्र्रियामा सो प्रतिबद्धतापत्र जारी गरिएको हो । प्रतिबद्धता पत्रमा सूचनाको हकसम्बन्धी ऐन २०६४ मा भएको व्यवस्था कार्यान्वयनका लागि पूर्ण प्रतिवद्धता व्यक्त गर्दै सूचनाको मुख्य संवाहक सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई आ–आफ्नो क्षेत्रबाट पर्याप्त सूचना प्रदान गर्न संयन्त्र र परिपाटीको विकास गर्ने उल्लेख गरिएको छ ।
‘सञ्चारक्षेत्रको समग्र विकासका लागिहामी प्रतिवद्ध छौं, हाम्रो क्षेत्रबाट सञ्चार क्षेत्रका लागि चाहिने र प्रदान गर्न सकिने सहयोग गर्न हामी तयार छौं’– प्रतिबद्धतापत्रमा भनिएको छ– ‘दाङलाई सञ्चारमैत्री जिललाको रुपमा परिचित गराउनेतर्फ हाम्रो प्रयास रहने छ ।’ राजनीतिक दलहरुले जनतालाई सूचना प्रदान गर्न खुला र उदार रहने उल्लेख गर्दै दलहरुका आधिकारीक र एकीकृत सूचना प्रदानका लागि जिल्लास्तरमा पनि प्रवक्ता वा सूचना अधिकारी तोक्ने प्रतिबद्धता जनाएका छन् । राजनीतिक दलबाट बेलाबेलामा आव्हान हुने बन्द, हड्तालमा सञ्चारकर्मीलाई निर्वाध आवतजावतको व्यवस्था मिलाउने, सञ्चारकर्मीहरुलाई सम्मानजनक व्यवहार गर्ने र दाङलाई सञ्चारमैत्री जिल्ला बनाउन सबै नीति निर्माणमा सहयोग र तत्परता देखाउने प्रतिवद्धता पनि उनीहरुले जाहेर गरेका छन् ।
त्यस्तै, सरकारी तथा गैरसकारी कार्यालयहरुले सञ्चारमाध्यमको विकासका लागि सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई समान र सम्मानित व्यवहार गर्ने उल्लेख गर्दै समानुपातिक विज्ञापन वितरणको व्यवस्थाका लागि प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले स्थानीय समुदायलाई लक्षित सार्वजनिक सूचना जिल्लाका सञ्चारमाध्यमहरुलाई उपलब्ध गराउन प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
१३ बूँदे प्रतिबद्धता पत्रमा सञ्चारकर्मीहरुले पनि मर्यादित पत्रकारिताका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । ‘आम नागरिकलाई आवश्यक सूचना संकलन गर्दा सबै संचारकर्मीहरु शालिन, संयम र सम्मानितढंगले प्रस्तुत हुने छौं’– सञ्चारकर्मीहरुले भनेका छन्– ‘कसैलाई पनि कुनै खाले डर, धम्की, देखाउने छैनौं र आर्थिक प्रलोभनमा परी गलत सूचना दिने वा सही सूचना लुकाउने छैनौं ।’ त्यस्तै उनीहरुले सबैलाई समान व्यवहार गर्ने, आस्था वा अन्य कुनै कारणले सुचना लुकाउने, बंगाउने, वा दुरुपयोग नगर्ने र कसैलाई प्रकाशित÷प्रशारित सूचनामा चित्त नबुझेमा सहजरुपमा आफ्नो कुरा राख्न दिने प्रतिबद्धता जनाएका छन् ।
महासंघ दाङका अध्यक्ष केएल पीडितको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महासंघका संस्थापक अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष नारायणप्रसाद शर्माले दाङमा सञ्चारको विकासका लागि यो महत्वपूर्ण काम भएको उल्लेख गर्दै यसको कार्यान्वायन पक्ष बलियो बनाउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरुको सहभागिता रहेको थियो । महासंघका सल्लाहकार सुदीप गौतमले प्रतिबद्धतापत्रको मस्यौदा प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव सविन प्रियासन र धन्यवाद ज्ञापन उपाध्यक्ष नरेन्द्र केसीले गर्नुभएको थियो ।