दाङ, फागुन २७ । फूलबारी गाविसलाई यही फागुन ३० गते खुला दिसामुक्त गाविस घोषणा गरिने भएको छ । जिल्लाको खुला दिसामुक्त १६ औं गाविसको रुपमा फूलबारीलाई घोषणा गर्न लागिएको हो । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले शनिबार गरेको अनुगमनबाट घोषणा गर्न सकिने सुझाव दिएपछि आफूहरुले कार्यक्रमको तयारीमा लागेको गाविस खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं गाविस सचिव चन्द्रकुमार डाँगीले बताउनुभयो ।
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख अरुणकुमार सिम्खडाको नेतृत्वमा शनिबार गएको अनुगमन टोलीले घोषणा गर्न सकिने बताएको हो । जिल्ला अनुगमन टोलीका संयोजक एवं जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इञ्जिनियर तिलक न्यौपानेका अनुसार केही विद्यालय र सामुदायिक भवनमा समस्या देखिए पनि सबै घरमा शौचालय प्रयोगमा आएको पाइएको छ ।
अनुगमन टोलीले फूलबारी गाविसका सबै वडामा अनुगमन गरेको जनाएको छ । सिमलखुटी, वराखुटी, साजखुटी, गाइखुटी, रनियापुर, बाख्रे रामपुर, मझघटुवा, गिधनिया, अम्बापुर बखरिया र ढकना लगायतका गाउँमा पुगेर घर–घरमा शौचालयको अवस्था बुझेको हो । ‘तुही उपत्यकाको पहिचान, खुला दिसामुक्त गर्ने हाम्रो अभियान’ भन्ने मूलनाराका साथ गाविसका १२ सय ४८ घरधुरीमा ०६७ सालदेखि अभियान शुरु गरिएको थियो ।
यसैबीच टोलीले खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा पुगेको टरिगाउँ गाविसका विभिन्न वडाहरुको पनि स्थलगत अनुगमन गरेको थियो । केहीमा छाना नहालिएको, केहीमा ढोका नभएको केही निर्माणाधीन रहेको भन्दै निर्माण सम्पन्न गरी घोषणा मिति तोक्न गाविस खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिलाई सुझाव दिएको छ ।