रोल्पाली स्रष्टाहरु माडीखोला किनारमा

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 96 Views   ||

Rolpa_sahitya-[नवीन लोचनमगर]
रोल्पा, फागुन २७ । जिल्लामा क्रियाशील साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा शनिबार माडीचौरमा साहित्यिक वनभोज कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, ललित साहित्य परिषद्, जलजला साहित्य परिषद्, प्रगतिशील लेखक संघ, नेपाल रोल्पा शाखा, नेपाली लेखक संघ जिल्ला शाखा र अखिल नेपाल लेखक संघ जिल्ला शाखा रोल्पाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको समन्वय राप्ती साहित्य परिषद् रोल्पा शाखाले गरेको थियो ।

वनभोज कार्यक्रममा बसेको संयुक्त बैठकले नयाँ वर्षको अवसरमा जिल्लास्तरीय साहित्यिक विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उक्त साहित्यिक विशेष कार्यक्रम सम्पन्न गर्नका लागि डी.बी. टुहुरोको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । कार्यक्रमको सह–संयोजक ओम पंक्षी रहनुभएको छ भने मूल आयोजक समिति सदस्यहरुलाई विभिन्न जिम्मेवारी दिइएको छ । जसअनुसार दीपेश पराई विष्टलाई व्याच व्यानर संयोजक, गीता निर्दोषीलाई कार्यक्रम व्यवस्थापन संयोजक, कविता उपाध्यायलाई आवास तथा भोजन व्यवस्थापन समिति, नवीन लोचन मगरलाई आर्थिक संयोजक, खेमराज गाउँलेलाई प्रकाशन संयोजक, देवी गुरुङलाई सांस्कृतिक संयोजक, सिर्जना सेनलाई अतिथि सत्कार संयोजक, चन्द्र जी.एम.लाई मञ्च व्यवस्थापन संयोजक र अमरजित पुनमगरलाई सञ्चार संयोजक तोकिएको छ ।

यसैबीच हरेक महिनाको १५ गते सञ्चालन हुने स्रष्टा चौतारीमा वाचन भएका रचनाहरुलाई प्रकाशन गर्ने निर्णय गरिएको छ । पत्रिकाको नाम स्रष्टा चौतारी हवाइ पत्रिका राखिएको छ । उक्त हवाइ पत्रिकाको प्रकाशन सोही महिना कार्यक्रम संयोजन गर्ने संस्थाले गर्ने निर्णय भएको छ । यस्तै जिल्लाबाट प्रकाशित पत्रिकाहरुले महिनाको एक पटक एउटा पृष्ठलाई साहित्य विशेष बनाउन अनुरोध गर्ने निर्णय गरिएको छ ।

वनभोज कार्यक्रममा स्रष्टाहरुले देशको पछिल्लो अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन् । सहमतीय सरकार गठन गर्न नसकी दलहरुले देशलाई अनिर्णयको बन्दी बनाएको ठहर गर्दै स्रष्टाहरुले देशलाई यथासिघ्र निकास दिन आग्रह गरेका छन् ।

यसैबीच वनभोज कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने रम्जावेंशी युवा क्लव माडीचौर, सनस्टार युवा क्लव लिवाङ, सिर्जनशील महिला सहकारी संस्था लिवाङ र भे १ प १९१८ का गोपाल सुनारलाई धन्यवाद ज्ञापन गरिएको राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष डी.बी. टुहुरोले जानकारी दिनुभयो । कार्यक्रममा ३३ जना साहित्यकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *