साहित्यकार मिश्रको २२ औं स्मृति दिवस

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 75 Views   ||

दाङ, २७ फागुन । साहित्यकार युद्धप्रसाद मिश्रको स्मृति दिवसका अवसरमा प्रगतिशील लेखक संघ, नेपाल दाङले साहित्यिक रचना वाचन कार्यक्रम गरेको छ । मिश्रको २२ औं स्मृति दिवसका अवसरमा संघले शनिबार घोराहीमा साहित्यिक रचना वाचन कार्यक्रम गरेको हो ।

संघका अध्यक्ष केशव थापाको अध्यक्षता एवम् सल्लाहकार एवम् राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दर्जन बढी स्रष्टाहरुले विभिन्न रचना सुनाएका थिए । सो अवसरमा बोल्ने वक्ताहरुले साहित्यिक रचनाका माध्यामबाट मिश्रले पञ्चायती शासनका विरुद्ध खरोरुपमा उत्रिएको बताएका थिए । ०४६ को जनआन्दोलनका बेला ८२ वर्षको उमेरमा पनि सडकमा उत्रिएर मिश्रले शब्द र कर्मको तादाम्यता व्यवहारमै पुष्टि गरेको बताएका थिए ।

कार्यक्रममा प्रलेस दाङका सल्लाहकार शरद देवकोटाले साहित्यकार मिश्रको व्यक्तित्व र प्रगतिवादी साहित्यको क्षेत्रमा उहाँको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । सो अवसरमा साहित्यकारहरु पुरुषोत्तम खनाल, टीकाराम उदासी, दामोदर पोख्रेल, कमलमणि देवकोटा, श्रीकृष्ण शर्मा ‘पथिक’, श्रीधर भावुक, नवीन अभिलाषी, संगीता उपाध्याय, प्रेमप्रकाश मायालु, कमला डाँगीलगायतले कविता, गजल, मुक्तक र हाइकू सुनाउनुभएको थियो । साथै सो अवसरमा प्रलेसको साधारण सदस्य बन्ने रोल्पाका प्रेमप्रकाश मायालुलाई अविर लगाएर स्वागत गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव डिल्ली मल्लले गर्नुभएको थियो ।

विं सं. १९६४ पुसमा भक्तपुरको सोमलिङटारमा जन्मिनुभएका साहित्यकार मिश्रका चरा, मुक्तिरामायण अरण्यकाण्ड, मुक्त सुदामा, बाढी, युद्धप्रसाद मिश्रका कविताहरु, बेनबध आदि कृतिहरु प्रकाशित छन् । मिश्रको २०४७ फागुन ६ गते काठमाण्डौंमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *