‘चुरेको डाँडाबाट’ कविता संग्रहको समीक्षा

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 106 Views   ||

दाङ, २७ फागुन । देउखुरीका चार जना स्रष्टाद्वारा लिखित ‘चुरेको डाँडाबाट’ कविता संग्रहको शुक्रबार समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद्को मासिक कार्यक्रमअन्तर्गत ९० औं श्रृंखलामा उक्त कृतिको समीक्षा गरिएको हो । समीर यात्री, छविलाल कोपिला, शिवराज पन्थी र धर्मराज बैरागीका कविता समेटिएका उक्त कृतिको समीक्षा साहित्यकार डा. कृष्णराज डीसी, गिरिराज शर्मा र हरि पोख्रेलले गर्नुभएको थियो ।

परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै समीक्षक डीसीले एउटै वैचारिक धरातलमा रहेका कविहरुको संयुक्त कृतिमा आफ्नो माटो र जनताप्रतिको समर्पण निष्ठा अनि परिवर्तनप्रतिको चाहना व्यक्त भएको बताउनुभयो । अहिलेको राजनीतिक, सामाजिक विकृति विसंगतिप्रति कविताहरु खरोरुपमा आएको भन्दै उहाँले कृतिमा समयका आवाजहरु अभिव्यक्त भएको बताउनुभयो ।

सो अवसरमा अग्रज साहित्यकार गिरिराज शर्माले कृतिमा विदेशी हस्तक्षेपका विरुद्ध कविहरुले सशक्त आवाज उठाएको भन्दै स्वाधीनताका लागि एकजुट हुन आह्वान गरिएको बताउनुभयो । कार्यक्रमा बोल्दै देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोख्रेलले देउखुरी क्षेत्रमा रहेर पनि साहित्यको फाँटमा क्रियाशील कविहरुले प्रशंसनीय कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले कविहरुले प्रगतिशील चेतना, वैचारिक एकतालाई अभिव्यक्त गर्दै समाजका विकृति विसंगतिका विरुद्ध खबरदारी गरेको बताउनुभयो ।

परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहभागीहरुलाई स्रष्टा शिवराज पन्थीले धन्यवाद दिनुभएको थियो भने लेखकहरुको तर्फबाट छविलाल कोपिलाले प्रकाशनको अनुभूति सुनाउनुभएको थियो । यसैबीच परिषद्को आगामी श्रृंखलामा चैत्रको अन्तिम शुक्रबार साहित्यकार गोपालचन्द्र पोख्रेलको कृति कवितापुञ्जको समीक्षा गरिने अध्यक्ष खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *