एसएलसीमा महिला केन्द्राध्यक्ष तीनजना

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 120 Views   ||

दाङ, फागुन २७ । यस बर्षको एसएलसी परीक्षाका लागि दाङका ३७ परीक्षाकेन्द्रमध्ये तीनवटामा महिला केन्द्राध्यक्ष तोकिएको छ । आगामी चैत्र १ गतेदेखि शुरु हुने एसएलसीमा तीनजना महिलालाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको हो ।

पञ्चकुलेको मावि कौशिलापुर परीक्षा केन्द्रमा तुलसी गिरी, बालविकास निमावि घोराही केन्द्रमा विमला गौतम र देउखुरीको मावि उचानिम्बु परीक्षाकेन्द्रमा सीता रिजाललाई केन्द्राध्यक्ष खटाइएको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार यस बर्ष दाङबाट १३ हजार ६ सय ९१ विद्यार्थीले एसएलसी दिदैछन् ।

जसअन्तर्गत सामुदायिक विद्यालयबाट ११ हजार २ सय २८, संस्थागत विद्यालयबाट २ हजार २ सय ७० जना र सामुदायिकअन्तर्गत खुल्लातर्फबाट १ सय ९३ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा अधिकारी शाहले जानकारी दिनुभयो । उहाँका अनुसार कूल विद्यार्थीमा ७ हजार ७ सय ३० जना छात्राहरु र ५ हजार ९ ६१ जना छात्रहरु रहेका छन् । परीक्षामा ३७ जना केन्द्राध्यक्ष, ७० जना सहायक केन्द्राध्यक्ष र ५ सय ४८ जना निरीक्षकहरु खटाइएको शिक्षा अधिकारी शाहले जानकारी दिनुभयो । त्यस्तै, परीक्षा मर्यादित र सुरक्षित वातावरणमा सम्पन्न गर्न ३ सय ७० जना सुरक्षाकर्मी परिचालन गरिने पनि उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङले शनिबार घोराहीमा आयोजना गरेको एसएलसी परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनेबारे आयोजित अन्तरक्रिया कार्यक्रमममा बोल्दै शिक्षा अधिकारी शाहले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । महासंघ दाङका अध्यक्ष केएल पीडितको अध्यक्षता एवं जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका उपसचिव दण्डपाणि घिमिरे, प्याब्सन दाङका उपाध्यक्ष यादव गिरीलगायतले बोल्नुभएको थियो । महासंघका उपाध्यक्ष नरेन्द्र केसीको स्वागत एवम् विषयप्रवेशसँगै शुरु भएको कार्यक्रमको सहजीकरण महासंघकी सदस्य आस्था केसीले गर्नुभएको थियो ।

यसैबीच एसएलसी परीक्षालाई लक्षित गरी दाङ प्रहरीले विशेष योजना बनाएको बताएको छ । परीक्षालाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन विशेष योजना बनाएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । जिल्लामा रहेका ३७ वटै परिक्षा केन्द्रमा ३ सय ७० जना प्रहरी खटाइने भन्दै बाहिरी सुरक्षाका लागि मोवाइल चेकिङ ड्यूटी छुट्टै खटाइने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *