असहाय बालबालिकाले राहत पाए (समाचार प्रभाव)

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 103 Views   ||

news_janaubhar-[जनक नेपाली]

दाङ, फागुन २७ । घोराही–८ सेवारखोलाका दुई बादी बालबालिकाको नाजुक अवस्थाका बारेमा पत्रपत्रिकाले समाचार प्रकाशित गरेपछि उनीहरुका लागि संघ, संस्था र व्यक्तिहरुबाट सहयोग जुट्न थालेको छ । पाँच बर्षअघि दशैंको मुखमा चामल नहुँदा छोराछोरी भोकै भएको पीडा सहन नसकि आमा खिमा वादीले आत्महत्या गरेकी थिइन् ।

आमाको आत्महत्यापछि बाबासँग बसेका ती बालबालिका त्यतिबेला बिचल्लीमा परे– जतिबेला बाबा बाबुलाल बादी पनि प्यारालाइसिसको बिरामीले थला परे । बेसहारा दुई भाइबहिनी सम्झना र मनोजको पीडालाई पहिलोपटक नौलो जनउभार साप्ताहिकमा गत माघ ६ गते ‘आमा झुन्डिइन, बाबा प्यारालाइसिस’ भन्ने शीर्षकमा समाचार छापेको थियो । उक्त समाचार प्रकाशित भएसँगै ती वालबालिकाको बारेमा सबैतिरबाट चासो देखाइएको थियो ।

असहाय बालबालिकाका लागि अहिलेसम्म ३४ हजार ७ सय ४० नगद र १५ हजार बराबरको जिन्सी सामान  सहयोग जुटिसकेको छ । उनीहरुको सहयोगगार्थ गत मंगलबार घोराहीमा एउटा सांगीगिक कन्सर्ट समेत गरिएको थियो ।

केही समय अघिदेखि घोराहीमा चलिरहेको गायन विधाको प्रतियोगिता हिरो अफ भ्वाइसका प्रतिस्पर्धीहरुले घोराहीको तुलसीपुरचोकमा कन्सर्टको आयोजना गरि रकम संकलन अभियान शुरु गरेका थिए । त्यसको आयोजना नेपाल पत्रकार मंहासंघ दाङका अध्यक्ष के.एल. पीडितको अगुवाईमा भएको थियो ।  असहाय बाल–बालिकाहरुको सहयोगार्थ चलिरहेको कन्सर्टमा नौलो जनउभार साप्ताहिकका प्रकाशक निर्मल आचार्यले नगद रकम सहयोग प्रदान गर्नुभएको थियो । त्यसैगरी जिल्ला जनस्वास्थ कार्यालयका दीर्घराज जिसी, दिनेश डाँगी, गोरक्ष दैनिकका प्रकाशक तेजबहादुर कार्कीले बाल–बालिकाहरुका लागि नगद रकम सहयोग प्रदान गर्नुभएको थियो ।

उनीहरुका लागि शुभप्रभात माविका विद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको ८ सय ३२ रुपैयाँ घरमै पुगी हस्तातरण गरिसकेका छन् भने राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिका अध्यक्ष जनक खरालले ३ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । त्यस्तै, रेडियो तुलसीपुरका महेन्द्र लामिछाने, तुलसीपुरस्थित सपना ट्रेडर्सका टेकप्रकाश केसी, कांग्रेसका दाङका सचिव शंकर डाँगी, होटल डिलाइट कर्नरका सन्दीप विक्रम राना, सूर्य लाइफ इन्स्योरेन्सका जनार्दन पौडेललगायतले नगद र जिन्सी सामान सहयोग प्रदान गरेका छन् ।

यता महिला विकास कार्यालय दाङले आपतकालीन बाल कोषबाट उनीहरुलाई नगद तीन हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । आमाको आत्महत्यापछि बाबासँग बस्दै आएका उनीहरु बाबा पनि प्यारालाइसिसबाट थलिएपछि घर–घरमा मागेर गुजारा चलाउँदै आएका थिए । अहिले उनीहरुले सहयोग गर्ने दाताहरुसँग आफ्नो लागि पढ्ने व्यवस्था गरिदिन अनुरोध गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *