दाङ, फागुन २७ । ‘ढ्याप्लीमा बेच्छौं । दिनभरि मासु बेचेको ठाउँमा भोलिपल्ट आउँदा दिसामात्रै हुन्छ । पिसाब गन्हाउँछ । साँघुरोमा फ्रीज कहाँ राख्ने ?’ घोराहीका मासु व्यवसायी मधुकर बुढामगरले भन्नुभयो । मासु बुचर र भेटनरी डाक्टरले मात्रै चिन्न सक्छ । मासुको सिङ, खुर, लादी, हाड छाला सबै काम लाग्छ । बधशालाबाट फालिएको कुनै पनि कुरा खेर जान्न । दाङमा भने बधशाला अभावमा केही पनि व्यवस्थित हुन सकेको छैन ।
‘व्याउने भैंसी हुन् कि भेडा बाख्रा, मरेका हुन् कि ज्यूँदा कसैले सोध्दैन । सबभन्दा पहिला बधशाला बनाउनुहोस् । कसैले उता काट्छ कसैले यता, एकै ठाउँ गराउनुहोस् । कुन कुनामा कसले के काट्यो कसरी थाहा पाउनुहुन्छ ?’ राँगा मासु व्यवसायी अख्तर अलीले भन्नुभयो– उहाँका अनुसार मासुमा कसैले ध्यान दिएको छैन ।
मासु व्यवसायी मात्रै होइन, यहाँका ग्राहक पनि मासु खान जानेका तर चेत नभएका छन् । आफ्नो स्वास्थ्यको ख्याल पु¥याउँदैनन् । ‘फ्रीजमा हालेको दिए बासी भन्छन् ।’ कुखुरा मासु व्यवसायी अनिल घर्तीले भन्नुभयो– ‘जालीले छोपेर राखिएको मासुभित्र लुकाएको बासी लग्दैन भनेर फर्किने गरेको अर्का व्यवसायी मानबहादुर विकको भनाई छ । उहाँका अनुसार झिंगा भन्के पनि बाहिर देखिने गरी टाँगेको मासु ग्राहकले मन पराउँछन् । त्यसैले धूलो उड्ने बाटोमै मासु देखाउनुपरेको हो ।
व्यवसायीले पानी प्रशस्त नहुनाले वधस्थल र मासु पसल सफा गर्न नसकिएको जानकारी दिए । तर, वरिष्ठ पशु चिकित्सक मुकुन्द उपाध्यायका अनुसार २४ घण्टासम्म माइनस चार डिग्री तापक्रममा डीपफ्रीजमा राखेर मात्रै मासु खानुपर्छ । उपाध्यायले भन्नुभयो– ‘छिनाल्ने र पकाउने तरिका गलत छ । त्यसो गरेको मासु नरम हुने दाँतमा पनि कम अड्किन्छ ।’ उपाध्यायका अनुसार तनावमा रहेको मासुका लागि ल्याइएको वस्तु वध गर्न पनि हुँदैन । वधशालामा ल्याएपछि २४ घण्टा रेष्ट गराउनुपर्छ । उसलाई १२ घण्टा पानीमात्र खुवाएर राख्नुपर्छ । थाकेर आएको पशुले आफ्नो शरीरको ग्लुकोज खाएर बाँच्ने भएकाले मासुमा पाइने खास तत्व हराउँछ । तनावमा राख्न नहुने, काटिरहेको बेलामा अर्को पशुले देख्न नहुनेलगायतका विधि पु¥याउनुपर्छ । ‘निर्दयी तरिकाले तनाव र दुःख दिएर काटेको मासु गुणस्तरीय हुँदैन ।’ वरिष्ठ पशुचिकित्सक डाक्टर केदारबहादुर कार्कीले भन्नुभयो ।
डाक्टरहरुका अनुसार मासु पसलमा खानु र सुत्नु हुँदैन । त्यसो गर्दा पशुको रोग विस्तारै मानिसमा सरिरहेको हुन्छ । लामो समयपछि समस्या देखिन्छ । त्यस्तै, साङ्ला, मुसा हिड्न दिनुहुन्न रोगका किटाणु सारिरहेका हुन्छन् । त्यसको साथै सूर्ति सेवन गर्नेले ¥यालसहित मासु छोएर फोहर गराउनुहुन्न । गोठदेखि ओठसम्म स्वच्छ मासु खान पशु बधशाला तथा मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्नुपर्ने भेटनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरको भनाई छ । नियमावली बनिसकेपछि हेटौंडामा प्रयास गर्दा लागू नभएको भन्दै डाक्टर कार्कीले देशभर कार्यान्वयन समस्या देखिए पनि दाङमा पुनः प्रयास गरिएको हो ।
जुनसुकै रोगका जिवाणु छालाबाट पस्ने भन्दै डाक्टरहरुले त्यो निकाले २५ प्रतिशत रोगबाट जोगिने बताए । उनीहरुका अनुसार रातो लुगाले नछोपेको जालीभित्र र फ्रीजमा राखिएको मासु सफा हुन्छ । स्वस्थ मासुका लागि प्रशस्त तातो चीसो पानी र दाउरा बिजुलीको व्यवस्था गर्नुपर्छ । बधशाला कस्तो हुने, कसरी काट्ने, पसल कस्तो हुने लगायतका सम्पूर्ण विधि ऐनमा समेटिएको छ । सबै प्रजाति एउटै ठाउँमा काट्न नहुने, रोगीको मासु छुट्टै हुनुपर्ने, नियमित जाँचको व्यवस्था गर्नुपर्ने लगायतका कुनै पनि विधिको प्रयोग नेपालमा भएको छैन ।
विश्वमा करिब ९० प्रकारका र नेपालमा २० वटा जति रोग मासुले लाग्ने गरेको जिल्ला पशु सेवा कार्यालय दाङका प्रमुख पशु चिकित्सक ऋषिराम सापकोटाले बताउनुभयो । नेपालीले २२ थरि मसला हालेर कुकरमा पकाउने भएकाले मासुबाट लाग्ने रोग न्यून हुने गरेको उहाँको भनाई छ । व्यवसायी, स्थानीय निकाय र केन्द्रीय सरकार मिलेर ऐन लागू गर्नुपर्ने पशु चिकित्सकहरुको बताउँछन् । पशु कार्यालयका प्रमुख पशुचिकित्सक सापकोटाका अनुसार जिल्लामा दैनिक मासु खपत रांगा–भैसी २ हजार १३ किलो, खसी–बाख्रा १ हजार १ सय ७५ किलो, बंगुर ६ सय ९७ किलो र हाँस–कुखुरा २ हजार १ सय १६ किलो हुने गरेको छ ।
घोराही नगरपालिकाका कार्यकारी अधिकृत नेवबहादुर ओलीको अध्यक्षतामा र निमित्त प्रमुख जिल्लाअधिकारी दुर्गादत्त पौडेलका अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका मासु व्यवसायी, जिल्ला प्रहरी, कृषि विकास कार्यालय, पत्रकार नागरिक समाजलगायतका प्रतिनिधिको सहभागिता थियो । भेटेरिनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरले बिहीबार घोराहीमा गरेको नगरपालिका तथा सरोकारवालाहरुसँगको अन्तरकृया कार्यक्रममा सहजीकरण हरि कँडेलले गर्नुभएको थियो भने घोराही नगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठ, डा.लटनारायण शाह लगायत विभिन्न डाक्टरहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।