चाट बेचेर सात महिनामा तीन लाख

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 124 Views   ||

photo_chatदाङ, फागुन २७ । भारतमा चार बर्ष र कतारमा तीन बर्ष बसेर काम गर्दा नपाएको कमाइ र सन्तुष्टि स्वदेशमै आफ्नो सीप खर्चदा सात महिनामा पाउन सफल भएका छन् प्यूठान–२ सिमपानीका गिरु गिरीले । घोराही–११ काठेकोहलमा चाट पसल गर्दै आएका गिरीले सात महिनामै चाट बेचेर तीन लाख आम्दानी गरेका छन् ।

चाट बेचेको आम्दानीबाट उनीले परिवारका सात जनाको खर्च व्यहोर्दै आएका छन् भने त्यसैको आम्दानीबाट घडेरी किन्ने तयारी पनि गरिरहेका छन्  अर्कोको देशमा जोतिनुभन्दा सानो भए पनि आफ्नै देशमा श्रम र सीप खर्चिनुपर्छ भन्ने शिक्षा लिई स्वदेश फर्केका गिरुले केही बर्ष तुलसीपुरमा बसेर होटेल चलाए । होटलमा उनले धेरै मेहनत गरे र मेहनतअनुसारको आम्दानी पनि गरे तर आफूले गरिरहेको पेसाप्रति उनी सन्तुष्ट हुन सकेनन् । त्यसपछि घोराही आएर काठेकोहलमा चाट पसल खोलेर नयाँ व्यापार शुरु गर्न थालेको उनले बताए ।

आजभोलि उनको चाट पसलमा ग्राहकहरुको घुइँचो लाग्ने गर्छ । चाट खानको लागि स्कूलकलेजका विद्यार्थीदेखि बजारका प्रतिष्ठित व्यक्तिहरुसमेत आउने गरेको उनको भनाई छ । आफ्नो चाट बिक्री बारेमा उनी यसो भन्छन्– ‘मेरो पसलमा चाट खान आउनेको संख्या प्रतिदिन वृद्धि भइरहेको छ, मैले चाट बेचेर दैनिक ३ हजारदेखि ३५ सयसम्म को आम्दानी गर्छु, जसबाट म खुसी र सन्तुष्ट छु ।’ मीठो र स्वादिष्ट चाटको रुपमा परिचित उनको चाट खाएपछि जिब्रो ट्वाक्क नपार्ने मान्छे सायद कमै होलान् । अहिले उनले बनाएको चाट प्याकिङ भएर विभिन्न संघ, संस्था र अफिसहरुमा समेत जाने गरेको उनी बताउँछन् ।

चाटमा शुद्ध र राम्रो मसला हालेर मेहनतका साथ ग्राहकलाई खुवाउँदा उनीहरुलाई खुसी र आकर्षित पार्न सफल भएको गिरुले बताए । अरुबाटभन्दा आफ्नै मेहनतबाट चाट बनाउन सिकेको बताउने गिरुले अहिले धेरैलाई मन पर्ने स्वादिष्ट चाट बनाउन सफल भएकोमा खुसी व्यक्त गर्छन्– ‘मैले बनाएको चाटको स्वाद लिन परिवारहितका मान्छेहरु आउने गर्छन् र मलाई निकै राम्रो चाट खुवाउनुभयो भनि धन्यवाद दिन्छन्, त्यो बेला मलाई निकै खुसी लाग्छ ।’

अहिले २४ बर्ष पुगेका गिरु १७ बर्षको उमेरदेखि रोजीरोटीको खोजीमा हिडेको बताउँछन् । अर्काको देशमा राम्रो कमाइ भइहाले पनि त्यहाँ विदेशीहरुले हेपाइ आफूलाई मन नपरेको उनको भनाई छ । निकै मेहनती र मिजासिला गिरु आम्दानी मात्र भन्दा सन्तुष्ट हुने वातावरण मुख्य ठान्छन् । उनी भन्छन्– ‘मैले तुलसीपुरमा होटेल खोलेँ, त्यसबाट आम्दानी त राम्रै भयो तर सन्तुष्टि भएन । जाँडरक्सी बिक्री गर्दा राम्रो लागेन छोडेर चाट व्यवसायमा लागेँ ।’ चाट व्यापार हेर्दा सामान्य लागेपछि यसबाट आम्दानी राम्रो हुने र उधारो पनि धेरै नजाने भएकाले यसलाई अझै व्यवस्थित र राम्रो बनाएर अझ धेरै ग्राहक बढाउने सोंचमा लागेको गिरु बताउँछन् ।

जिविकोपार्जनका लागि केही गर्नुपर्ने बाध्यताले पैसा आउने पेसामा लाग्नुपर्ने भए पनि उनी पैसा कमाउने सोखमा भन्दा अरुलाई परेको दुःखमा सेवा पु¥याउने चाहना राख्छन् । ‘म आम्दानी गरेर घरजग्गा बढाउने इच्छाभन्दा अरुको दुःखमा सहयोगी मान्छे बन्ने चाहना राख्छु’ उनले भने । काम सानो भनेर हिनताबोध गर्ने भन्दा त्यसमा मेहनत गरेर सफलताको परिणाम ल्याउने कुरामा उनी लागिराख्छन् । आफूमा मेहनत गर्ने जाँगर र लगनशीलता भयो भने सानो पेसाले पनि ठूलो आम्दानी गर्न सक्छ, त्यसका लागि अर्कोको देशमा चौकीदारी गर्न जानुपर्दैन भन्ने सन्देश  गिरुले आफ्नो चाट व्यवसायबाट दिन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *