माछा पालेर शिक्षकलाई तलब

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 106 Views   ||

-[जनक नेपाली]
दाङ, फागुन २७ । राजपुर गाविस–७ खाङ्ग्रा नाकाका बासिन्दाले माछापालन गरेर बालकल्याण निमाविका शिक्षकहरुलाई तलब खुवाउने गरेका छन् । निजी स्रोतका शिक्षकहरुलाई तलब खुवाउन समस्या भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षदेखि सदस्यसम्मले पालैपालो बर्षमा एकपटक माछापालन गरेर शिक्षकहरुलाई तलब खुवाउँदै आएको विद्यालयका प्रअ रामसुरेश यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा प्राविको दरबन्दीमा २ जना, निमाविको राहत कोटाबाट २ जना, बालविकासबाट १ र निजी स्रोतबाट ५ गरी १० जना शिक्षकशिक्षिकाहरुले पढाउँदै आएका छन् । विद्यालयमा अहिले चार सय विद्यार्थी रहेको उहाँले बताउनुभयो । गाउँमा दुई कठ्ठा जमीनमा शुरु गरिएको माछापालन व्यवसाय फष्टाउँदै गएको र त्यसले विद्यालयका शिक्षक र माछा पाल्ने किसानलाई पनि फाइदा हुने गरेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा माछापालक रामबहादुर थापाले बताउनुभयो ।

स्थानीयको श्रमदानबाट चल्दै आएको विद्यालय सञ्चालनका लागि माछापालन गर्न थालिएपछि केही सहज भएको थापाले बताउनुभयो । उहाँले भन्नुभयो –‘कृषक आफैले आधा रकम पाउने भएपछि स्थानीयमा माछा पाल्ने उत्सुकता बढ्दै गएको छ ।’ आफ्नै छोराछोरीले पढ्ने स्कूल चलाउन अभिभावकहरुलाई धौ–धौ भएपछि गाउँलेहरु मिलेर माछापालन गरेका हुन् । ‘नजिकमा स्कूल छैन, टाढाको स्कूल साना बालबालिकाहरु पढ्न जान सक्दैनन्, माछापालक थापा भन्नुहुन्छ– ‘छोराछोरी पढाउन अभिभावकले माछा पाल्न थालेका छन् ।’ खाङ्ग्राबाट ६ घण्टा हिडेपछि भौवा नाकामा कि त कोइलाबास, गङ्दी वा लमहीमा मात्र मावि भेटाउन सकिने प्रअ यादवले बताउनुभयो ।

निमाविमा पढाइरहेका निजी श्रोतका शिक्षकहरुले अहिले मासिक २ हजार ७ देखि ३ हजार ५ सय तलब खाएर विद्यार्थीहरुलाई पढाउँदै आएका छन् । २०४६ सालमा स्थापना भएको स्कूलको भवन आर्थिक अभावका कारण जीर्ण भएर भत्किने अवस्था पुगेको छ । पाँच कोठाको भवन भत्किन थालेको भन्दै प्रअ यादवले आफूहरु समस्यामा रहेको बताउनुभयो । कक्षाकोठामा पानी जाग्ने र भित्ताको माटोको गारो भत्कने खतरा रहेकाले बालबालिका जोखिमपूर्ण भवनभित्र  बसेर पढ्न बाध्य बनेको यादवले दुखेसो पोख्नुभयो ।

शुरुमा शौचालय नभएकाले विद्यालयमा एकीकृत माओवादीले एउटा शौचालय बनाइदिएपछि प्रयोगमा आउन थालेको पूर्वअध्यक्ष थापाले बताउनुभयो । शौचालयसँगै त्यहाँ क्रियाशील स्थानीय आमा समूहले विद्यालयमा सरस्वतीको शालिक निर्माण गरिदिने भएको छ । गाउँमा गठन गरिएको आमा समूहले स्वर्गद्वारी आउने भारतीय तिर्थयात्रीको साइकल तथा मोटरसाइकल रेखदेख गरेवापत संकलन गरेको १५ हजार ७ सय रुपैयाँबाट शालिक निर्माण गर्न लागेको आमा समूहकी कोषाध्यक्ष विमला केसीले जानकारी दिनुभयो । स्थानीय आमा समूहले भारतीय तिर्थयात्रीको साइकल रेखदेख गरे वापत १५ रुपैयाँ र मोटरसाइकल रेखदेख  गरेवापत ५० रुपैयाँ शुल्क लिने गरेका छन् । सो शुल्क समूहले सामाजिक काममा लगाउँदै आएका छन् ।

यस बर्षको रकमले मन्दिर स्थापना गर्ने र अर्का बर्षको रकमले महिलाको आयस्तरको लागि विभिन्न तालिम सञ्चालन गर्ने आमा समूहको योजना रहेको कोषाध्यक्ष केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *