३ अर्ब २ करोड ९९ लाख बजेट प्रस्ताव
-[निमुसंगम घर्ती]
दाङ, फागुन २८ । दाङको २१ औँ जिल्ला परिषद्ले आर्थिक वर्ष २०७०/०७१ का लागि करिब ३ अर्ब ३ करोड बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेको छ । सोमबार घोराही नगरपालिकाको सभाहलमा भएको जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोख्रेलले आ.व. ०७०÷७१ को ३ अर्ब २ करोड ९९ लाख ६४ हजार २ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । जुन बजेट गत आर्थिक वर्षको भन्दा २० प्रतिशतले बढी हो ।
प्रस्तावित बजेटमा जिल्ला विकास समितिअन्तर्गत कुल ६० करोड ४९ लाख, ९६ हजार रुपैयाँ रहेको छ । त्यसमा चालुतर्फ प्रशासनिक, सामाजिक सुरक्षा तथा सचेतनामा २४ करोड ९ लाख ९२ हजार २ सय ७० रुपैयाँ प्रस्ताव गरिएको छ भने पूँजीगततर्फ ३६ करोड ४० लाख ९ सय ७८ रुपैयाँ प्रस्ताव गरिएको छ । त्यस्तै, पूर्वाधार विकासका लागि ३० करोड १२ लाख ४४ हजार बढी विनियोजन गरिएको छ भने लक्षित वर्गका लागि १ करोड ६ लाख अनुमान गरिएको छ । त्यस्तै सामाजिक विकासतर्फ १० लाख ५० हजार, संस्थागत सुदृढीकरण, क्षमता विकास, पर्यटन विकासलगायतमा १ करोड ६१ लाख २८ हजार, आर्थिक विकासमा १९ लाख रुपैयॉ, वन तथा वातावरण ऊर्जामा २१ लाख बजेट विनियोजन गरिएको छ ।
जिविसको चालुतर्फ सामाजिक परिचालनमा १ करोड, सामाजिक सुरक्षातर्फ १७ करोड र प्रशासनतर्फ ४ करोड २४ लाख ४७ हजार रुपैयॉ छुट्याइएकोे स्थानीय विकास अधिकारी पोख्रेलले बताउनुभयो । उहाँका अनुसार विषयगत कार्यालयलाई उपलब्ध गराउने गरी ६८ करोड ४ लाख रुपैयाँ समेत गरी केन्द्रीय अनुदान १ अर्ब २८ करोड प्राप्त हुने अपेक्षा गरिएको छ । जिल्ला विकास समितिअन्तर्गतको बजेटको सबैभन्दा धेरै बजेट शिक्षातर्फ प्रस्ताव गरिएको छ । त्यसमा २ करोड १५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । त्यस्तै, अन्य बजेट अघिल्ला बर्षहरुझैं निर्देशिकाले निर्दिष्ट गरेअनुरुप, सडक, सिंचाई, स्वास्थ्य, खानेपानी, भू–संरक्षणलगायतका शीर्षकहरुमा प्रस्ताव गरिएको स्थानीय विकास अधिकारी पोख्रेलले जानकारी दिनुभयो ।
जिविसले जिल्लालाई मरुभूमिकरणबाट जोगाउन वातावरणमैत्री योजनाहरु अघि सारेको स्थानीय विकास अधिकारी पोख्रेलले बताउनुभयो । जिल्ला परिषद्मा पोख्रेलले दाङमा बग्ने अधिकांश खोलाका मुहान वरपर भएको वन विनासले मुहान सुक्दै गएको र जमीनमुनिको पानीको सतह पनि भासिंदै गएकाले खोलाका मुहान भएका उत्तरी क्षेत्रमा ड्याम बाँध्नुपर्ने र मुहान क्षेत्रमा संस्थागतरुपमा वृक्षारोपण अभियान चलाउने नीति ल्याएको बताउनुभयो । त्यसका लागि स्थानीय स्रोतले मात्रै नपुग्ने भन्दै केन्द्र तथा दातृ निकायलाई माग गर्ने गरी नीति ल्याइएको उहाँको भनाई थियो ।
त्यसैगरी देउखुरी क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन अवलोकन गर्न तथा प्रस्ताव तयार पार्न पनि जिल्ला विकास समितिको आन्तरिक श्रोतबाट केही रकम छुट्याइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै परिषद्मा ग्रामीण तथा कृषि सडकलाई मुख्य प्राथमिकता दिइएको भए पनि वातावरणीय प्रभावलाई ध्यान राख्दै नयाँ सडकको ट्रयाक खोल्न बजेट प्रस्ताव नगरिएको उहाँले जानकारी दिनुभयो ।सडक योजनाहरुमा पुराना सडकलाई बाहै्र महिना चल्न सक्ने अवस्था बनाउने तथा प्रशासनिक निकाय रहेका, पर्यटकीय पूर्वाधार तथा कृषिउपजको सम्भावना रहेका बस्तीहरुसम्म सडक पुराउने अभियानलाई प्राथमिकतामा राखिएको पोख्रेलले बताउनुभयो ।
परिषद्को उद्घाटन ९९ बर्षीया जेष्ठ नागरिक नारायणपुर–३ झारबैराकी बेल्टी चौधरीले गर्नुभएको थियो । उद्घाटन सत्रमा पूर्व राज्यमन्त्री, पूर्वसभासद्हरु, विभिन्न दलका जिल्लास्तरीय नेता, सरकारी गैरसरकारी निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, नागरिक समाज, पत्रकारलगायतको उपस्थिति रहेको थियो । जिविसका योजना अधिकृत जीवन ज्ञवालीले सहजीकरण गर्नुभएको परिषद्मा सहभागीहरुलाई आन्तरिक लेखा परिक्षक सुदन बहादुर डिसीले स्वागत गर्नुभएको थियो ।
विभिन्न व्यक्तिहरुलाई सम्मानित
२१ औँ जिल्ला परिषद्को अवसरमा जिविसले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ । परिषद्मा डुरुवा–३ की ९६ बर्षीया निमादेवी खड्का र नारायणपुर–२ पेरनी निबासी ९४ बर्षीय डिल्लीबहादुर गुरुङलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यसैगरी २०६८ सालको एसएलसी परिक्षामा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने विरेन्द्र उमावि भ्यूडहर सुनपुरका गोपाल सापकोटा र गुरुजजुर उमावि रक्षाचौरकी रेखा रेग्मीलाई पनि नगद ५ हजारसहित प्रमाण–प्रत्र प्रदान गरिएको छ ।
त्यस्तै विकास पत्रकारितामा विशिष्ट योगदान गरेको भन्दै पत्रकार सुदीप गौतमलाई नगद ५ हजारसहित कदर–पत्र प्रदान गरिएको छ । त्यसैगरि खेलाडी रामकुमारी चौधरी र रुशी सोमै थापामगरलाई पनि नगद ५ हजारसहित सम्मान–पत्र प्रदान गरिएको छ । यसैगरी खुला दिसामुक्त क्षेत्र घोषणा भएका गाविसहरु र सेवा प्रतिष्ठान तुलसीपुरलाई कदर–पत्र प्रदान गरिएको छ ।