उकालो यात्राका कुरा

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 129 Views   ||

Udasi jee-[टीकाराम उदासी]

कहिल्यै नबिर्सनू
र, सुन्नू ध्यान दिएर कि
हामी अपूर्व साहसका साथ
हिडेरै आएका हौँ यहाँसम्म
नपत्याए सोध्नू तिनीहरुलाई
साक्षी छन् आकाशका जूनताराहरु
त्यो अनन्त फैलिएको क्षितिज पनि साक्षी छ
साक्षी छन् उस्तै
आकाशतिर फर्केर उभिएका हिमालहरु
स्वाभिमानको पहरा बसिरहेका पहाडहरु
तल–तल बगिरहेका नदी र खोलाहरु
धेरै–धेरै जङ्गलहरु र जङ्गलका रुखहरु
हामीले पसिना पुछ्दै बिसाएका चौतारीहरु
सबै छन् हाम्रा यात्राका साक्षी
सुस्केरा काट्दै छिचोलेका भञ्ज्याङहरु
उकालो चढ्दै र झर्दै गरेका कैयौं बटुवाहरु
आकाशमा एकनाससँग उडिरहेका चराहरु
विकट पखेरामा हाँसिरहेका वनफूलहरु
पीडाका गीत गाइरहेका झरनाहरु
सबै–सबै छन् हाम्रो यात्राका साक्षी

आधारशिविरबाटै हिडेर
यतिबेला
आइपुगेका छौँ हामी धेरै माथि
बाटामै सहिद भएका छन् धेरै साथीहरु
बाटामै पोखिएका छन् धेरै पसिना र मेहनत
बाटामै लेखिएका छन् दुःख र सङ्घर्षगाथा
बाटामै छुटेका छन् धेरै अनुहारहरु
अवश्य अझै भेटिएको छैन
हामीले भेट्नुपर्ने फराकिलो र उज्यालो गन्तव्य
अवश्य अझै सकिएको छैन
हामीले सक्नुपर्ने उन्मुक्ति र स्वाभिमानको यात्रा
तर यात्रा निरन्तर जारी छ हाम्रो अझै
अनवरत
चढिरहेछौं हामी उकालो

यति धेरै माथि चढिसकेपछि
कसैले
फेरि उही आधारशिविरमै फर्किएर
नयाँ यात्रा गर्ने कुरा गर्छ भने
अस्वीकार्य छ हामीलाई त्यस्तो दृष्टि
यति धेरै अनुभवका पुस्तकहरु प्ढिसकेर
कसैले
फेरि उही वर्णमाला सिकाउने कुरा गर्छ भने
अस्वीकार्य छ हामीलाई त्यस्तो शिक्षा
यसकारण कि
इतिहासको कुनै दस्तावेजमा
दिग्विजयको झण्डा बोकेर हिड्नेहरु
कहिल्यै पछाडि फर्किएका छैनन्
युगयात्राको कुनै अभिलेखमा
उकालो चढिरहेका पाइलाहरु
कहिल्यै ओरालो फर्र्किएका छैनन्

बरु
आऊ सबै–सबै पाइलाहरु
उत्साहपूर्वक
यहाँबाट अझै अगाडि बढ्ने कुरा गरौं
बरु
आऊ सबै–सबै यात्रीहरु
साहसपूर्वक
निरन्तर–निरन्तर उकालो चढ्ने कुरा गरौं
बरु
आऊ सबै–सबै
अझै एकपल्ट
संसारभरिका भुइँमान्छेहरुका उन्मुक्तिका कुरा गरौं
उनीहरुले देखिरहेका उज्याला सपनाका कुरा गरौं ।

–दाङ

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *