खलासी म

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०६९       | 157 Views   ||

Dil_mahara-[दिल महरा]

(शुरुमा केही भन्न मन छ : कुनै किंवदन्तीको पौराणिक दन्त्यकथा होइन यो ।  माफ गर्नुहोस् । प्रयोगवादी कथाको उत्सव मनाउने रहर होइन मेरो । म । म आफूलाई सेलिब्रेट गरेर के पाउँला । यो दुनियाँको एउटा भोङ्लेट मान्छे न हुँ म । मेरो पनि दुनियाँ बौलाहा हुँदोरहेछ यहाँ । होइन भने फुच्चे एउटा संस्मरण लेख्न दुस्साहस किन गरिरहेछु म । दम रोगीजस्तो अनि किन हिपहिप गरिरहेछ पेट । त्यतिमात्र पुगेन मलाई । लेख्दा हस्याङफस्याङ भइरहेछ मलाई । केही पुराना ती दिन एकाग्र पल्टिन्छन् सम्झनामा । हो सत्य हो । अनि लेखूँ भन्छु डर लाग्छ फेरि । काल्पनिकता भन्देलान् कसैले । होइन आँखाहरु रसाउँछन् फेरि । कसम । संस्मरणका दर्शकहरु मेरा यी दुई आँखा हुन् । आँखाहरुलाई गोसाँ बनाएर सम्झिरहेछु ती दिन यसरी ।)

रङ्ग खरानी । नाम डिजेल । ह्वाङ–ह्वाङ पूरै । सिक्री बिग्रेर बर्बाद । झोला छ मसँग एउटा ठीक ठीकै बुढो । सिरानको टाँक खुस्केको सेतो सर्ट छ छालामाथि । दागै दाग वा मयलको खोत्तर । जे पो होस् पाइन्टमा । पाइन्ट भने जिन्सकै ला’छु । धूलैधूलोको चप्पल । चप्पल बाँटा नामको हो । विक्रम संवत २०६६ । २०६६ को जेठ २२ । समयको अन्दाज सूर्यमा हो । दिउँसोको तीन बजेतिर । झ्वाल–झ्वाल हिडिरहेछु म । बल्खु चोकमा । रहर होइन– बाध्यताले ।

*** *** ***

रत्नपार्कबाट बिदा भएर हिडें बिहान म । कोहीसँग होइन । जमुनाको रुखसँग । हिड्दा भनेको थिएँ जमुनाको रुखलाई ।

‘ठट्टा होइन जमुना । सम्भवत दिलले आज आत्महत्या गरेको हुनेछ । बाँकी तीन रात तिम्रो छहारीमा सुतेर दिन काटें । दुःख सुख जे भयो मलाई । परन्तु तिम्रो सहयोगका लागि धन्यवाद ।’

हिड्दा जमुनाका हाँगाहरु थर्रर्र हल्लिए । मेरो योजनाले त्यही ज्ञान दिन्छ मलाई । कहिल्यै रत्नपार्क नदेखिने गरी यात्रा रोजिरहेछु म । मान्छेहरु झुण्डिएर मर्छन् । विष पिएर मर्छन् । झुण्डिनलाई शक्ति चाहिन्छ । डोरी चाहिन्छ बलियो । विष पिउनलाई विष चाहिन्छ राम्रो । गोजी टक्टक्किएको मान्छेले आत्महत्याको सामग्री किन्न सक्छ कसरी ? अनि त फाल हालेर मर्न रोजें बाग्मतीमा म ।

घण्टाघरले बिहानको ६ बजाएछ । झ्वाल–झ्वाल हिडिरहेँ म बाग्मतीतिर । हुर्रिदै । उठ्दै । भोको शरिरलाई डाँङ्ग्रो घिसारेजसरी घिसारिरहे बाग्मतीको तिरैतिर । बाग्मतीसँग मेरो पहिलो भेट । सोचेको थिएँ बाग्मतीमा मेरो रोल्पाको माडीजस्तै ठूल्ठूला भंगाला होलान् । घाँघर होलान् । गहिराइ होलान् । जसमा फाल हालेपछि सजिलै मरियोस् । भंगाला । घाँघर । गहिराई । उफ ! खोजेर हैरान भएँ म । जाबो काठमाण्डौंको फोहर बगाउन नसक्ने बाग्मतीले कसरी प्राण लिन सक्छ मेरो । गतिलो मर्ने ठाउँ या कि फाल हाल्ने ठाउँ कतै भेटिनँ मैले बाग्मतीमा ।

शरिर थरथरि काँपिरहेको थियो । हरर्र भोक पनि लाग्यो । भोक लागेर गर्नु के । भोक मेट्ने उपाय मसँग शून्य छ । भोका दिनका क्यालेण्डर पल्टाउँछु म । जिन्दगी टाट पल्टेको चार दिन भो । पेटमा मागेर खाएका दुई÷चार बदामका गेडाबाहेक कोच्न के पाइयो र ? बरु सार्वजनिक शौचालयको पानीचाहिँ खुब पिइयो ।

म भोकबाट आत्महत्या वा आत्महत्याबाट भोक । हिड्दैछु कुन बाटो । मनभरि झोक चलिरहन्छ । प्रत्येक मेरा पाइलालाई फकिर–फकिर घोषणा गर्छु म । मनभरि रीस उर्लन्छ नाथे गरिब । भोक जन्मकुण्डलीको उपहार हो । हो त नि मान्छे मूर्दा नभइञ्जेल किन भोक लागिरहन्छ ? चक्राउँछ दिमाग मेरो । कतातिर हिडिरहेछु लखर–लखर म । तर पनि हिडिरहेछु । हिड्दा हिड्दै दायाँ हातका औंला भाँची–भाँची गन्ती गर्छु म ।
२०६६ जेठ १९ गते– १ दिन
२०६६ जेठ २० गते– २ दिन
२०६६ जेठ २१ गते– ३ दिन
२०६६ जेठ २२ गते– ४ दिन

धङ्धङ्गिदै कालीमाटी पुग्नै आँटेछु म । बाँचे म । काल आइनपुगेर हो कि वा बिनाकाम । भाग्य÷दुर्भाग्य क्यै भन्न सक्दिनँ म । तर, मृत्युबाट फर्किएँ । कटक्क पेट खायो । एकछिन बेस्मारी थिचिरहें । अइया प्राण फुस्केला जस्तो गरि दुख्यो पेट । भननन कककक रिंगटा चल्यो । लाम्टा परेको पेट समाएर थुचुक्क बसें । लम्पसार ढलुँलाजस्तो भइरह्यो शरिर । बुङ्लुङ्ग बाटोमा तेर्सिएँ म । धेरै पटक उठ्ने आँट गरें म । बर्कतले भ्याए पो । शक्ति शून्य छ ममा । नसामा झुलेजस्तो । सायद सम्भोगबाट स्खलित भएजस्तो । पेट मुसारिरहन्छु म । पेट खाली छ । रित्तो छ भित्रभित्र खुम्चिरहेजस्तो । वरिपरि हेर्छु– मान्छेहरु हिडिरहेछन् आफ्नै यात्रा । कसलाई कसको चासो छ यहाँ । यात्रा सबको हतार हुन्छ । रंगीचंगी मान्छेका फरक यात्रा ।

हातखुट्टा टेकेर म । म बल्ल–बल्ल उठें । केही सास फेरियो । मान्छेको खप्पर हड्डीले बनेको छ । अनि कसरी जीवन सहज हुन्छ ? म आफै गनगनाउँछु । चार/पाँच पटक मुक्का बजार्छु खप्परमा बेस्मारी । हत्तेरी । आफैले आफैलाई हान्नुको के अर्थ । मरिजाम दुखे पो सिन्कोभर । बरु महानगर प्रहरीले गाली दियो साफसँग– ओ खाते सडकमा बस्न हुन्छ, मर्लास् उठेर भाग साला ! जाँगरले होइन बाध्यताले लत्रिदै–लत्रिदै सडकको साइड लागेँ । बिजुलीको पोलछेऊमा बसिरहेँ मगन्तेजस्तै गरि ।

एकमनले सोचें– अब मागेर भए’नि बाँच्छु । फेरि सोचेँ– के भनेर माग्नु ? आफू त सपाङ्ग परियो । तैपनि मेरो शरिर फतक्क गलेर आयो । झोला बिछ्याएँ छेऊमा । बंलङ्ग पल्टिएँ म त्यही । यसबेला आकाशमा घाम थिएन पक्का । पछि ब्यूँझदा पोल–पोलमा झलमल्ल ल्याम्पपोष्टबाट बिजुली बलिरहेथे । मान्छेको ओहोरदोहोर पातलिदै थियो । खङ्ग्य्राङ मङ्ग्य्राङ गरेर उठेँ म ।

जाने कहाँ हो बसाइको बेठेगान । आँखा किन कोचारिरहेछन् भित्रभित्र । त्यहाँबाट उठ्नलाई झोलातिर बिछ्याएँ आँखा । आँखामा एक्कासी खुसी । ल मान्छेहरुले माग्न बसेको सम्झेछन् मलाई । १६ वटा दुई रुप्पेको ढ्याक । १० वटा एक रुप्पेका थिए ढ्याक । नोटचाहिँ दुई वटा पाँचका । एउटा १० को पनि थियो झोलामाथि । मनमा चार दिनपछि खुसीको उत्सव भयो । आँखाहरु रसाए उसैगरि । सर्टको बाहुलाले पुछिरहेँ आँखा । म भित्रभित्र खुब खुसी थिएँ । सायद अब म बाँच्छु होला ।

जीवनको अन्तिम इच्छा बाँच्नु त रहेछ । मभित्र एकप्रकारको काउकुति लागिरह्यो । आफूले आफूलाई बेस्मारी माया गरिरहेँ । बिहान सम्झिएँ । यदि मरेको भए…. । मेरो आँखाबाट  बररर्र झ¥यो आँसु । निकै शक्तिका साथ झोलामाथिको रुपैयाँ बटुलबाटुल पारेर उठेँ म । अलि पारि मःमः पसल थियो । उस्तै हुर्रिदै पुगेँ म मःमः पसल ।
‘दाइ ४० रुप्पेको मःमः ।’
२० वटा डल्ला दियो मःमः पसलेले ।
दशैं आएजस्तो मलाई । ग्वाम ग्वाम चपाइरहेँ २० वटा मःमःका डल्ला । बेलुनजस्तै पेट उक्सिदै आयो बाहिरतिर । थोरै शरिरमा जाँगर चल्यो । धङ्धङी हरायो । उडाएको रंगजस्तो म भित्रभित्रै मुस्कुराएँ । खुसीको सीमा नै भएन ममाथि ।
‘दाइ, पाँचवटा डल्ला मःमः ।’
मःमः पसलेले यसपाला १० रुप्पेको १० वटा डल्ला दियो मलाई । त्यो पनि ग्वाम ग्वाम चपाइरहेँ म । शरिर तातिदै आयो । फूर्तिलो बन्दै । अहिले कानले सुनिरहेछ । रेडियो नेपालले आठ बजेको समाचार बजाइरहेछ ।

आत्महत्याबाट बचेँ म । सुत्नलाई उही रत्नपार्कको जमुना रुखमुनि । हतार–हतार हिड्न थालेँ । रंगशाला–शहीदगेट–धरहरा हुँदै फेरि रत्नपार्क पुगेँ । रत्नपार्कमा सुत्ने उही हिजो अस्तिका पागल, बौलाहा, खाते बालबालिका अनि म । कसको के मतलब मलाई । म बागबजारतिरको जमुनाको रुखमुनि पुगेँ । खुकुरी चुरोटको गत्ता बिछ्याएँ । त्यहीमाथि पल्टिएँ । मनमा भाँती–भाँतीका कुरा खेलिरहेँ । जीवनमा किन छाउँली–छाउँलीका दुःखहरु पाइन्छन् होला । म सोंचीरहे ।

दिल भिखारी भयो । आत्महत्या गर्न हिड्यो । जेठ १९ गते धरहराको छेऊको पसलमा समोसा चो¥यो । दिल चोर पनि भयो । मेरो एकाग्रता कसैले डिस्टर्व ग¥यो । फेरि महानगर प्रहरी आएछन् ड्यूटी दिदै । एउटाले थर्कायो– ‘को हो पाजी ?’

खाते बालबालिका वरिपरि दौड्न थाले । पागल, बौलाहाहरु तर्सिए । अर्कोले लाइट लाउँदै मतिर सोध्यो– ‘यहाँ सुत्ने को नि ?’ म बोलिनँ केही । अर्को प्रहरीले आफै उत्तर दियो– ‘होला नि खुस्केट साला ।’

मन त्यसपछि बेस्मारी भक्कानियो मेरो । मन बरालियो मेरो । यतिबेला घण्टाघरले रातको ११ बजे हानिरहेको थियो । म सिक्री बिग्रिएको झोला बोकेर झ्वाल–झ्वाल फेरि हिड्न थालेँ । यसपालि बाग्मतीतिर होइन, नयाँ बसपार्क । जमलको सडकमा आँसु चुहाउँदै हिडेँ म– रातभर ।

बिहान दाङ जानलाई खोज्दै हिडेँ गाडीहरु । गाडी नभेटिएका होइनन् । तर, फकिर दिललाई लान्छन् नि कसले फोकटमा । म आइडी कार्ड बुझाउन तयार थिएँ । नागरिकता बुझाउन तयार थिएँ । अहँ, मान्दै मानेनन् गाडी साहुले । कन्डक्टरले । एउटाले त भनि छाड्यो– ‘साले कंगाल मोरो रहेछ ।’

मेरो केही लागेन जुक्ति । पछि नेपालगञ्ज जाने गाडीलाई गुहारेँ । झर्को मानी–मानी स्वीका¥यो गुहार । तर, साहु सर्त तेस्र्याइरह्यो मसँग– ‘खलासी बन्नुपर्छ बाटोमा ।’
मैले टाउको हल्लाएँ ।
खुसीसाथ ।
स्वयम्भूतिर फर्किएर सर्टको बाहुलाले सरक्क आँखाचाहिँ पुछेकै हुँ मैले ।

२०६६ साल जेठ २३ हो । साहुको आदेशमा झोले दिल । दिलले रुमाल बाँध्यो टाउकोमा– बेस्मारी । सुस्तरी गाडी हुँइकिदै अगाडि बढ्यो ।
यसपटक म खुसी हुनुपर्ने तर किन–किन मेरा आँखा धमिला भइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *