घोराही । चैत्र महिनाको उखरमाउलो गर्मीले वातावरण तताए पनि शनिबार घोराही नगरपालिकाको सभाहलमा दर्शकहरुले खचाखच भरिएको थियो । बिजुली थिएन र प्रशस्त मात्रामा पिउने पानीको प्रबन्ध पनि थिएन । तर, खलखली पसिना बगाउँदै संगीतको तालमा झुमिरहेका थिए दर्शकहरु ।
उत्सर्ग फिल्मस् प्रालिको आयोजनामा राप्ती क्षेत्रलाई लक्षित गरी शुरु गरिएको हिरो अफ भ्वाइस प्रतियोगिताको फाइनल प्रस्तुतिमा दर्शकहरु संगीतको तालमा झुमिरहे दिनभर नै ।
प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा दाङका राजु घर्तीले हिरो अफ भ्वाइस– २०६९ को उपाधि हात पारे । लुकेर रहेका प्रतिभाहरु खोज्ने उद्देश्यले दुई महिनादेखि राप्तीमा सञ्चालन गरिएको गायन विधा प्रतियोगिता हिरो अफ भ्वाइस–२०६९ मा घोराही– ७ धानछरेका राजुले डेढ सय बढीलाई उछिन्दै उपाधि हात पारेका हुन् ।
त्यसैगरी प्रतिस्पर्धाबाट घोराहीनिवासी लालीगुँरास आमाविमा कक्षा ८ मा अध्ययनरत एलिसा खरेल द्वितीय, तुलसीपुरका विशाल वली तृतीय भएका छन् । त्यस्तै, प्यूठानका चिराग मगर, रोल्पाकी भूमसरि पुन, दाङकी सोनु डिसी र गोविन्द चौधरी सान्त्वना भएका छन । उत्सर्ग फिल्मस् प्रा.लि.ले शनिबार घोराहीमा आयोजना गरेको भ्वाइस अफ हिरोको अन्तिम प्रतिस्पर्धाबाट स्वरको हिरो छनोट गरिएको हो । प्रतियोगिताको निर्णायकहरुमा डा.गोविन्द आचार्य, संगीतकर्मी मथुराप्रसाद श्रेष्ठ, संगीतकार विकास चौधरी, सन्तोष श्रेष्ठ र यादव योगी रहनुभएको थियो । उपाधि जित्न सफल राजुलाई नायक अर्जुन श्रेष्ठ र कार्यक्रम संयोजक के.एल.पीडितले हिरो अफ भ्वाइसको ट्रफी प्रदान गर्नुभएको थियो ।
स्वरको हिरो बन्न सफल राजु घर्तीको स्वरमा रहेको सोलो एल्बम निकालिदिने आयोजकले जनाएको छ । कार्यक्रमस्थलमै नायक अर्जुन श्रेष्ठले राजुको प्रोत्साहनका लागि नगद पाँच हजार एक सय र कुलानन्द गिरीले दुई हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । त्यस्तै, पशुपति संगीत प्रतिष्ठान घोराहीले उत्कृष्टलाई दुई महिना र अन्य छ जनालाई एक महिनासम्म निःशुल्क संगीत सिक्ने अवसर प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।
यसैबीच कार्यक्रममा राप्तीको प्रतिनिधित्व गरी गीतसंगीत, कला साहित्य र चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नौ जना श्रष्टाहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा कवि एवम् समालोचक अमर गिरी, कवि एवम् गीतकार कुलानन्द गिरी, चलचित्रका नायक अर्जुन श्रेष्ठ, गीतकार भावेश भुमरी, गीतकार डा.भिमार्जुन आचार्य, संगीतकार सन्तोष श्रेष्ठ, लोकसंस्कृतिविद डा.गोविन्द आचार्य, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल र नायक तथा खेलाडी विरुभाई वज्राचार्य रहनुभएको छ ।
हिरो अफ भ्वाइस प्रतियोगिताका संयोजक के.एल. पीडितको अध्यक्षता, प्र्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य एवं नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको विशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको सहजीकरण हिरो अफ भ्वाइसका सल्लाहकार सुदीप गौतम र प्रचार–प्रसार संयोजक आर के शितलले गर्नुभएको थियो ।