साउदी अरबमा देखेका र झेलेका व्यथा

  
  प्रकाशित मितिः सोमवार, चैत्र ५, २०६९       | 134 Views   ||

dhanb_oli-[धनबहादुर वली]

साउदी अरब मा काम गरेको ४ बर्ष बितेछ । यो अवधिमा मेरो भाग्य अथवा अवसर जे भए पनि मैले नेपालीहरुमाझ रहन पाए कम्तिमा १ सय पटकभन्दा बढी साउदी अरबस्थित नेपाली दुताबासमा पुग्ने मौका पाएँ ।

केही आफ्ना समस्या अनि केही अरुका समस्या हेर्दा मलाई लाग्छ– हामी नेपालीहरुमा बैदेशिक रोजगारीको फोहर भनेको दलाली रहेको छ ।  दलालहरु कहाँ-कहाँसम्म छन् अनि कहाँ-कहाँसम्म पुग्न सक्छन भनेर भनिरहनुपर्छ जस्तो मलाई लाग्दैन ।  

दलाली भनेको एउटा खराब नियत हो जुन हरेक मान्छेमा हुन्छ । त्यसका रुप र हदको मात्रै कुरा फरक होला नत्र स्वार्थको लागि गरिने यस्ता कामहरु सबैले प्राय गरिरहेकै हुन्छन् । समस्या उनीहरुको पहुँच र पावरको हो, उनीहरु नै शक्तिशाली भएकाले गरिब र लेबरसरहको काम गर्ने सोझासिधा मान्छेहरुले न्याय पाउदैनन । यसको निकासका निमित्त सरकारले नै जिम्मेवारीपूर्वक उनीहरुलाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ अन्यथा इजराइलमा जस्तै अरबी देशहरुले पनि आफ्नो कामदार आपूर्तिसम्बन्धी नीति परिवर्तन गर्न नसक्लान भन्न सकिन्न ।

हुन त यसको दोषी रोजगारीका निम्ति जाने कामदार पनि कहीँ न कहीँ अवश्य होलान् तर कामदारलाई दोषी देखाएर सरकार चुप लाग्छ भने त्यस्तो सरकारले जनताको चिन्ताभन्दा आफ्नो कुर्चीमोह बढी भएको भनेर जनतासामु प्रस्ट गरिरहेको हुन्छ ।

अर्थतन्त्रको आधारको रुपमा लिइएको बैदेशिक रोजगारलाई दलालहरुको जिम्मा लगाउने अनि कामदारहरुलाई नै गलत ठह¥याउँदा त्यसको परिणाम पक्कै पनि दलालहरुको मनोबल उच्च हुने अनि अन्ततः वैदेशिक रोजगारीमा दलालहरुकै हाबी बढ्न गर्इ तहसनहस हुनसक्ने खतरा मैले देखिरहेको छु ।

मेनपावर कम्पनीलाई भनेर साउदीबाट फ्रीमा पाइने भिसा र टिकटसमेतको पैसा असुलेका दलालहरुले फेरि नेपालबाट आउने कामदारहरुबाट पनि सक्ने पैसा असुलिरहेको आफ्नै आँखाले देखेको छु । नेपाल सरकारले नै तोकेको अधिकतम रकमभन्दा दोब्बर रकम उठाइरहेका हुन्छन् दलालहरु । यसरि दिनप्रतिदिन दलाल हावी हुँदै जाने र नेपालीहरुले विदेशमा कामदारको रुपमा काम गर्ने कम्पनीहरुमा दुःख पाउँदै जाने स्थिति रहने हो भने एकदिन वैदेशिक रोजगारी (अर्थतन्त्रको खम्बा) समाप्त हुने निश्चितप्रायः छ ।

मैले आफै पनि साउदी बसाइको चार बर्षको अनुभवले के कुरा बुझेको छु भने धेरैजसो कम्पनीहरु नाफाको निम्ति कामदार आयात गर्ने गरेका हुन्छन् भने त्यो देशको सरकार आफ्ना नागरिकलाई रोजगारीमा लगाउन चाहन्छन् वा त्यस्तो नीति लागू गर्दै जाने पक्षमा हुन्छन ।  

ब्यालेन्स मिलाउन खोज्ने सरकार र कम्पनीहरुकै बीचमा उभिएका आप्रबासी कामदारहरुलाई विभिन्न बहानामा सरकारले निकालिरहेको हुन्छ । त्यसको मारमा सबैभन्दा धेरै नेपाली नागरिकहरु परेको मेरो भोगाई पनि हो ।  त्यसको कारण हो हाम्रो देशको राजनैतिक खिचातानी र त्यसकै आडमा मौलाएको दलाली प्रवृत्ति ।

साउदी अरबमा रहेका कामदारहरुमध्ये झन्डै आधाजस्तै देखिने गरि कामदारहरु भगौडा कामदारको रुपमा काम गरिरहेका छन् । जसको कारण एउटा मात्रै भन्नुहुन्छ भने त्यो हो ‘दलाली’ । नेपालबाट आउने अनि रोजगारदाता कम्पनीले भनेबमोजिमको तलब लगायत सेवासुविधा नदिने हुन्छ । कोही अवैधानिक रुपमा काम गरेर राम्रै आम्दानी गरिरहेका हुन्छन् भने कोही न्यायको खोजीका निम्ति भौतारिन्छन् । तर न्याय पाउदैनन् किनभने हाम्रो सरकारको उपस्थिति यहाँ निकै कमजोर छ ।

मलाई यहाँ अर्को एउटा कुरा जोड्न मन लागेको छ  । अरबिक मेनेजर रहेको मेरो कम्पनीबाट म नेपाली दुताबास रियाद पुगेर कम्पनी फर्केपछि मलाई अफिसमा बोलायो । म गएँ । उसले सोध्यो मलाई इन्ता अलियोम व्हेन ? मैले जवाफमा केही भन्न सकिन । किनकि डर सबैलाई हुन्छ । म दुताबासमा आफ्नो समस्या राख्न गएको थिएँ उसले त्यही बिषयमा केरकार गर्दै थियो ।
उसले फेरि सोध्यो– इन्ता अलियोम रो सफारा ?
मैले जवाफमा आइवा रो भने मलाई राम्रो अरबिक आउदैन । फेरि पनि मैले यही बुझेँ तँ दुताबास गएको हो ? मैले जबाफमा उह गएँ भनेर भने ।  उसले मलाई फेरि भन्यो– तिम्रो दुताबासलाई एउटा पेप्सीमा हाम्रो पक्षमा बोल्ने बनाउन सक्छौं ।

मैले नेपाली समाचारहरुमा श्रमसहचारी नियुक्त हुने र सहचारीमार्फत सामान्य समस्या सुल्झाउनेछ भन्ने बुझेको थिएँ । त्यसैले मलाई मेरो देश र हाम्रो सरकारप्रति गर्व थियो र मलाई रिस उठ्यो । मैले जवाफमा भने– उनीहरुसँग के सम्झौता गरेको छ ? पालना गर्नतिर लाग हैन भने हामी लेबर कोर्टसम्म गएर कम्पनी नै बर्बाद पारिदिन्छौं ।

उसले त सिधै भन्यो मलाई– कि तिमी जहाँ जान मन छ जान सक्छौ, चाहे कोर्ट जाउ चाहे दुताबास कहीँ गएर केही गर्न सक्दैनौ । मतलब ‘कोर्ट हाम्रो नाटक हो अनि तिम्रो दुताबास हाम्रो मुठीभित्र छ ।’ हुन पनि त्यस्तै भयो । एक बर्ष भयो न एक सुक्का पैसा छ ्र न नेपाल फर्किन पाइएको छ ।

अब त्यस बीचमा के–के गरे वा कहाँ–कहाँ मेरो व्यथा सुनाएँ भन्ने कुरा गरौंं । कम्तिमा एक सय पटकभन्दा बढी म नेपाली दुताबास साउदी अरबमा पुगेको छु । दुताबासको सहयोगमै लेबर कोर्टमा समस्या सुल्झाइदिन निवेदन गरेँ । दुई महिना लामो कसरत गर्दा पनि नेपाल फर्किनेमात्रै वातावरण पनि तयार गर्न सकिनँ । लेबरकोर्टले पनि नेपाल सरकारले चलाउने कार्यक्रम जनतासँग प्रधानमन्त्री रेडियो नेपालबाट प्रशारण हुन्छ, त्यहाँ दुताबासलाई भनेर हामीलाई नेपाल फर्काइदिन पहल गरिदिनुस् भनेर इमेल गरे जुन प्रसारण पनि भएको थियो र प्रधानमन्त्रीले आफूले सहयोग गर्ने आश्वासन पनि दिनुभएको थियो ।

एनआरएन साउदीलाई पनि लामो इमेल गरेर उद्दार गरिदिन अनुरोध गरेँ । अहँ कही कतैबाट ठोस उपलब्धि हुन सकेन अन्ततः खाने चारो खोज्दै हिडेको छु । भनाइको अर्थ म पनि अवैधानिक कामदार बन्ने तरखरमा छु  । अब बुझ्न सकिन्छ किन साउदीमा यति धेरै कामदार बिचल्लीमा परेका छन् ? किन कम्पनी छोडेर भगौडा कामदार भएर बसे ? म संचारसँग यति नजिक छु कि आफुले चाहेको बेला जुनसुकै ठाउँमा उजुरी गर्न सक्छु तर पनि एक बर्ष लामो अवधिमा त न्याय र उद्दार हुन सकेन भने हजारौं सोझा नेपालीहरुको हालत के होला ? भोक भोकै भएपनि कम्पनी छोडेर भाग्न उनीहरुलाई रहर त पक्कै थिएन होला ? वैधानिक कामदार ठगेको आफ्नै आँखाले देखेकाहरुलाई अवैधानिक भएपछि झन् धेरै ठगी हुन्छ भन्ने सोच्दैनन् होला त ?

मलाई यति धेरै लामो व्याख्या लेखिरहन मन पनि थिएन । साउदी अरबमा रहेका भिसाको कारोबार गर्ने विमल गौतम भन्ने एकजना पूर्व एनआरएनका सचिव महोदयले आफ्नो मेनपावर नेपाल गेटवे ओभरसिजबाट ल्याएका कामदारहरुले सुनाएको दुःखले प्रेरणा जाग्यो र लेखन मन लाग्यो । अन्यथा मलाई मेरो उद्दारको निम्ति भनेर मैले यहाँ लेखेको होइन किनभने म थाकिसकेको छु । उद्दार भनेको सही समयमा गरिनुपर्छ । बाढी आएर पानी सुकिसकेपछि हेलिकोप्टर घुमाएर केही फाइदा हुँदैन । कि उनीहरु मरिसक्छ्न् नमर्नेहरु सुरक्षित भैसक्छ्न् ्र मैले पनि बाढीको पीडा थाहा पाइसकेको छु अब उद्दार गर्ने समय होइन भन्ने मलाई लाग्छ ।

भगौडा भइसकेपछि उद्दार गर्देऊ भन्ने पनि कसरी भन्नु अब हैन र ? सकिन्छ भने यिनीहरुको कुरा सुनिदिनुस यस्तो लेख्दिन अनुरोध गरेका थिए उनीहरुले मलाई । रौतहटका कमल पोख्रेल, सिन्धुपाल्चोकका फूर्पा तामाङ र उदयपुरका सुमन राई हाल साउदी अरेबिया बस्दै आएका साथीहरु जसलाई बैदेशिक रोजगारीका निम्ति साउदी रोजगारका लागि प्रतिव्यक्ति नेपाली रुपैयाँ १ लाख ११ हजार लिई विमल गौतम र नेपाल गेटवे ओभरसिजको अर्को एकजना नाम नखुलेको दलालमार्फत् किनेको भिसामा तीन जना साउदी पुगे । आएको २० महिनापछि मात्रै १० महिनाको तलब दिएपछि मात्र आफूहरु फसिसकेको कुरा उनीहरुले थाहा पाएको बताए । उनीहरुले भने– ‘त्यसपछि शुरु भएको हारगुहार सम्बन्धित मेनपावरकै सरसल्लाह बमोजिम उल्लेखित दलालहरुकै आदेशअनुसार साउदी लेबर कोर्टसम्म पुग्यौं । लेबरकोर्टमा छलफलको क्रममा थाहा भयो हामीले १ लाख ११ हजार तिरेर पनि निज दलालहरुले १ हजार रियाल प्रतिव्यक्ति लिएर लेबर पु¥याउने सम्झौता गरेका रहेछन् ।

यस्तो सम्झौताकै कारणले गर्दा केशउपर सुनुवाई नै हुनसकेन । त्यसपछि नेपाली दुताबास साउदी अरेबियामा लिखितरुपमा न्यायको माग गर्दै निवेदन दिइयो । उनीहरुले विलौना गर्दै भने– अब हामी सडकमा भोकभोकै सुत्नुपर्ने अवस्थामा आइपुगेका छौं । कानुनी हैसियतले साउदी बस्न नपाउने भैसकेका उनीहरु भौतारिएर घुमिरहेका छन् । अकमाको म्याद सिद्धिएको हुनाले पनि झन् समस्या छ । यसका लागि जिम्मेवार सम्बन्धित मेनपावर र दलाललाई कारबाही कसले गर्ने ?  न त दुताबासले छानबिन गर्न सक्छ न त अरु कुनै माध्यामले न्याय पाउने अवस्था छ । यस बिषयमा नेपाल सरकारसँग हाम्रो न्याय र उद्दारको पहल गरिदिन अनुरोध गर्दछौं ।
ल हेर्नुस उदाहरण यही छ यसरी दिनानुदिन नेपालीहरु विदेशमा ठगिनु अनि नेपाल सरकार तथा सरोकारवाला निकायले जिम्मेवारीपूर्ण रुपमा काम नगरिदिनुले पनि झन् अर्को समस्या आएको छ । के सच्चाई देखेर पनि नदेखेझैं गर्नेहरु सरकारमा बसेका हुन् त ? किन कारबाही हुँदैन दलाल तथा मेनपावरहरुलाई ? राजनैतिक अवस्था जस्तो भएपनि यी र यस्ता बिषयमा त ध्यान दिन सकिन्थ्यो होला नि ?

पिज्जा इन भन्ने कम्पनीमा पनि उनी विमल गौतमले आफ्नै मेनपावरमार्फत् आएको भनेर स्वीकारेका थिए ।  खोई छानबिन भएको ? अझै यस्ता लुकेर रहेका रहस्य कति होलान् ? म आफू आएको मेनपावर कम्पनी लक्की ओभरसिज जुन दुई वटा भएको छ– उनीहरुको मेनपावरबाटै आउने साउदी फ्युल र गल्फ हेल्थका सबैजसो घर फर्किनेहरु रुँदै फर्केको अवस्था हो । अझै म र मजस्ता धेरै बाँकी नै छौं साउदीमै अलपत्र अवस्थामा । खोई न्याय पाएको हामीले ? खोई उद्दार गरेको हाम्रो ? के हामीले न्याय पाउन पहुँच भएको हुनै पर्छ ?

त्यस्तै अर्को एउटा कम्पनीका साथीहरुले मलाई भने– हामीहरु नौ जना छौं हामी अलपत्र बसेको १८ महिना बितिसक्यो नेपालबाट पैसा माग्ने अनि खानाको जोहो गरेर बसेको । उहाँहरुलाई त नेपाली दुताबासको भनाइअनुसार नेपाल नै पुगिसक्नुभयो रे तर वास्तविकता अर्कै पो रहेछ । उहाँहरु नौ जनामा शंकर विक–दाङ, राहुल राई– सोलुखुम्बु, मिथुने राई– सोलुखुम्बु, अमर कार्की– भोजपुर, शेर ब नेपाली– तनहुँ, सितु सादा– धनुषा, प्रमोद कुमार महरा– सिराहा, नागेन्द्र मगर–मोरङ, अल सोइया भन्ने कम्पनीबाट हुनुहुँदो रहेछ ।

ब्लु स्काई, ओक्स फ्रोडबाट आउनुभएका उहाँहरुजस्तै अरु ७५ जना नेपाली रुँदै नेपाल फर्केका छन् । के तिनीहरुलाई फसाएका मेनपावरमाथि कारबाही गरियो ? किन यस्तो ज्यादति सहनु परिरहेको छ नेपालीहरुले ? नेपाल सरकारको जिम्मेवार निकाय जो निर्विकल्प छ साउदी अरबमा के त्यो पेप्सीमा बिक्ने कुरा साँचो हो त ? यदि हैन भने के कति कारणले उनीहरु नेपाल फर्किनसमेत पाउँदैनन ? गम्भीर भएर सोच्न जरुरी छ । नेपाल सरकारको यस बिषयप्रति ध्यानाकर्षण होस ।

साउदी अरेबिया ( रियाद )

Leave a Reply

Your email address will not be published. Required fields are marked *