किन राखियो होला
मेरो नाम चोर खोला* !
म चुपचाप ज·लबीचबाट
बगिरहेछु
बटुवाहरु मैकहाँ बिसाउँथे थकान
खुट्टा– पैतालाको धुलो पखाल्थे
पसिना पुछ्थे र धुन्थे आफ्नो अनुहार
तिर्खा मेटाउँथे
एकै छिन अडिएर
म बगेको पानीलाई एकटक हेरिरहन्थे
उनीहरुका दुःखको अलिअलि अंश
मै भएर पानी बगेको त हुँ
म भोक, प्यास, थकान मेटाउने थलो
चोरेकै थिएँ भने पनि
मैले दुःख, प्यास र थकान चोरे हुँला
दुःख चोर्नेहरु चोर हुन्छन् र ?
मै माथि भएर चिप्लेकिराझैं चिप्लिदै गुड्छन् गाडीहरु
मेरै छाती टेकेर पिच्च–पिच्च थुक्तै
मैतिर फर्किएर बेसरम ‘शु’ गर्दै
शिर ठड्याएर
आफू चोर नभएजस्तै गरेर हिडिरहन्छन्
मेरै नामसँग सार्थक लाग्ने
यो देशका केही–
नेताहरु
व्यापारीहरु
कर्मचारीहरु
पुलिसहरु
पत्रकारहरु
शिक्षक–प्राध्यापकहरु
वुद्धिजीवीहरु
साहित्यकारहरु
कलाकारहरु
तर, कसैले हेरेनन्
मेरो किनाराको फोहोर
म एकान्तको ‘मोजार्ड’
संगीत सुसेलिरहेछु
आफ्नै यति, गति र लयमा ।
गरिब– दुःखी भएपछि
‘बलराम’ पनि
‘बले’ हुन्छ
सानो भएर होला–हगि ?
मलाई चोरखोला भनेको !
अचम्म !
एउटै पानी
कालीगण्डकीमा जल बग्छ
म पानी बग्छु
आवाजविहीन आवाज
व्यक्तिन नपाएपछि
आक्रोश स्वभाविक बढ्दोरहेछ
बर्खामा आक्रोश
बाढी भएर पोखिन्छु
मैलाई छोएर उभिएका
भीर–भित्ता पाखालाई भत्काइदिन्छु
छेक्न आउने ढुङ्गालाई पल्टाइदिन्छु
(बेला–बेला त
मेटाइदिउँझैं लाग्छ
मैलाई गिज्याइरहने मेरो नाम लेखिएको पाटी
बेनाम बाँच्नुभन्दा
बदनाम नै सही भन्छु र मात्र)
आक्रोश सेलाउदै गएपछि
आफ्नै साइजमा आउँछु
र, बग्छु ।
म ओझेल परेको खोला
अग्लिएपछि
कस्ले हेर्दोरहेछ र
आफूले टेकेको जमीन !
हल्ला
हावा भएर मलाई जिस्क्याइरहन्छ
मैले, नदेखेजस्तो गरेर
जून राति–राति
रुखका चिउलाबाट चोरले झैं चियाउँछ
एकछिन ताप्न पाउँदिन
घाम, पहाडलाई पर्खाल बनाएर
लुकी–लुकी भाग्छ !
निरपराध सजाय भोग्नुको पनि
एउटा बेग्लै मजा हुँदोरहेछ
म चोरखोला
यो ज·लबीच
प्रश्नैप्रश्नका तीरहरुको शैया बनाएर
स्वयम्भू पर्खिबसेको छु ।
इटहरी– १, सुनसरी
*कपिलवस्तुको राजमार्ग छोएर बगेको खोला