… हामीले हात मिलायौं

  
  प्रकाशित मितिः शनिबार, बैशाख ७, २०७०       | 134 Views   ||

Aastha_kc-[आस्था केसी]

हावा जोड–जोडले चलिरहेछ । यो मौसम नै हावाहुरीको मौसम हो ।
स–साना रुखहरु हावाको झोक्कासँगै कहिले पूर्व कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिणतिर ढल्किदिन्छन् । लाग्छ ती स–साना रुखहरुले झुकेर कसैलाई अभिवादन गरिरहेछन् ।
ठूल्ठुला रुखका भने पातहरु मात्र फर्फराइरहन्छन् । जति ठूलो हावाको वेगले पनि तिनका विशाल हाँगाका स–साना झुप्पाहरुलाई मात्र हल्लाइदिन सक्छ । सिंगो रुख त ठिङ्ग उभिमात्र रहेछ ।

दिन बिस्तारै ढल्किरहेछ । पश्चिमी क्षितिज अनौठो आभाले चम्किरहेछ, अब केहीबेरमा नै त्यो अग्लो कालो पहाडले सूर्यको निलिमालाई बिस्तारै निलिदिनेछ र धर्तीमा अँध्यारोको साम्राज्य खडा हुनेछ ।
बिहान गुल्मी जिल्लालाई छाडेर प्यूठानको ठूलाबेशीबाट बसमा चढेका हामी दिन छिप्पिदा नछिप्पिदै प्यूठानको तिराममा आइपुगेका छौं । यो बाटोको लागि हामी अपरिचित छौं । दुवैजना आज पहिलो पटक यात्रा गर्दैछौं  । रोल्पाकी साथी रेनुका र म । यो यात्राजस्तै नयाँ छ यो भूगोल, नयाँ छन् सहयात्रीहरु र विल्कुल नयाँ छ मेरो आफ्नै जीवनको निजी अनुभूति पनि ।

एउटा नयाँ अध्याय शुरु हुँदैछ जिन्दगीको… । यस्तो कुरा मनमा आउँदा नआउँदै एउटा रोमाञ्चकताले मन उद्वेलित हुँदैछ… ।

लौ देवीस्थान आइपुग्यो… यहाँ झर्ने जति झर्नुस् छिटो गर्नुहोला । खलासी चिच्याउँदै थियो । हामी और्लियौं । हामीसँगै अरु पनि केही यात्रीहरु ओर्लिए । केही बेरमै नयाँ यात्रीहरु भरेर गाडी अगाडि बेगिएको थियो ।

अब कसलाई सोध्ने हाम्रो गन्तव्य कहाँनिर पर्छ भनेर । साथमा दुइटा चिट्ठी बोकेकी छु एउटा प्यूठान जिल्ला इन्चार्ज कमरेड अजित को र अर्को दाङ जिल्ला इन्चार्ज कमरेड डायमण्डको । अचम्मको कुरा त के हो भने म ती दुवै नेताहरुसँग अपरिचित छु– बिल्कुल यो भूगोलसँग जस्तै ।
दिदी तपाईंहरु कहाँ जाने ? कसलाई भेट्ने ? १७ वर्ष जतिको किशोरले सोध्यो  । उ स्कुल ड्रेसमा थियो । उसले काँधमा सेतो बोरामा केही बोकेको थियो ।
सर्तक हुनुपर्नेछ किनकि युद्धविराम भइसकेको छैन । दुश्मनको निगरानी आफूमाथि रहेको हुनसक्ने कुराले मन खङ्ग्रङ्ग प¥यो ।
यतै नजिकैसम्म… अन्कनाउँदै र अलमल पर्दै मैले कपाल कन्याउँदै जवाफ फर्काएँ ।
मलाई तपाईं आफ्नै मान्छे सम्झिए हुन्छ । म सहयोग गर्छु तपाईंलाई… । ऊ त साखुल्ले पो पल्टियो ।
बिरानो ठाउँमा यत्ति धेरै आत्मीयता दर्शाउने यो मान्छे को हुन सक्छ भनेर बुझ्नको लागि म एउटा होटलमा छिरें सुटुक्क पानी पिउने बहानामा । अखिल क्रान्तिकारीको स्थानीय नेता रहेछ ऊ । जानेर खुशी लाग्यो ।
भाई सहयोगी स्वभावको रहेछ । उसले हामीलाई प्यूठानका इन्चार्ज कमरेड अजितसँग भेटाइदियो ।

गुल्मी छाड्ने बेलामा त्यहाँका इन्चार्ज वामदेव क्षेत्रीले दुइटा चिट्ठी मेरो हातमा थमाइदिएका थिए । मलाई ती चिट्ठी पु¥याउन भनिएको थियो । दुइमध्ये कमरेड अजितको नाम लेखेको चिट्ठी उनको हातमा थमाइदिए । चिट्ठी पढिसकेर अजित मलाई हेरेर रहस्यमय तरिकाले मुस्काए । एउटा आँखा चिम्सो परेको उनको अनुहारमा अपनत्व भरिएको थियो । अग्लो जिउडाल र गोरो वर्णका उनी उति धेरै नबोल्ने गम्भीर स्वभावका रहेछन ।
केहीबेरपछि एउटा जीपले उकालो बाटो धुलो उडाउँदै हामीलाई तिराम ल्याइपु¥यायो । आजको अन्तिम सेल्टरसम्म ।
भिरालो–भिरालो पाखामा रहेको यो तिराम गाउँको एउटा घरको आँगनबाट तल बगिरहेको राप्ती नदी हेर्दैछु । नदी शान्तसँग बगिरहेछ आफ्नै लयमा । नदीदेखि केही माथि लमतन्न सुतिरहेको सडकमा धूलो उडाउँदै बेला–बेलामा गाडीहरु बेतोडले हुँइकिएको दृश्य मधुरो देखिदैछ । गोधुली साँझ क्रमशः रातको आकार लिन तल्लीन छ ।
हावा उस्तै जोड–जोडले चलिरहेछ ।

*** ***

पर्खी बस तिम्रो आफ्नै छाँया बनि आउनेछु
सत्य–सत्य आउँछु म माया बनि आउनेछु ।
केही दिनअघि मात्र उसलाई लेखी पठाएकी थिएँ यी हरफहरु एउटा पत्रमा । उ पनि त म आउने बाटोतिरै हेरेर बसेको होला… । उसँगको त्यही प्रतिबद्धता पूरा गर्नको लागि प्यूठानको तिरामदेखि दाङसम्मको यात्रामा अगाडि बढेकी छु । अब छिट्टै उसँग भेट हुने कुराले जति रोमाञ्चित छु जीवनको नयाँ पाटो शुरु हुने कुराले उत्तिकै गम्भीर बनेकी छु । उसको याद आउँदा मन कस्तो–कस्तो हुन्छ । मनको कुनामा कतै लाज–लाज जस्तो, कतै डर–डर जस्तो, कतै अप्ठ्यारोपन, कतै सजिलो पन… । खोई ? …यो भावलाई कुन शब्दमा व्यक्त गरुँ… ! कतै शंका पनि छ तर त्यो भन्दा बढी विश्वास छ, भरोसा छ ।

सिङ्गो जिन्दगीको एउटा निर्णायक मोडमा छु । बितेका ४ सय ५० दिनहरुमा उसलाई अनगिन्ती पटक सम्झिएकी छु । उसैको यादमा एक्लै बर्बराएकी छु, एकान्तमा बसेर रोएकी छु र हाँसेकी पनि छु । उसैलाई सम्झिएर मीठा–मीठा कल्पनाहरु सजाएकी छु र सपनाहरु देखेकी छु ।
मेरो जीवनको अभिन्न अंग बनिसकेको, १५ महिनाअगाडिदेखि मैले प्रेम गर्दै आएको एउटा प्रिय मान्छेलाई भेट्न जाँदैछु । उसकै जन्मथलोमा, उसकै कर्मथलोमा । करोडौं जनताहरुको मुक्तिको खातिर पार्टीको निर्देशनमा क्रान्तिले सुम्पिएको जिम्मेवारी पूरा गर्दै गरेको एउटा क्रान्तिकारी योद्धासँग जीवनभरको लागि प्रिय नाता गाँस्न लागेको कुरा सम्झिदा पनि गर्वले मेरो छाती चौडा भएको छ ।

‘… लौ हामी मुर्कुटी आइपुग्यौं …अब यहीबाट दाङको भूगोल शुरु भो ।’ रुट गाइडर भाइको आवाजले मेरो सोचाइको श्रृंखलामा ब्रेक लाग्यो ।
…अब यहीँबाट दाङको भूगोल शुरु भो.., यो वाक्य धेरैबेरसम्म कानमा गुञ्जिरह्यो ।

उसँगको पहिलो भेटमा सोधेकी थिएँ– …दाङ कस्तो छ हँ ? लगत्तै उसले प्रतिप्रश्न गरेथ्यो ‘जाने हो र दाङतिर ?’ म एकखाले सरमले झुकेकी थिएँ ।

पहाडी जिल्ला गुल्मीको एउटा टापुमा जन्मिएकी म कहिल्यै यता (दाङ)तिर आउने मौका मिलेको थिएन । संगठनको कामको शिलशिलामा रोल्पा, रुकुम, प्यूठानका केही भूभाग भने घुमेकी थिएँ । आज पहिलोपल्ट दाङको भूमिमा टेक्दा पनि पटक्कै पहिलो जस्तो लागेन । बरु यस्तो लागिरह््यो म यो भूगोलसँग निकै पहिलेदेखि नै परिचित छु । मनमा आफ्नोपनको न्यानो घाम लागिरह्यो । मेरो जीवनका अब आउने दिनहरु यही भूगोलमा बित्नेछन् भन्ने कुरा सम्झिँदा मनमा यो ठाउँप्रतिको आदर अरु धेरै बढेको महसुस भयो ।

मुर्कुटी बजारनजिकै रहेको सञ्चार पोष्टमा हामीलाई छाडेर प्यूठानी भाइ प्यूठानतिरै फर्कियो । यतिञ्जेलको साथको लागि धन्यवाद दिएर उसलाई बिदा गरें ।
अब म उसको नजिकै छु र उ पनि मेरो नजिकै छ । यो कुराले उसँग छिट्टै भेट्न पाए हुन्थ्यो भन्ने लालसाले मनमा डेरा जमाइरह्यो । तर उ कहाँ, कुन गाबिसको कुन गाउँमा छ भन्ने कुरा थाहा थिएन । यत्ति थाहा थियो उ यतैकतै गाँउका जनताको घरआँगनमै होला । आजैदेखि अर्थात् चैत्र २४ गतेदेखि हुन लागेको जनआन्दोलन सफल पार्नको लागि जनतालाई संगठित गर्दै होला । जनयुद्ध र जनआन्दोलनको बारेमा जनतालाई सम्झाउँदै–बुझाउँदै होला ।

पोष्टका दुइटी बहिनीहरुलाई कमरेड डायमण्डलगायत उनीहरु कहाँ छन् भन्ने केही पत्तै थिएन । फोनको त जमाना नै थिएन भनौं । यत्रो ठूलो भूगोलमा अब म उसलाई कहाँ मात्र खोजूँ ?
त्यो दिन त्यत्तिकै बित्यो । रामपुरतिर जाने कि स्यूजातिर जाने निक्र्योल गर्न नसकेर हामी पोष्टमै बस्ने निर्णय ग¥यौं ।

आजै अर्थात् २०६२ चैत्र २४ बाट देशव्यापीरुपमा जनआन्दोलनको घोषणा गरिएको छ । संसदीय सात दल र नेकपा माओवादीबीच भएको १२ बूँदे समझदारीअनुसार आजकै मितिदेखि देशमा आमहड्ताल घोषणा भएको छ । बदलिएको राजनीतिक परिस्थिति सँगसँगै म भने टाढा रहेको आफ्नो मायालुलाई भेट्न निस्केकी छु ।
यतिखेर म दुवै कुरामा आशावादी छु– पहिलो, छिट्टै दोस्रो जनआन्दोलन सफल भएर देशले काँचुली फेर्नेछ । दोस्रो, मेरो आफ्नै जीवनको नयाँ अध्याय शुरु हुनेछ ।
कस्तो गज्जबको संयोग । त्यसपछि फेरि सबै कुरा नयाँ ढंगले अगाडि बढ्नेछ । देशमा शान्ति छाउनेछ र आम जनताले महसुस गर्ने गरी नै परिर्वतन हुनेछन् मानिसका दैनिकीहरु । म पनि ती मानिसहरुमध्येकै एक हुनेछु ।

*** ***

मुर्कुटीको पोष्टबाट निस्केर कता जाने भन्ने सल्लाह गर्दैगर्दा अर्घाखाँचीका दलित नेता कमरेड सरल टुप्लुक्क भेटिए । उनले हाम्रो गन्तव्य स्थान तय गरिदिए । स्यूजाको प्यारधारा नै हाम्रो गन्तव्य बन्यो ।
चैत्र महिनाको उखरमाउलो गर्मीमा लामा–लामा पाइला चाल्दै बेलुकी ५ बज्दानबज्दै हामी गन्तव्यमा पुगिसकेका थियौं । त्यतिखेर पाइला अलि छिटो–छिटो चलेजस्तो भान भइरहेथ्यो मलाई ।
सिरसिर हावा चलिरहेको थियो । वातावरण शान्त र आनन्दमय थियो । आजको गोधूली साँझ मेरो लागि अझै सुनौलो बनेर आएको थियो । मैले महिनौं अघिदेखि प्रतिक्षा गरेको साँझ थियो यो ।

त्यो चश्मा लगाएको पातलो मान्छे मेरो अगाडि उभिएर मुस्कुराइरहेको थियो । उसको अनुहारको आभा उज्यालिएर धप्प बलेको थियो ।
अहिलेसम्म उसलाई भेट्न उत्ताउलिएकी म अब केही संवेदनशील भएकी थिएँ । किनकि बिशेष क्षेत्रका इन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’ले नयाँ बर्ष ०६३ को पूर्वसन्ध्यामा हाम्रो जनवादी विवाहको तयारी गरेका थिए ।

त्यो ०६२ चैत्र ३१ गतेको दिन थियो ।
दोस्रो जनआन्दोलन उत्कर्षतिर बढिरहेथ्यो । ज्ञानेन्द्र नेतृत्वको निरंकुश सरकार झन्–झन् फासिष्ट बन्दै गइरहेको थियो । शान्तिपूर्ण जुलुसमाथि गोली बर्षाइरहेथ्यो तैपनि जनता जागेका थिए– एउटा स्पष्ट अभिष्टसहित सडकमा ओइरिएका थिए ।
सूर्यको निलिमा भर्खरै धर्तीमा फैलिएको थियो । हरिया पाखाहरु कतै–कतै राता गुराँसहरुले झनै सुन्दर देखिएका थिए । बकमबेली र गुलाबका फूलमा भर्खरै जवानी चढ्दै थियो ।

दाङवाङ भन्ने गाउँको एउटा घरमा विवाहको कार्यक्रम राखिएको रहेछ । गाउँले मानिसहरु पनि जम्मा हुँदै थिए ।
…र हामीले हात मिलायौं, शहीदलाई सम्झिएर, हँसिया हथौडा अंकित रातो झण्डालाई साँक्षी राखेर, पार्टीका नेताहरुको अगाडि जीवन रहेसम्म क्रान्तिमा समर्पित भइरहने प्रण ग¥यौं र जाहेर ग¥यौं एउटा शहीद भए बाँचेकाले अधूरा सपना पूरा गर्ने प्रतिबद्धता पनि ।

…र सामना सांस्कृतिक परिवारका कलाकारहरुले गीत गाए–
शुभकामना शुभकामना
नयाँ जीवन प्रारम्भको शुभकामना
नयाँ बर्ष प्रारम्भको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *