नेपालमा गिद्ध सुरक्षित क्षेत्रको अवधारणा र हाम्रो दायित्व

  
  प्रकाशित मितिः आइतवार, बैशाख ८, २०७०       | 154 Views   ||

Dilli bdr rawot-[डिल्लीबहादुर रावत]

यस धर्तीलाई सृष्टियोग्य बनाउन प्रकृतिले बढी आश्चर्यजनकरुपमा आफ्नो सृष्टिको समायोजन गरिदिएको छ । आफ्नो सृष्टिचक्रमा कुनै पनि किसिमको अवरोध कसैले पु¥याउन नसकोस् वा हिम्मत गर्न नसकोस् भनेर नै जैविक विविधतामा एकता र एकतामा विविधता बनाइदिएको छ । पारस्थितिकीय प्रणाली नखलबलियोस् भनेर एकको अस्तित्व अर्कासँग जोडिदिएको छ । प्राकृतिक इकोसिष्टम बनाई राख्न चेक एण्ड व्यालेन्सको फर्मूलाबाट सृष्टि गरिदिएको छ ।

गिद्ध र यसको महत्व
गिद्ध प्रकृतिको एउटा सन्तान हो । यो प्रकृतिमा रहेका ठूला प्रजातिका पंक्षीहरुमध्ये एउटा गिद्ध पनि हो । मांसाहारी पंक्षी हुँदाहुँदै पनि यसले न त ज्यूँदो प्राणी मारेर खान्छ, न खाद्यबाली र फलफूल नै खान्छ । खान्छ त केवल मरेको सिनो र फालेको मासुजन्य फोहर मात्र । त्यसैले यसलाई प्रकृतिको निःशुल्क कुचिकार भनेर भन्ने गरिएको छ ।

विश्वमा गिद्ध २३ प्रजातिका छन् भने दक्षिण एसियामा ९ प्रजातिका पाइन्छन् । नेपालमा ८ प्रजातिका गिद्ध पाइने गरेकोमा गत वर्षदेखि नेपालको गिद्ध रेष्टुरेण्टमा लामो ठुँडे नामक नयाँ प्रजातिको गिद्ध देखिएपछि अब नेपालमा ९ प्रजातिका गिद्ध पाइन थालेका छन् । नेपालमा पाइने गिद्धहरुमा डंगर, हिमाली, खैरो, सानो खैरो, राज गिद्ध, सुन गिद्ध, गोब्रे, हाडफोर र लामो ठुँडे रहेका छन् ।

निःशुल्क कुचिकारको रुपमा गिद्ध :
मानिसले सार्वजनिक वा अरुको घर, आँगन, सडक, चौर सफा गर्नुप¥यो भने ज्याला नलिएर काम गर्दैनन् । तर गिद्धले मरेको सिनोको सम्पूर्ण भाग ५÷१० मिनेटमै खाएर सफा गरिदिन्छ । त्यसैले प्रकृतिले धर्ती सफा स्वच्छ राख्नका लागि सृष्टि गरिदिएको पंक्षी भएकाले नै प्रकृतिको निःशुल्क कुचिकारको उपमा दिएको हो । यदि गिद्ध हुँदैनथे भने मरेको सिनोबाट गन्ध आएर वातावरण दुषित बनाउने मात्र होइन उक्त सिनोलाई भुस्याहा कुकुर, स्याल, कौवा र मुसाजस्ता पशुपंक्षीले मानव बस्तीमा पु¥याइदिने थिए । जसले गर्दा ठूल्ठूला महामारी रोगहरु फैलिएर हाहाकार बनाउने थियो ।

यति मात्रै होइन वनजंगल, पहाड, कन्दरामा रहेको पानीको मुहान वा खोलाहरुमा सिनो मर्न पुग्यो भने त्यो पानीमा सड्न गई पानी दुषित हुन पुग्दछ । सो पानी थाहा नपाएर पिएमा हैजाजस्ता महामारी रोगहरु फैलिन पुग्दछ । यसरी धर्ती स्वच्छ सफा राखेर मानिसलाई स्वस्थ बनाउन लागिपर्ने पंक्षी मानवमैत्री त हो नै, स्वच्छ पर्यावरणको सुचक पनि मानिन्छ ।

गिद्ध लोप हुनुको कारण :
जब दक्षिण एसियामा गिद्धको संख्या अकल्पनीय रुपमा घट्न थालेपछि यसको कारण खोजिन थाल्यो । धेरै देशका वैज्ञानिकहरु गिद्ध किन यसरी घटिरहेका छन्, कति प्रतिशतले घटिरहेका छन् भनेर अध्ययन अनुसन्धान गर्दै जाने क्रममा डङ्गर गिद्ध ९९ प्रतिशत र अरु प्रजातिका गिद्धहरु क्रमशः ९८ का दरले घटेको निक्र्योल निकाले । आहाराको कमी वा बासस्थानको कमी हो कि भनी अध्ययन गरियो तर त्यो अनुसन्धानसिद्ध हुन सकेन । त्यसपछि मरेका गिद्धहरुलाई प्रयोगशालामा लगेर त्यसका अंगहरु अध्ययन गर्न थालेपछि उसको शरीरमा अत्यधिक मात्रमा युरिक एसिड फेला प¥यो । मृगौला ड्यामेज भएको देखियो । यसो हुनुको कारण खोज्दै जाँदा पशु बिरामी हुँदा दुखाई कम गर्न प्रयोग गरिने डाइक्लोफेनेक नामक औषधी भएको ठहर भयो । उक्त औषधी पशुमा प्रयोग गरेको एक हप्ताभित्र त्यो पशु मर्न गयो भने उक्त सिनो खाएपछि गिद्धका भित्री अङ्गहरु सुनिन्ने र भिसरल गाउनको समस्या उत्पन्न भई तुरुन्त मृगौला ड्यामेज भएर मर्दोरहेछ । त्यसपछि नेपाल सरकारले २०६३ सालमा उक्त औषधी उत्पादन र बिक्रीमा प्रतिबन्ध लगायो । तैपनि लुकीछिपी उत्पादन हुने र लुकीछिपी नेपालमा भित्रिएको पाइएकाले पहिलो चरणमा पसल छापा मारेर उक्त औषधी जफत गरि त्यसको सट्टामा मेलोक्सिक्याम दिइयो ।

तैपनि मानिसमा प्रयोग हुने डाइक्लोफेनेक अझै पनि लुकीछिपी पशुलाई प्रयोग गरिएको पाइएको छ । डाइक्लोफेनेक औषधीका अतिरिक्त कुकुर, बिरालोलाई विष खुवाएर मार्ने र बाघ मार्नका लागि पशुमा विष हालिदिनाले त्यही सिनो खाएर गिद्ध मर्ने गरेका छन् । त्यस्तै, अवैज्ञानिक ढंगबाट तानिएका बिजुलीका तार पनि गिद्धको मृत्युमा केही जिम्मेवार रहेका छन् । एउटा सिनो विषाक्त हुन गयो भने सयौं गिद्ध एकैचोटी मर्ने भएकाले लोप हुने अवस्थामा पुगेका छन् ।

गिद्ध रेष्टुरेण्ट किन खोलियो ?
गिद्ध समूहमा बस्ने, समूहमै उड्ने र समूहमै खाने भएकाले एउटा सिनो बिषाक्त हुन गएमा सयौं गिद्धको एउटै चिहान हुन पुग्ने भएकाले विश्वमै पहिलोपटक समुदायस्तरमा नवलपरासीमा गिद्ध रेष्टुरेण्ट खोलियो । गिद्धलाई शुद्ध आहार एकै ठाउँमा खुवाउँदा संरक्षण हुन्छ कि भनेर नेपाली मस्तिष्कबाट निस्किएको पहिलो अवधारणा हो– गिद्ध रेष्टुरेण्ट । गिद्ध रेष्टुरेण्टमा वृद्ध पशुलाई आश्रम बनाएर पाल्ने उसको कालगतिले मृत्यु भएपछि गिद्धलाई दिनका लागि खोलियो ।

अहिले नेपालमा ६ वटा गिद्ध रेष्टुरेण्ट छन् । नवलपरासी, पोखरा, रुपन्देही र कैलालीमा १÷१ वटा र दाङमा २ वटा गरी ६ वटा रेष्टुरेण्ट खोलेपछि नेपालमा गिद्ध विनासको क्रम धेरै रोकिन पुगेको प्रमाणित भएको छ । बर्षेनी गरिने रोड सर्वे र रेष्टुरेण्टमा राखिने डाटाले पुष्टि गरेको छ । यो सफल भएको देखेर भारत र पाकिस्तानमा पनि गिद्ध रेष्टुरेण्ट (गिद्ध सुरक्षित एरिया) बनाउने तयारी तीव्ररुपमा बढिरहेको छ ।

विषादीले गिद्धको मृत्युमा वृद्धि :
आजसम्म बजारमा अनुगमन गर्दा डाक्लोफेनेक भेटिएको छैन । तैपनि गिद्ध वर्षेनी ठूलो संख्यामा दाङलगायत विभिन्न जिल्लामा मरिरहेको अवस्था छ । यसरी गिद्ध मर्नुमा बाघ, हुँडार, बँदेल र भुस्याहा कुकुर मार्नको लागि मरेको सिनोमा विष राखीदिदा अवोध पंक्षी गिद्धले खाएर सामूहिक मृत्यु भइरहेको छ । यतिमात्रै होइन कुकुर, बिरालोजस्ता जनावरलाई विष खुवाएर मार्ने तर नगाडिदिने हुनाले पनि गिद्धहरुको सामूहिक मृत्यु भइरहेको छ ।

२०६७ चैत्रमा हापुर–३ हिम्मतपुरमा विष हालेर मरेको कुकुर फालिदिदा १५ वटा गिद्ध मर्न पुगेका थिए भने अन्यत्र गएर मर्नेको संख्या पनि धेरै छ । यस्तैगरी बिजौरी–९ स्यालापानीमा बँदेल र हुँडार मार्नको लागि रातिको समयमा सिनोमा विष हालिदिदा ३ वटा गिद्ध मर्न पुगे भने गाउँलेहरु गिद्ध मरेको देखेर अरु गिद्धलाई सिनोमा बस्न नदिई मर्नबाट जोगाए, पछि उक्त सिनो गाडियो । त्यस्तै यसै साल सप्तरी, नवलपरासीलगायतका जिल्लामा पनि सिनोमा विषादी हालिदिँदा गिद्धहरु मर्न पुगे । जसले गर्दा गिद्ध संरक्षण अभियानमा ठूलो चुनौती थपीन गएको छ ।

बिषादीवाट गिद्ध बचाउनको लागि सरकारले गर्नुपर्ने कार्य :
सरकारी एवं गैरसरकारी क्षेत्रबाट जनचेतना फैलाउनु पर्दछ ।
बिषादी बिक्री वितरण गर्नेहरुले किन्ने व्यक्तिको नाम, ठेगाना, उद्देश्य लेखेर राख्ने र पशुमा प्रयोग नगर्ने भनेर भन्नुपर्ने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गर्ने ।
बिषादी हालेर पशु मार्ने वा मरेको सिनोमा विषादी हाल्नेलाई कडाभन्दा कडा कानूनी कार्वाही गर्नको लागि प्रष्टरुपमा कानून निर्माण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।
बिद्यमान वन्यजन्तु ऐनअन्तर्गत कार्वाही गर्नको लागि सम्बन्धित निकायहरु सकृयरुपमा लाग्नुपर्दछ ।
सरकारले सञ्चारमाध्यमलाई दिने लोककल्याणकारी विज्ञापनअन्तर्गत विषादीले हुने असरबारे विज्ञापन दिने व्यवस्था मिलाउन अनुरोध गर्ने ।
गिद्ध संरक्षणको लागि आवश्यक नियम कानून र बजेटको व्यवस्था मिलाउन नेपाल सरकारसँग जिल्ला प्रशासनमार्फत् अनुरोध गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *