यसकारण म आतंककारी

  
  प्रकाशित मितिः आइतवार, बैशाख ८, २०७०       | 113 Views   ||

Nabin bibhas-[नवीन विभास]

‘आतङ्ककारी आरन’मा आतङ्ककारी उमार्ने शैली अनौठो छ, सेनासँग । जसरी नि ‘आतंककारी’ प्रमाणित गर्ने साध्य छ ।
जसलाई भेट्यो पकडेर ‘आतङ्ककारी आरन’मा यातनाको गोलमा गालेर आतङ्ककारीमा अनुवाद गर्नु यतिखेर सेनाको काम । यातनाले मरे, भन्यो– ‘दोहोरो मुठभेड ।’ गोली नखर्चेर खानामा भ्रष्टाचार गर्न मन लागे बेपत्ता पा¥यो, टन्टासाफ ।

हात, मुख, आँखा सबै बन्धक छ । मौन । मौन संस्कृति मौलाएको छ (पर्खालबाहिर ।)
चौबीसै घण्टा, पछिल्तिर हत्कडी, आँखामा पट्टी बाँधेर बालुवा–गिट्टीमा लडाइएको छ । मनमर्जी छ । चिच्याउनु हो, रुनु हो र हदै भए ‘गोली हान्’ भन्नु हो, हामीले गर्ने प्रतिकार ।

सारा ‘मुसलमान र कम्युनिष्टलाई आतङ्ककारी’ देख्ने अमेरिकाको जस्तै ‘आतङ्ककारी आँखा’ छ सेनाको । खुवाउँदाखेरि कहिलीकसो ‘मानवअधिकार’को लोकाचार पार्छ पातकी बाहुनले गायत्री मन्त्र जपेजस्तो, ‘मानव अधिकार नमान्दा हौं त खाना कसरी दिन्थ्यौं ?’

आतङ्ककारी बनाउने भिन्नभिन्न आधार रहेछ, सेनासँग । ती आधारलाई स्वयंसिद्ध तथ्यको रूपमा प्रयोग गर्छ ।
मेरो सन्दर्भमा –मगर, रोल्पाली, विद्यार्थी, अविवाहित, धेरै पढ्नु, पत्रकार, लेखक, कलाकार । आतङ्ककारीका लागि यी स्वयंसिद्ध तथ्य भए आतङ्ककारी साध्य प्रमाणित हुने ।

गम्छु –वर्ग दृष्टिकोणको आँखा हुन्छ र त फरक छ, दुनियाँ ।
यो यातनालय आरन हो । आरनमा नयाँ वस्तु निर्माण गरिन्छ भने यहाँ विचार र आस्थासँगै नश्वर शरीरको पनि बध । परम्परागतरूपमा भन्ने हो भने आरन नयाँ वस्तु निर्माणस्थल हो भने यो ध्वंशस्थल ।
आरनमा प्रयोग गरिने कोइलाको साटो पाइप, करेन्ट, कुन्दा, लाठी, हिलो, पानी …प्रयोग गर्छ । ‘लाल’ परेको फलामलाई पिट्दै आकार दिएजस्तै जबर्जस्त ‘आतङ्ककारी’को आकार दिने जन्मेदेखिको बल गर्छ । नरम र कडा फलामको जातलाई जस्तै बिभिन्न मान्छेका जातलाई आतङ्ककारी बनाउँछ । प्रक्रिया यति विभत्स कि जहाँ मान्छेको अस्तित्व मेटिन्छ र तुरून्तै ..।

सम्झन्छु–
कुनै बेला केहीबेर थामिएर फेरि थालिन्छ –बधशालामा चित्कार । राङ्कोट कामी डेरा आँसी जप्न गएको याद आउँछ । झोलामा आँसी बोकेर जान्थें, काकासँग । आरने काका सार्की कामीले आकार दिन्थे भने उनका जवान छोराहरूले पसिनाले भिज्दै घन हान्थे । आरने ओडारमा फलाम पिटेको र कोइलामा आगो फुकेको ‘भुरभुर’ आवाज आरनबाहिरसम्म छरिन्थ्यो ।

‘नयाँ वस्तु’ले आकार ग्रहण गरेपछि लाल परेको फलामलाई चिसो पानीमा च्वाइय ‘पाइन’ हाल्थे । ठीक, फलाम कुटेझैं बधशालाको कुटाइ र बदलामा चित्कार गुञ्जन थाल्छ । कुट्दासम्म कुटेर बेहोस पारेर चीसो पानीमा पाइन हालेजसरी च्वाइय गरेझैं पालमुनि भुट्ट फाल्छ । चिच्याएर गला थपक्क भई ‘ख्यार्रख्यार्र’ मात्र आवाज आउँछ ।
जसरी नि आतङ्ककारी बनाउँदा फलाम चुँडिएजस्तै यातनाकै क्रममा मारिन्छन्, कति । राजाको सेनाले आतङ्ककारी बनाइरहन्छ । र, गुञ्जिरहन्छ –हरपल कोलाहल, चित्कार ।

हुन त सिगै ठाउँ बधशाला नै हो । तर पनि विशेष ठाउँ पनि छ, बधशाला जहाँ एक सय पाइला हिडे पुगिन्छ । जहाँ आरन छ, आतङ्ककारी गाल्ने । बध गरिने –विचार, सपना र सिंगै मान्छेलाई ।
होजस्तो अनुभूति हुन थाल्यो –आतङ्कवादी हुँ म । कारण –बधशालामा सोध्दाखेरि होस् या पालमुनि, पलप्रतिपल आतङ्कवादीकै सन्दर्भले कोट्याइरह्यो । सायद मैले नभएर कुनै गैररोल्पाली या गैरमगरले लेखेको भए सायदै आतङ्कवादी दस्तावेज हुन्थ्यो होला मेरो किताब ?

सेनाको बुझाइमा आतङ्ककारीका पर्याप्त प्रमाण मौजूद छन्, मसँग । उपायहीन म, माओवादी होइन भने पनि हो भने पनि । आतङ्ककारीको तक्मा जसरी तसरी पनि वैध गर्र्छ, ‘तँ आतङ्ककारी नभए के होस् ?’

कोही त यही आएर मात्र ‘माओवादी’ सुनेको बताउँछन् । लाग्यो, ‘फक्र्यो भने’ ‘माओवादी’ घोकेर जानेछ ।

सेनाले जबर्जस्त घिचाएर घोकाएको ‘आतङ्ककारी पाठ’ चुप लागी घोक्लान्, बाँचेर फर्के भने ?
किताबको बारेमा सोधेका चार दिनमध्ये एकदिन भनेको थियो, ‘जाम्, छापेको ठाउँ ?’
भनें, ‘बजारमा आइसक्यो ।’ किताब लेख्नु मात्र प्रमाण थिएन, प्रमाणको रूपमा अरू पनि आधार बनायो–
मगर
रोल्पाली
धेरै पढ्नु (सेनाको नजरमा !)
अविवाहित
विद्यार्थी
पत्रकारिता गर्नु
किताब लेख्नु
कलाकार हुनु

विद्यार्थी
‘मु…! बाआमाले कमाएको पैसामा मोज गर्दै आतङ्क फैलाउने ?’ घरायसी जिम्मेवारी नभएकाले विद्यार्थी नै आतङ्ककारी हुन्छन् भन्ने गजबको बुझाइ रहेछ सेनाको । भएजति विद्यार्थी आतङ्ककारी हुन् भन्ने सोंच मौलाएको रहेछ ।
‘मु..विद्यार्थी नभए को हुन्छ आतङ्ककारी ?’
उल्टो प्रश्न तेस्र्याएर स्वयंसिद्ध तथ्य लगायो, ‘तँ मु…विद्यार्थी भएकाले आतङ्ककारी नै होस् ।’

पढ्नु
पढेजति आतङ्कवादी हुन्छन् भन्ने मान्यता रहेछ, सेनासँग । पढ्नु भनेको माक्र्सवाद पढ्नु हो र निरंकुशताको खिलाफमा हुनु हो भन्ने उनीहरूको विश्लेषण रहेछ ।
‘यति पढेको आतङ्ककारीमा लाग्नलाई हो ?’ कुट्ने आदेश दिदै आफैले गोद्थ्यो, ‘होइन, यहाँ त नपढेका त कोही पनि छैनन्, सालेहरू ।’ कुट्दा या कुट्नुअघि फेरि दोहो¥याउँछ ।
प्रायः क्याम्पसका विद्यार्थी छौं –आरआर, सरस्वती, ताहचल क्याम्पसका ।
सम्झाउने हिसाबले भन्छ कुनै बेला, ‘यति पढेको मान्छे किन लागिस् ?’
थप्छ, ‘जागिर किन गरिनस् ?’
‘कसरी पढेको ? यति पढेको आतङ्ककारीमा नलागी छाड्छ ?’
स्वयंसिद्ध तथ्य लगाउँछ, ‘तँ धेरै पढेकोले आतङ्ककारी होस् ।’

लेखक
लेख्नु सेनाको आँखामा आतङ्ककारीको सबैभन्दा भयंकर गुण हो । ‘वैचारिकरूपमा नजिक’ मेरो किताबले सेनाको स्टेरियोटाइपको आँखालाई मलपानी दियो ।
‘मु…कति उमारिस् आतङ्ककारी ? मान्छेलाई आतङ्ककारी बनाउने ?’
जसरी पनि पेल्छ, ‘लेख्नेहरू सबै आतङ्ककारी नै हुन् ।’ स्वयंसिद्ध तथ्य लगाउँछ, ‘तँ लेखक भएकाले आतङ्ककारी होस् ।’

पत्रकार
सेनाको नजरमा सूचनाको हक र मानवअधिकारका कुरा गर्ने जम्मै माओवादी हुन् । पत्रकारिता र मानवअधिकारका कुरा गर्ने आतङ्कवादी हुन् । सेनाको तर्क छ, ‘माओवादी सहरमा मानवअधिकार र पत्रकारको खोल ओढेर आतङ्क मच्चाइरहेछन् ।’
‘मु…हो, हाम्रा कुरा झिंगे टाउकोमा छाप्छन्, आतङ्ककारीका ठूला अक्षरमा । आतङ्ककारी फैलाउने पत्रकार नै हुन् । तँ पनि कति आतङ्ककारी फैलाइस् ? भन् ।’
स्वयंसिद्ध तथ्य लगाउँछ, ‘तँ पत्रकार भएकोले आतंककारी होस् ।’

मगर
‘मगराँत मुक्तिमोर्चामा किन लागिस् ?’ नलागेको बताएपछि, ‘मु…मगर भएर पनि लागिन् भन्छस् ?’
घरी भन्छ र गोद्छ, ‘मगर सबै आतङ्ककारी हुन् । तँ पनि आतङ्ककारी नै होस् ।’ फेरि सम्झेजसरी भन्छ, ‘पासाङ पनि पुन तँ पनि त पुन होइनस् ?’ नारायणसिंह पुन पनि ‘माओवादी’ भएको दाबी ग¥यो, ‘मिलेको छ ।’
‘ब्राम्हणवादी दर्शन’बाट सञ्चालित सामन्ती व्यवस्थाका पेचकिला न थिए यी । उही स्टेरियोटाइप चश्मा, आँखामा । साँच्ची नारायणसिंह पुन र बालाराम घर्तीहरू नहुँदा हुन् त हुँदो हो किन यस्तो ? लागिरह्यो साँच्ची यिनीहरूले भनेजस्तै मगर जम्मै आतङ्ककारी भइदिए हुँदो हो कस्तो यो देश ?
आखिरीमा स्वयंसिद्ध तथ्य लगाउँदै गोद्छ, ‘तँ मगर भएकोले आतङ्ककारी होस् ।’

रोल्पाली
‘रोल्पाली भएर आतङ्कवादी नभए के होस् ?’
रोल्पाली हुनु नै माओवादी हुनु हो, सेनाको नजरमा ।
‘मु…हाम्लाई था’छैन, रोल्पाली आतङ्ककारी हुन् ।’
स्वयंसिद्ध तथ्य लगाउँछ, ‘तँ रोल्पाली भएकाले आतङ्ककारी होस् ।’

अविवाहित
‘किन बिहे नगरेको ?’
‘कतिलाई गोली हानिस् ?’
‘कति छन् तेरा तरूनी ?’
‘तरूनी जति नि पाइने आतङ्कवादीमा, किन बिहे गर्नु प¥यो, होइन ?’
स्वयंसिद्ध तथ्य लगाउँछ, ‘तँ बिहे नगरेकोले आतङ्ककारी होस् ।’

कलाकार
‘मु…बन्दुक बोक्ने गीत गाउने ? गाउँलेलाई उछाल्ने ? कलाकार भनेका आतङ्ककारी हुन् ।’
गोद्न आदेश दिदै भन्छ, ‘मु… रेडियोले जस्तो होइन । कस्ता गीत गाउँछन् भने गाउँलेहरू जंगलै पस्छन् मु…। जनता भड्काउने यिनै कलाकार हुन् ।’
त्यसपछि कलाकार भएकैले स्वयंसिद्ध तथ्य लगाउँछ, ‘तँ कलाकार भएकाले आतङ्ककारी होस् ।’
गजबका तर्कना र प्रश्न सेनाका ।
सेनाको बुझाइमा गाउँमा मात्र माओवादी छन् । सहरमा माओवादी भनेका लेखक, पत्रकार, मानवअधिकारवादी, कलाकार, विद्यार्थी नै हुन् । यिनैका खोल ओढेर आतङ्ककारी काम गरिरहेछन् ।

उनीहरूको ठम्याइ छ, हारको कारण–पत्रकार, लेखक, कलाकार र मानवअधिकारवादी हुन् ।
सेनाको बुझाइमा आतङ्ककारीका पर्याप्त प्रमाण मौजूद छन्, मसँग । उपायहीन म, माओवादी होइन भने पनि हो भने पनि । आतङ्ककारीको तक्मा जसरी तसरी पनि वैध गर्र्छ, ‘तँ आतङ्ककारी नभए के होस् ?’

लेखकको प्रकाशोन्मुख संस्मरण संग्रह ‘रातको १२ बजे’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *