आयुर्वेदिक औषधी उत्पादन योजना अलपत्र

  
  प्रकाशित मितिः बिहिबार, बैशाख २६, २०७०       | 191 Views   ||

NSBB-[जनक नेपाली]
दाङ । जडिबुटी उद्यान तयार गरी दाङबाटै आयुर्वेदिक औषधी उत्पादन गर्ने नेपाल संस्कृत विश्वविद्यालयको योजना अलपत्र परेको छ । सयौं विघा जमीन रहेको विश्वविद्यालयले किसानहरुसँगको जग्गा विवाद नटुङ्गिदा आयुर्वेदिक औषधी उत्पादनका लागि गर्ने भनिएको पुदिनो खेतीको योजना अलपत्र परेको हो ।

आयुर्वेदिक औषधी उत्पादनको योजना बनाए पनि विश्वविद्यालयको जग्गा विवाद नटुङ्गिदा काम अघि नबढेको विश्वविद्यालयका प्रशासक दिलीप भट्राईले बताउनुभयो । उहाँका अनुसार शिक्षण अस्पताल र जडिबुटी उद्यान निर्माणका लागि कार्यालय परिसरमा करीब २५ करोडको लागतमा भवन निर्माण गर्न लागिएको छ । आयुर्वेदिक जडिबुटीका लागि देउखुरी क्षेत्रको जमीनमा पुदिनो खेती गर्न भनेर माटो परीक्षणसमेत गरिसकिएको भन्दै भट्टराईले जग्गाको मुआब्जालगायतका विषयमा किसानहरुसँगको कुरा नटुङ्गिदा समस्या भएको बताउनुभयो ।

विश्वविद्यालयको नाममा देउखुरी क्षेत्रमा मात्रै १ हजार ३ सय बिघा बढी जग्गा रहेको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार गोबरडिहामा ३४ विघा १९ कठ्ठा १३ धुर, सतबरियामा १ सय ६८ विघा ७ कठ्ठा १७ धुर र सतबरियामा १ सय ३२ विघा १२ कठ्ठा साढे १७ धुर गरी देउखुरी क्षेत्रमा मात्रै १ हजार ३ सय ३६ विघा साढे ७ धुर जमीन विश्वविद्यालयको नाममा रहेको छ ।

अहिले देउखरीको जमिन सवै किसानले कब्जा गरेको उहाँले बताउनुभयो । देउखरीको जग्गा किसानले कब्जा गरेपछि विगत ९ वर्षदेखि त्यस क्षेत्रको आम्दानी नआएको उहाँको भनाई छ । ‘मुआब्जा दिन्छौं भन्दा पनि किसानले जग्गा फिर्ता गर्दैनन्, उहाँले भन्नुभयो– ‘देउखरी क्षेत्रको जमीनमा गर्ने भनिएको पुदिनो खेतीको योजना जग्गाकै विवादका कारण अलपत्र परेको छ ।’ उहाँका अनुसार नाष्ट प्राध्यापक चिरञ्जीवी रेग्मीको संयोजकत्व तीन सदस्यीय समितिले माटो परीक्षणसमेत गरिसकेको छ ।

देउखुरी क्षेत्रबाहेक विश्वविद्यालयको जग्गा मानपुर र जिनुवागाउँमा गरी १ सय ४० विघा १२ कठ्ठा २ धुर रहेको छ भने बिजौरीको बर्लेनी र दोकानेडाँडामा १ सय ८५ विघा ११ कठ्ठा जग्गा रहेको छ । बिजौरीको बर्लेनी र जिनुवागाउँमा बर्सेनी ३ लाख भाडामा अष्ट्रिज चरा पाल्नका लागि एक निजी कम्पनीलाई ठेक्का दिएको भट्टराईले जानकारी दिनुभयो । त्यस्तै, बिजौरीको दोकानेडाँडामा जडिबुटी खेती गरिएको पनि उहाँले बताउनुभयो ।

विद्यार्थीको अभाव
विश्वविद्यालयमा गत वर्षदेखि आयुर्वेदिक विषयको बीएएमएस कक्षा सञ्चालन भए पनि विद्यार्थीको संख्या निकै न्यून छ । संस्कृत भाषा र विश्वविद्यालय बाहुनहरुको कर्मकाण्डे विद्या हो भन्ने आम बुझाइले विद्यार्थीको संख्यामा कमी भएको विश्वविद्यालय प्रशासनको भनाई छ ।

विश्वविद्यालय मातहतमा सम्बन्धनप्राप्त पाँचवटा क्याम्पस र १४ वटा आङ्गिक क्याम्पस रहेका छन् । जसमध्ये पूर्वाञ्चलको सोलुखुम्बु र धरान, मध्यमाञ्चलको काठमाण्डौ, जनकपुर र मटियानी, पश्चिमाञ्चलको पोखरा, तनहुँ, गुल्मी, अर्घाखाँची, नवलपरासी, मध्यपश्चिमाञ्चलको दाङ बेलझुण्डी र सुदूरपश्चिमको महेन्द्रनगरमा क्याम्पस रहेका छन् ।

यी सबै क्याम्पसमा साहित्य, न्याय, दर्शन, धर्म, वेद गरी शास्त्रीय विषयअन्तर्गत १८ वटा विषयमा पढाइ हुँदै आएको छ । त्यस्तै, आधुनिक विषयमा नेपाली, अंग्रेजी, गणित, अर्थशास्त्र, राजनैतिकशास्त्र, हिन्दी, मैथली भाषाको पढाई हुँदै आएको छ । विद्यार्थीलाई क्याम्पसले छात्रबास एवम् छात्रवृत्तिको व्यवस्था गर्दा पनि निकै कम मात्र भर्ना हुने गरेको भट्टराईले बताउनुभयो । क्याम्पसमा भर्ना हुन आउने गैरदलितका लागि ९ सय र दलित विद्यार्थीका लागि मासिक १ हजार ८ सय छात्रवृत्ति दिदै आएको छ । विश्वविद्यालयबाट पढेर बीएड गरेपछि अन्य क्याम्पसबाट पनि डिग्री गर्ने पाइने कुरा बुझाउन नसक्दा विद्यार्थी कम हुने गरेको उहाँले बताउनुभयो ।

बन्दको चपेटामा संस्कृत विश्वविद्यालय
संस्कृत शिक्षाका विषयमा खासै चर्चा नभए पनि पटक–पटक हुने तालाबन्दी, हड्ताल र आन्दोलनले भने विश्वविद्यालय चर्चामा आउने गर्छ । विश्वविद्यालयका पदाधिकारीहरु नै आ–आफ्नो व्यक्तिगत स्वार्थमा लाग्ने भएका कारण बेला–बेलामा बन्द, हड्ताल हुने गरेको त्यहीका कर्मचारीहरु बताउँछन् । पछिल्लो पटक सेवा आयोगको अध्यक्ष र सदस्य आउँदा पद र खानपीनमा विवाद हुँदा साढे दुई महिना विश्वविद्यालय बन्द भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *