उत्तर–दक्षिण लोकमार्गको औचित्य

  
  प्रकाशित मितिः बिहिबार, बैशाख २६, २०७०       | 128 Views   ||

pandav jee-[पाण्डव शर्मा]
सरकारले मुलुकका विभिन्न तीन स्थानमा उत्तर–दक्षिण लोकमार्गको अवधारणा ल्याएको छ । कोशी, कर्णाली र कालीगण्डकी नदीलाई आधार मानेर निर्माण गर्न थालिएका तीनवटै लोकमार्गलाई अघिल्लो सरकारले राष्ट्रिय गौरवको आयोजना भनेर घोषणासमेत गरिएको छ ।

नेपालमा हाल १७ वटा राष्ट्रिय गौरवका आयोजना छन् । राष्ट्रिय गौरवका आयोजना भन्नाले मुलुकका सबैभन्दा बढी महत्वपूर्ण आयोजना भनेर बुझिन्छ । उत्तर–दक्षिण लोकमार्ग पनि राष्ट्रिय गौरवको आयोजनामा पर्नु सकारात्मक हो । यसले यी आयोजनामा सरकारले प्राथमिकीकरण गरेको पाइन्छ । नेपालमा तराईका जिल्लामा मात्र सडक सञ्जाल तीव्र विस्तार भइरहेको बेला हिमाल, पहाड र तराई तीनै प्रदेशलाई समेट्ने गरी सडक निर्माण हुनु राम्रो पनि हो । पूर्वाधार विकासको मेरुदण्ड नै हो । जुनसुकै मुलुकमा पनि विकासका लागि सडक अनिवार्य छ । यसमा पनि हाम्रो जस्तो भूपरिवेष्ठित तथा पहाडी मुलुकका लागि सडक यातायात नै प्रमुख माध्यम हो । नेपालमा सरकारले सडकका लागि वर्षेनी करीब रु. ३० अर्ब बजेट विनियोजन गर्दै आएको छ । अन्य मुलुकको तुलनामा यो निकै कम हो । विनियोजित रकममध्ये पनि ७० प्रतिशतभन्दा बढी रकम तराईका जिल्लाहरुमा खर्च भइरहेको छ । यस सन्दर्भमा सरकारले उत्तर–दक्षिण क्षेत्रलाई समेट्ने गरी ल्याएको सडक सञ्जालको अवधारणालाई स्वागतयोग्य नै मान्नुपर्छ ।

सडक निर्माण गर्दा मुख्य गरेर दुई वटा अवधारणा अपनाइन्छ । नेपालमा धेरैजसो सडकहरु ग्रामीण सडकको अवधारणामा निर्माण भएका छन् । ग्रामीण सडक भन्नाले गाउँबस्ती समेट्ने सडकलाई भनिन्छ । यो सडकको प्रमुख उद्देश्य ग्रामीण भेगका जनतालाई केन्द्रीय सडक सञ्जालसँग जोड्नु हो । ग्रामीण सडक घुमाउरो र बस्ती–बस्ती समेटिएको हुन्छ ।

अर्को सडक भनेको केन्द्रीय सडक वा राजमार्ग  हो, आजभोलि यसलाई लोकमार्ग भन्न थालिएको छ । सरकारले पनि उत्तर दक्षिण सडकलाई लोकमार्ग नामाकरण गरेको छ । लोकमार्गको मुख्य उद्देश्य भनेको लामो दूरीलाई सकभर छोट्याउँदै जानु हो । मुलुकको एक कुनालाई अर्को कुनासम्म जोड्न केन्द्रीय सडकको भूमिका महत्वपूर्ण हुन्छ । केन्द्रीय सडकले गाउँबस्ती समेट्नुलाई भन्दा दूरी कम गर्नुलाई महत्व ठान्दछ । विकसित मुलुकहरुका केन्द्रीय सडकहरु निकै कम दूरीका हुन्छन् । त्यहाँका सडकहरु सरल रेखामा बनेका हुन्छन् । तर, नेपालमा भने पूर्वपश्चिम महेन्द्र राजमार्गसमेत बक्ररेखामा बनेको सडक हो । अहिले दक्षिण तराईमा निर्माण भइरहेको हुलाकी राजमार्ग पनि बक्ररेखामा निर्माण भइरहेको छ ।

सरकारले राष्ट्रिय गौरवका आयोजना भनि घोषणा गरेको उत्तर–दक्षिण लोकमार्ग पनि बक्ररेखामा निर्माण भएको छ । सडक निर्माण गर्नुका पनि भिन्नाभिन्नै उद्देश्य हुन्छन् । सरकारले लोकमार्गको प्रमुख उद्देश्य भारत र चीनबीचको व्यापार प्रवद्र्धन गरी मुलुकको आर्थिक विकास गर्ने भनेर घोषणा गरेको छ । नेपाली परम्परामा एउटा पुरानो उखान छ । ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ । उत्तर दक्षिण लोकमार्ग निर्माणको सन्दर्भमा पनि यो उखान चरितार्थ भएको छ । सरकारले लोकमार्ग निर्माणको मुख्य उद्देश्य एउटा भनेको छ भने काम अर्कोतर्फ गर्दै आएको छ । यदि यी मार्गका उद्देश्य मुलुकका ग्रामीण भेगलाई सडक सञ्जालमा जोड्नु हुन्थ्यो भने सरकारले अहिले गरिरहेको काम स्वागतयोग्य हुन्थ्यो । किनकि तीन वटै लोकमार्ग निकै घुमाउरो रुपमा निर्माण भइरहेका छन् । तर, चीन र भारतबीचको व्यापार विस्तारका लागि यी लोकमार्ग कत्ति पनि उपर्युक्त नहुने प्रष्टै छ । तीनवटै सडक दुई लेनमा बन्न थालेका छन् । दुई लेनको सडकले छिमेकी दुई देशबीचको व्यापार वृद्धि भएर मुलुकको आर्थिक विकास हुने कल्पना गर्नु पनि मुर्खताबाहेक केही हुँदैन । निर्माणाधीन तीनवटै सडक कुनै दीर्घकालीन गुरुयोजना तयार नगरिकनै काम थालिएको छ । यी सबै सडकलाई पुराना कामचलाउ सडकले जोड्ने काम भइरहेको छ । यसले सरकारलाई तत्कालका लागि केही लागत खर्च कम हुने देखिए पनि दीर्घकालीनरुपमा फाइदाजनक देखिदैन । यिनै विविधता कारणले होला गत वर्ष नेपाल भ्रमणमा आएका तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिया वाओले घोषणा गरेको सहयोग प्रतिवद्धता कार्यान्वयन नहुनु । त्यतिबेला चिनियाँ प्रधानमन्त्रीले उत्तर–दक्षिण लोकमार्ग निर्माणमा आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए । तर, अहिलेसम्म त्यसको कुनै कार्यान्वयन भएको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार सहयोगका लागि हालसम्म तीनपटक नेपाल सरकारको तर्फबाट चीन सरकारलाई पत्र पठाइसकिएको छ । तर, हालसम्म चिनियाँ पक्षले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । यसबाट के पुष्टि हुन्छ भने उत्तर–दक्षिण लोकमार्गमा लगानी गर्न चीन इच्छुक छैन । यो सडकले भारत र चीनलाई कुनै फाइदा पुग्ने देखिदैन । भारत र चीन एक आपसमा सीमा जोडिएका देश हुन् । उनीहरुलाई स्थल यातायातका अन्य थुप्रै स्थानहरु पर्न सक्छन् । तर, नेपालमा छोटो दूरीको उत्तर–दक्षिण सडक विस्तार भएमा भने उनीहरुलाई फाइदा हुने देखिन्छ ।

कुनै इञ्जिनियरिङ डिजाइन नगरिकनै पूराना सडकलाई जोडेर बनाइएका सडक सुरक्षित हुँदैनन् । दुई देशको व्यापारिक सडक बन्नको लागि प्रमुखरुपमा सुरक्षाको कुरा आउँछ । नेपालका सडकहरु कत्तिको सुरक्षित छन् यसबारे पनि सबैले सोच्न जरूरी छ । नेपालमा भइरहेको वर्षेनी दुर्घटनाले भारतीय पर्यटकसमेत घटिरहेको सन्दर्भमा के भारत र चीनका लागि नेपालको सडक सुरक्षित छ त ? यस विषयमा गम्भीर भएर सोच्न जरुरी छ । बढ्दो इन्धनको महङ्गी र अभावलाई हेर्ने हो भने पनि सडकको दूरी जति सक्यो कम हुनुपर्छ । यही अवधारणाअनुसार काठमाडौं–तराई फाष्टट्रयाक निर्माण भइरहेको छ । शुरुमा यो सडक निर्माणका लागि खर्चिलो भए पनि भविष्यमा यसले इन्धनको निकै बचत गर्ने छ । यो सडकले मात्र वार्षिक करीब रू. १५ अर्बको इन्धन बचत गर्ने प्राविधिकहरु बताउँछन् । नेपालमा बढ्दो इन्धनको अभावलाई कम गर्न पनि उत्तर दक्षिण लोकमार्गको दूरी घटाउन जरुरी छ । यसको अर्थ यो होइन कि लोकमार्गले कुनै बस्ती वा टोललाई समेट्नै हुँदैन । गाउँबस्तीलाई मुख्य सडकसँग जोड्नको लागि ‘फिडर’ रोडको विकास गर्न सकिन्छ । त्यसैले सरकारले तत्काल यी लोकमार्ग निर्माणको कामलाई सच्याउन जरुरी छ । अहिले निर्माण भइरहेका सडकलाई फिडर रोडको रुपमा विकास गरि तत्काल छोटो दूरीको केन्द्रीय सडक निर्माण गर्नुपर्छ । यसका लागि भारत वा चीन जुन देशले पनि लगानी गर्न सक्छन् । किनकि छोटो दूरीको उत्तर–दक्षिण सडकले नेपाललाई मात्र होइन यी दूई ओटै देशलाई फाइदा पुग्ने देखिन्छ । यसले नेपालको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ । विगतदेखि नै नेपाली नेताहरुले भन्दै आएको नेपाललाई भारत र चीनबीचको ‘ट्राञ्जिट प्वाइन्ट’ बनाउनुपर्छ भन्ने नारालाई सार्थकता दिनको लागि पनि यी सडकको दूरी छोट्याउन जरुरी छ ।

प्रकाशित मिति : २०६९ चैत ११ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *