अनेकोटका लालताराहरुको स्मृतिमा

  
  प्रकाशित मितिः बिहिबार, बैशाख २६, २०७०       | 184 Views   ||

Bhim kumakhi-[भीम कुमाखी]

चैत्र महिना–
हिउँद खाएर बसन्तको बहाररुपी पर्दा खोलेको याम ।
लालीगुराँस राताम्मै फुलाएर नेपाली राष्ट्रियताको गौरव फुलाउने मौसम ।
बैंसका लहराहरु झुलेर सिरसिर बताससँगै शोभनीय परिवेश जन्माइरहेको समय । प्याउली र मेल फुलेर सवेत अनि पहेंलपुर बनिरहेको परिवेश ।
पुराना मक्किसकेका पातहरु झरेर नवपालुवाको आगमनले मनभरि उमंग छाउने अवस्था ।

साँच्चिकै बसन्त ऋतुको आगमनलाई मरो मनको आँगनभरि सयपत्री खन्याएसरि उत्साह र खुशीको बाढी बनेको छ नै । खुशीको संसार भौतिक परिवेशले जसरी प्रदान गरिरहेको छ कुनै अर्को कुनाबाट अशान्त–अशान्त मुद्राको मधुर आवाजले घचघच्याइरहेको छ । दुःखका बाछिटाहरुले मेरो शान्त र उत्साही अनि खुशीको परिवेशलाई नियन्त्रणभन्दा बाहिर पु¥याउँछ ।

हुन त मान्छेको दैनिकी आधा दुःख र आधा खुशीले बितेको हुन्छ– त्यही भएको छ मलाई हरपल । म आधा रोएको र आधा हाँसेको छु तर दिनदहाडै खुल्ला सडकमा कुनै पल हाँस्दै र कुनै पल रुँदै हिड्थे भने मलाई दुनियाँले बौलाएछ भन्थे होला । बेइज्जती सहन नसकेर मेरा आफन्तहरुले पागलखानातिर पठाउँथे होला । म एक भौतिक विज्ञानलाई विश्वास गर्ने भएको हुँदा मेरो मनभित्रको विज्ञानलाई आँसु र हाँसोको द्वन्द्वात्मकतासँग जोड्ने प्रयत्न गरेको छु ।

बसन्तको नवपालुवासँगै रमाइरहेको मेरो तन र मन अनेकोटको गहिरो घाउले दुखित बनाएको छ । भौतिक परिवेशको सुन्दरतामा रम्न खोजेको मन सांगीतिक अभियानका अभियन्ताहरुको बलिदानले आक्रोश र बदलाभावका साथ कठोर बन्नुपर्ने अवस्थामा पु¥याएको छ ।

अनेकोट ! मेरो स्मृतिबाट कहिल्यै अलग नहुने परिघटना । जो, वर्गसंघर्षको गरिमामय इतिहाससँग सम्बन्धित छ । आलो रगतको निशानी अनेकोट– सांस्कृतिक क्रान्तिको रक्तरंञ्जित इतिहास हो । सर्वहारा सांस्कृतिक क्रान्तिको आशापुञ्ज बनेर हरेक क्रान्तिकारीहरुको स्मृतिमा सजिएको छ ।

प्रतिक्रान्तिका पर्राहरुले प्रचुर मात्रामा हमला गरिरहेको बेला अनेकोट अभेद्य र अविचल लालकिल्लाको भूमिका खेलिरहेको छ । बसन्तको पालुवा पलाएसरि अनेकोट निरन्तर क्रान्तिको निम्ति पालुवा बनेको छ । रगतको ऋण चुक्ता गर्न निरन्तर क्रान्तिका यात्रीहरुलाई आह्वान गरिरहेछ । राताम्मै फक्रिएका लालीका थुंगाहरुमा थप आलो रगत सिञ्चित गरेर झन् रातो बनाएका लालताराहरु इतिहासकै अमर पात्र बनेका छन् र चिहानबाटै आह्वान गरिरहेछन् अपूरो क्रान्ति यात्रा पूरा गरी छाड्ने जिम्मा बाँचेकाहरुको हो ।

अनेकोटका लालताराहरुको स्मृतिमा भावनाहरु पोख्दै गर्दा विगत समयको झझल्को आइरहेको छ । म एउटा सांस्कृतिक टिमलाई नेतृत्व गरेर सल्यानको कुनै बस्तीतिर अभियानमा हिडिरहेको थिएँ । त्यो पल हामी प्रहरी दमनलाई झुक्याउँदै जनतासँग न्यानो माया गाँसिरेहका थियौं । बसन्तको सुन्दरता, सांस्कृतिक टिमको आफ्नै रमाइलोपन र पार्टी क्रान्तिप्रतिको विश्वासमा बाँचिरहेका थियां हामी ।

सांस्कृतिक कार्यक्रमको लागि मञ्च तयार गर्न जनताको घर–घरबाट तन्ना र कम्बलहरु लिने गथ्र्यौं । राती हुने कार्यक्रमहरुमा उज्यालोको अभाव हुँदा खरानीमा मट्टितेल राखेर बाल्ने गथ्र्यौं । त्यही समयमा हामीले रेडियोमार्फत् खबर पाएका थियौं– ‘काभे्रको अनेकोटमा हातहतियारसहित लुकेर बसेका माओवादी छापामारहरुसँग प्रहरीको मुठभेड हुँदा सात जना माओवादी छापामारको घटनास्थलमै ज्यान गएको छ ।’

मैले यो विषयलाई सरकारी प्रचार आतंकको हवाला दिदै सामान्य रुपमा लिए । यथार्थता मैले सोचे जस्तो रहेनछ । केही दिनपछि पार्टी आन्तरिक सूत्रबाट थाहा भयो– अनेकोटमा निसशस्त्र अवस्थामा रहेका सांस्कृतिक अभियानयात्रीहरु च्याङ्वा लामा, निर्मला देवकोटा, गुम्बासिंह तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा, चिनीमाया लामालाई घरमा बसिरहेको अवस्थामा प्रहरीले घर घेरा हाली आगो लगाएर तड्पाई–तड्पाई हत्या ग¥यो ।

त्यतिबेला भावाङको सम्झना आयो । त्यहाँ पनि अभियानको सिलसिलामा गएका ११ जना कलाकारहरुको एउटै चिहान बनाएको थियो । लाग्यो बसन्त बहारले केवल खुशीयाली मात्रै लिएर आउँदो रहेनछ । आँसु र रगतको बाढी पनि लिएर आउँदो रहेछ । युद्धको भीषणतामा कहाँ कसको के हुन्छ भन्न नसकिने अवस्था थियो त्यो पल ।

युद्धको निर्मम घडीमा त्यस्ता धेरै घटनाहरु घटेका छन् । जुन घटना आज पनि आलो घाउझैं दुख्ने गर्छन् । अनेकोटको कथा अझैं ताजै छ–
२०५५ चैत्र ५ गते को घटना हो । आज जुन दिन नेपाली जनताको लागि सांस्कृतिक प्रतिरोध दिवसको दिनको रुपमा स्थापित भैइसकेको छ । सांस्कृतिक आन्दोलनका हरेक सिपाहीहरुले सधैंभरि सम्झना र सम्मान गर्ने दिनको रुपमा चैत्र ५ बाँचिरहेको छ । जनताका वैरीहरुले चैत्र ५ लाई हत्या गरेर न्यायको आवाज अवरुद्ध गर्ने दृष्टता गरेका थिए । त्यही रगतको रक्तबीजले नेपाली समाजका जनवैरीहरु हार खाएका छन् । असत्य र भ्रमको खेती गरेर नेपाली जनतालाई लुटको राज थोपर्न पल्केका सामन्तका भरौटेहरु आज जनताकै ताकतबाट सत्ताच्यूत हुँदै गएका छन् । वर्गसंघर्षको आँधी बेहरीबाट धरासायी बनेका जनवैरीहरु फेरि पनि विभिन्न रुपहरुको प्रयोग गर्दै आएको कुरा लुकेको छैन । तैपनि उनीहरु हार खानुको विकल्प छैन ।

चैत्र पाँचलाई सांस्कृतिक प्रतिरोध दिवसलाई, भनौं महान् अनेकोटलाई मैले स्मृतिमा सजाइरहँदा साँस्कृतिक प्रतिरोध दिवसलाई नै भागबण्डा गर्ने रोगले ग्रष्त मान्छेहरु पनि भेटँ । आफ्नै घर भत्काएर बगैंचा निर्माण गर्न तल्लीन मनहरुको त्यो हिस्सा आफ्नो डम्फू मात्रै बजाइरहेको भेटेँ । जसले रगतको समेत भाग लगाउन प्रयास गरे । च्याङ्वा र सुभद्राहरुको अपमान गर्न गरेको उनको गतिविधि हेर्दा साँच्ची नै वैचारिक गरीबीको अनुहार प्रदर्शन गरिरहेका थिए । उनी महान् शहीदको अपमान गर्दै शहीदको नाम धेरै पटक वकालत गरे । ‘कहिले मरिन् सासु अहिले अहिले आयो आँसु’ भनेझैं बेमौसमी बाजा बजाउँदै ‘आफ्नै बाख्री छ शेर’को वकालत गरिरहे । हरेक वर्ष सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको अनेकोटमा यसपटक फरक मञ्चका साथ स्पष्ट भागबण्डाको राजनीति र शहीदप्रतिको अपमान गर्ने काम गरियो । यसले शहीदहरुप्रतिको सम्मान भयो कि अपमान ? त्यो भागबण्डा गर्न मरिहत्ते गर्नेहरुले नै जानून् ।

शहीदप्रतिको सम्मान त्यो बेला हुनेछ– जब सर्वहारावर्गले आफ्नो गुमेको अधिकार प्राप्त गर्नेछन् । शहीदको सपना तबमात्रै साकार हुनेछ– जतिबेला उनले ताकेको गन्तव्यमा हामी बाँचेकाहरुले पाइला पु¥याइछाड्नेछौं । नेपाली माटोमा बगेको रगतको त्यो बेला मात्रै मूल्य चुक्ता हुनेछ । जुन समयमा नेपाल र नेपालीहरु स्वतन्त्रतापूर्वक आफ्नो जीन्दगीमा रमाउन पाउनेछन् ।

वास्तवमै हिजोको मूल्यमान्यता र आदर्श अनुरुप हामी त्यही सिधा बाटोबाटै लक्ष्यसम्म पुग्न कठिन भएको अवस्थालाई वैज्ञानिक तवरले प्रयोग गर्दै यथार्थता निषेध नहुने गरी र प्राप्त उपलब्धिहरुको रक्षा गर्ने दिशामा हामी अगाडि बढिरहेका छौं । नेपाली राजनीतिक दुनियाँमा व्याप्त षड्यन्त्रका विरुद्धको संघर्षमा निरन्तर क्रान्तिले मोडेको घुम्ती निश्चय पनि कतिपयको बुझाइमा आत्मसमर्पण र पतनको दिशा हुन सक्छ । विचलनको बाटो देख्नेहरु आफ्नै भाषणमा मस्त भएको कुरा पनि स्पष्टै छ । तर, बदलिदो राजनैतिक परिवेश र नेपाली जनताको आकांक्षालाई कदर गर्नु अनिवार्य विषय हो । राजनैतिक यथार्थलाई आत्मसाथ गर्न नसक्ने कुनै पनि राजनीतिज्ञ देश र जनता प्रति समर्पित हुन सक्दैनन् ।

नेपाली विशिष्टताको राजनैतिक सत्य र वैज्ञानिकतासँग सम्बन्धित यात्रा अगाडि बढाउँदा यो स्थानमा आउनुपथ्र्यो, आयौं । अब शहीदको सपना के बिर्सिएको हो त ? निरन्तर क्रान्तिको विट मारेकै हो त ? के जनयुद्धका आधारभूत मूल्यमान्यताहरु भुलेकै हो त ? के क्रान्तिको निरन्तरतामा आइलाग्ने घुम्तीहरु हार स्वीकार गरिएका घटना हुन त ? मैले लालतारालाई स्मृतिमा सजाउँदै गर्दा हरेक मनहरुलाई यथार्थताको गहिराई चुम्नुपर्ने अवस्थामा भेटेको छ ।

उनी शहीद हुन् । वीर शहीद । उनी कहिल्यै मर्दैनन् । बाँचिरहेछन् हाम्रो विचार र आस्थाहरुमा । भौतिक विज्ञानको चक्रसँगै घुमेर आउने बसन्त बहार एकपटक आउँछ । करीब एक वर्षको अन्तरमा । तर तिनै वीरहरु हरपल हाम्रो साथमा छन् । उनको अपराजय विचार सधैं हामीलाई सही मार्गमा अविचल लागिरहन निर्देशन गरिरहेछ ।

त्यसैले उनै वीरहरुलाई स्मृतिमा सजाएर प्रतिवद्धताका साथ भन्छु– बर्षमा एकपटक आउने बसन्त बहारलाई पर्खेजस्तो पर्खिएर बस्ने छैन । निरन्तर उनको सपना साकार पार्ने अभियानमा पूरै प्रतिवद्धताका साथ निरन्तर लागि रहनेछु । सर्वहारा साँस्कृतिक क्रान्तिको रक्तरञ्जित झण्डा झुक्न नदिन अनवरत संघर्षमा हुनेछु । मेरो स्मृतिपटलबाट यो प्रतिवद्धता ! तिम्रो रगतको कसम । तिम्रो अधुरो सपनाको कसम । अनेकोटको लालताराहरुको कसम ।

२०६९ चैत्र ७, काठमाण्डौं

प्रकाशित मिति : २०६९ चैत ११ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *