भन्दिनू, २०७० सालभित्रै केही आउँछ रे !

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७०       | 114 Views   ||

Nabin_bibhas-[नवीन विभास]

साहित्यकार/पत्रकार

पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

–ओन्स अपन अ सेक्रेट (२०१२) । अमेरिकी पूर्व राष्ट्रपति जोन.एफ.केनेडीको हत्या हुनुभन्दा दुइ महिनाअघि ह्वाइट हाउस प्रेसमा इन्टर्न गर्न पुगेकी १९ वर्षीया मीमी अल्फोर्डको अटोबायोग्राफी । अल्फोर्डले ह्वाइट हाउसमा ४५ वर्षीय केनेडीसँगको सम्बन्धलाई ४३ वर्षपछि सार्वजनिक गरेको किताब ।

अहिले के पढ्दै हुनुहुन्छ नि ?

–झण्डै एक वर्षअघि पढेको सिद्धार्थ देवको द ब्युटीफूल एण्ड द ड्याम (२०११) दोहो¥याएर पढ्दैछु ।

ओन्स अपन अ सेक्रेट र द ब्युटीफूल एण्ड द ड्याममा खास के कुरा रहेछ ?

–केनेडीसितको सम्बन्धलाई लामो समयसम्म गुपचुप राख्नुले यौनको मामिलामा पश्चिमा समाज हामीले ठानेजति उदार छैन भन्छ, अल्फोर्डको किताबले । र, केनेडी कन्या राशीका थिए भन्ने कुरालाई पनि थप पुष्टि गर्छ । भाषाको सवालमा एकदमै इष्र्यालु छ ।
देवको किताबमा समकालीन भारतको अनुहार देखिन्छ ।

कस्ता पुस्तक पढ्नुहुन्छ नि ?

–समयअनुसार फेरिने रहेछ, छनौट पनि । कुनै बेला भेटेजति जेल र हिरासतका किताब पढेँ । अचेल बायोग्राफी, अटोबायोग्राफी र संस्मरण साथै लेखन कला सम्बन्धी किताब पढिरहेको छु । पहिले–पहिले फिक्सनतिर जाने मन नन्फिक्सनतिर ढल्केको छ ।

अहिलेसम्म पढेका पुस्तकहरुमध्ये धेरै प्रभावित भएको कुनै पुस्तक ?

–पारिजातको संस्मरण किताब –चित्रमय सुरुवात । भाषाले पनि शैलीले पनि ।

पुस्तक किन्न मासिक खर्च ?

–सरदर मासिक पाँच सातवटा किताब किनिन्छ होला । नेपालका पुस्तक पसलमा बाहिरका नयाँ पुस्तक पाउन सजिलो छैन । पाए पनि धेरै पछि मात्र आइपुग्छ । पढ्नलाई चुजी छु । नयाँ र रोज्जा किताबका लागि इलेक्टोनिक किताबमै भर पर्छु । पुस्तक पसलबाट भन्दा पनि डाउनलोड गरेका किताब बढी पढिन्छ ।

तपाईं आफूलाई के भन्न रुचाउनुहुन्छ ? लेखक, पत्रकार, साहित्यकार वा अरु केही ?

–पेशाले मात्र पत्रकार हुँ । समाचार लेख्न छाडेको भोलिपल्ट जोकोही पनि पत्रकार हुँदैन । संजोग नै भनांै, लेखन र पत्रकारिता दुवैसँगको मेरो भेट एक्सिडेन्टल हो । अर्को कुरा, आफूलाई के भन्न रुचाउँछु भन्दा पनि कसले केको रुपमा चिन्छन् ? त्यो महत्वपूर्ण हो ।

के लेख्दै हुनुहुन्छ आजभोलि ?

–रोटीकारिता थालेदेखि नै मैले पछ्याइरहेका केही छापामार कमरेड छन् । तिनका बारेमा लेख्न थालेको छु ।

लेखनमा तपाईंलाई के ले ऊर्जा दिन्छ ?

–मेरो हकमा कुनै निश्चित यै चिजले ऊर्जा दिन्छ भन्ने छैन । कहिले पढेर कहिले देखेर कहिले भेटेर लेखौं जस्तो लाग्छ । कुल मिलाएर भन्नु पर्दा, स्वेच्छाचारी रहेछ ‘ऊर्जा’ भन्ने चीज पनि ।

आफूलाई उत्कृष्ट लागेको आफ्नै एक रचना ?

–छैन । आश गर्नुस्, ‘जाने’ बेलासम्म कसो नलेखिएला र !

कतिपयले नवीन राम्रो साहित्य लेख्ने मान्छे हो तर उसलाई पत्रकारिताले खायो पनि भन्छन्, के हो ?

–कि गरीखाम्ला कि मरीजाम्ला भनी जोडेको घरजमजस्तो साहित्य र पत्रकारिता दुवै मेरा लागि होइनन् । तैपनि कहिलीकसो गम्छु– राजनीतिबाहेकका कुनै पनि अरु बिट कभर गर्ने भए साहित्यसँग यति सारो सम्बन्ध बिग्रदैनथ्यो कि ! खैर जेहोस्, पत्रकारिताले भन्दा पनि मेरो बेतालको ‘बेतालिता’ले साहित्यलाई खाएको छ । धन्यवाद, ती ‘कतिपय’लाई जसले ‘राम्रो लेख्ने मान्छे’ भन्नुभएछ ।

तर, तपाईंले नयाँ कृति प्रकाशन गर्छु भनि गफ दिन लागेको नि तीन÷चार वर्ष नै बितिसक्यो रे ।

–भन्दिनुस्, सुन्नमा भूल भएछ । साथीहरुमाझ लेख्दैछु भनेको हो । प्रकाशन गर्छु भनी गफ दिएको भन्ने आरोप सोह्रै आना गलत हो । यति भन्दे हुन्छ– २०७० मा आउँछ रे ।

नवीनले जहाँ गए पनि दिदीबहिनीलाई मात्र भेटाउँछ, प्रेमिका÷बिहे गर्ने युवती त अर्को जुनीमा भेटाउँछ भनेर दुनियाँले कुरा काट्न थालिसके !

–सहोदर दिदीबहिनी नहुने मेरा लागि यो त खुसीकै कुरा भयो नि । अर्को कुरा, बिहे गर्ने युवती एक ठाउँमा मात्र भेट्ने हो । जहाँ गयो उतै भेट्नु प्रचलित कानून र सामाजिक मूल्यविपरीत हो । …‘कुरा काट्न’ थालेकालाई सनिस पठाइदिनू, अर्को जुनीसम्म कुर्न पर्दैन ।

प्रस्तुति : विवश
प्रकाशित मिति : २०७० बैशाख ८ गते आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *